Connect with us

समसामयिक

मनसुन देशभर सक्रिय

Published

on

मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बुधबार दिउँसो देशभर पूर्णतया बदली हुनेछ ।

देशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एकदुई स्थानमा मुसलधारे वर्षाको पनि सम्भावना छ । कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रही बाँकी भागमा साधारणतया बदली रहने छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थान, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम रहेको, ठुला तथा साना नदीनाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्कत रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।
रासस/गोरखापत्र

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.