Connect with us

अर्थ

मध्यपहाडी राजमार्गः सकियो तीन चौथाइ काम

Published

on

मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्गको तीन चौथाइ काम सम्पन्न भएको छ । पूर्वमा पाँचथरको चिवाभन्ज्याङ (नेपाल–भारत सिमाना) देखि पश्चिममा बैतडीको झुलाघाट (महाकाली नदी) सम्म छिचोल्ने राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यो राजमार्गको अहिलेसम्मको भौतिक प्रगति करिब ८२ प्रतिशत पुगेको सडक विभागले जनाएको छ । त्यसै गरी आयोजनको वित्तीय प्रगति ८३.२३ प्रतिशत पुगेकोे छ ।

सडक विभागका सहायक प्रवक्ता ई. शुभाञ्जन दाहालका अनुसार तीव्र गतिमा काम भइरहेको यस राजमार्गको अब एक चौथाइभन्दा पनि कम काम बाँकी छ । मुलुकलाई पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो । मध्यपहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस राजमार्गबाट मध्यपहाडमा बसोबास गर्ने करिब एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ । त्यसै गरी यस राजमार्गको सञ्चालनबाट उक्त क्षेत्रको आर्थिक–सामाजिक विकासमा प्रगति हुनुका साथै सो क्षेत्रबाट हुने बसाइँसराइ निरुत्साहित भई भौगोलिक तथा वातावरणीय सन्तुलन कायम हुने बताइएको छ ।

सहायक प्रवक्ता दाहालका अनुसार राजमार्गको कुल लम्बाइ एक हजार ८७९ किलोमिटरमध्ये अहिलेसम्म एक हजार ५१०.८६ किलोमिटर कालोपत्र सम्पन्न भइसकेको छ । २६१.१४ किलोमिटर सडक निर्माणाधीन अवस्थामा छ भने १०७ किलोमिटर सडकको ठेक्का व्यवस्थापन हुन बाँकी छ ।

त्यसै गरी यस आयोजना अन्तर्गत कुल १३७ वटा पुल निर्माण गर्नुपर्नेमा अहिलेसम्म १११ वटाको निर्माण सम्पन्न भइसकेका छन् भने २४ वटा निर्माणाधीन छन् । बाढीपहिरोले बगाएका पुलसमेत गरी १५ वटा पुलको निर्माणका लागि ठेक्का व्यवस्थापन हुन बाँकी रहेको दाहालले जानकारी दिए । आयोजनाको कुल लागत ८४ अर्ब ३३ करोड रुपियाँ रहेकामा अहिलेसम्म ६५ अर्ब ९७ करोड रुपियाँ खर्च भइसकेको छ । यस आयोजनाका लागि चालु आर्थिक वर्ष (२०८२/८३) मा तीन अर्ब ५९ करोड रुपियाँ विनियोजन गरिएको छ ।

यस राजमार्गलाई द्रुत सञ्चारका लागि सूचना महामार्गका रूपमा पनि निर्माणमा तीव्रता दिएको बताउँदै उनले यस राजमार्ग अन्तर्गत दस वटा आधुनिक सहरसमेत स्थापना गर्न लागिएको जानकारी दिए । यो राजमार्ग एउटा रूपान्तरणकारी योजना हुन सक्ने अपेक्षाका साथ सरकारले आर्थिक वर्ष २०६९/७० देखि यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरी मुलुकको विकास निर्माणको उच्च प्राथमिकतामा राखेको छ ।

राजमार्गको रेखाङ्कन

राष्ट्रिय यातायात नीति २०५८ मा पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा नेपालको मध्यपहाड हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएबमोजिम पुष्पलाल (मध्यपहाडी) राजमार्ग नामकरण गरी २०६४/६५ बाट आयोजना कार्यान्वयन सुरु भएको हो । मन्त्रीपरिषद्को २०६५ फागुन २६ गतेको निर्णयबाट यस राजमार्गको रेखाङ्कन स्वीकृत भएको थियो ।

यस आयोजनालाई आर्थिक वर्ष २०६७/६८ देखि दुई खण्डमा विभाजन गरी मध्य पहाडी पूर्व खण्ड (करिब ७२१ किलोमिटर) र मध्य पहाडी पश्चिम खण्ड (करिब एक हजार १५८ किलोमिटर) गरी दुई वटा आयोजनाबाट निर्माण कार्य भइरहेकामा आर्थिक वर्ष २०७५/७६ देखि पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालय अन्तर्गत पाँच वटा योजना कार्यालयहरू (पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेख) बाट यस राजमार्गको निर्माण हुँदै आएको छ ।

सहायक प्रवक्ता दाहालले यस आयोजनामा अपेक्षित उपलब्धि हासिल गर्न झन्झटिलो रुख कटान प्रक्रिया, निर्माण सामग्री अभाव, विद्युत्का खम्बा, खानेपानीको पाइप, पुरातात्त्विकर सांस्कृतिकरधार्मिक महत्वका मठमन्दिरलगायत युटिलिटीका सामग्रीको स्थानान्तरण, मुआब्जा तथा क्षतिपूर्ति विवाद, सडक सीमा विवाद र निर्माण व्यवसायीको लापर्बाही मुख्य समस्या रहेको बताए ।

प्रवक्ता दाहालका अनुसार यस राजमार्ग अन्तर्गत फिदिम (पाँचथर), वसन्तपुर (तेह्रथुम), खुर्कोट (सिन्धुली), बैरेनी (धादिङ), डुम्रे (तनहुँ), बुर्तीबाङ (बागलुङ), चौरजहारी (रुकुम), राकम कर्णाली (दैलेख), साँफेबगर (अछाम) र पाटन )बैतडी) मा दस वटा आधुनिक सहर निर्माण गर्ने लक्ष्य लिइएको छ ।

भउचप्रसाद यादव/गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.