वरीयतामा धेरै तल भए पनि मैले सहेको थिएँ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टीसँग लिखित भन्दा धेरै अलिखित भद्र सहमति भएको बताएका छन्। रास्वपासँगको सहकार्य तोडेर उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेपछि शनिबार साँझ आायोजित पत्रकार सम्मेलनमा उनले आफूले ठूला पदमा बार्गेनिङ गरेको भन्ने कुरा पूर्णत गलत भएको बताएका छन्।
‘१४ गते एउटा भद्र सहमति भएको थियो। लिखितमा नभएका सहमति पनि धेरै थिए,’ घिसिङले भने, ‘यो एकीकरण प्रक्रियालाई कसरी कार्यान्वयन गर्ने भन्ने धेरै अलिखित सहमति थिए। त्यो सहमतिमा हाम्रो कुनै ठूलो किसिमको माग पनि थिएन। यसलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्दै जाउ भन्ने हाम्रो माग थियो।’
‘मैले यो सहमतिको चरणमा र हाम्रो साथीहरुले त्यस्तो कुनै ठूलो डिमान्ड राखेको पनि थिएन। अहिले जुन किसिमले बाहिर मिडियामा धेरै कुरा आएको छ। हामीले पदको धेरै बार्गेनिङ गरिम। हामीले ठूला ठूला विषयमा धेरै बार्गेनिङ गरिम। त्यो सरासर गलत हो,’ उनको थप भनाइ छ ।
उनले आफू वरीयतामा धेरै तल भएर पनि सहेर उपसभापति बनेको बताए। ‘म आफैँ पनि एउटा उपाध्यक्ष, त्यो पनि वरीयताक्रममा धेरै तल भएर पनि मैले सहेर गएको थिएँ,’ घिसिङले भने। अन्तिम समयमा आफूले रास्वपाको सदस्य भएर मात्रै बस्ने र आफ्ना केही केन्द्रीय सदस्यलाई एडजस्ट गर्न आग्रह गरेको समेत बताए।
‘मैले अन्तिम चरणमा आज पनि सहमतिका लागि एउटा प्रस्ताव गरेको थिएँ,’ घिसिङले भने, ‘म रास्वपाको एउटा साधरण सदस्य भएर बस्छु। हाम्रा केन्द्रीय समितिका केही साथीहरुलाई एडजस्ट गर्नुपर्छ। त्यसरी अगाडि बढौँ पनि भनेको थिएँ। यो विषयमा हाम्रो ठूलो विषय पनि थिएन।’