६ । संस्याको हिसाबले यो ठूलो होइन । तर, यिनै ६ जना विद्यार्थीबाट एक महिना अघि सुरु आन्दोलनले उग्र रुप लिएपछि बंगलादेशकी निर्वाचित तानाशाह प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेकी छन् । नेपाली समय अनुसार आज दिउँसो हसिना देश छाडेर भागेकी हुन् । ढाका विश्वविद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीहरुले एक महिनाअघिबाट थालेको आन्दोलनले प्रधानमन्त्री कार्यालय घेर्नेसम्मको रुप लिएपछि प्रधानमन्त्री शेख हसिनाले सत्ता त त्याग्नु पर्यो नै, देश छाडेर भाग्नु पर्यो ।
नागरिकको हत्या गरेर सत्तामा मस्ती लिन्छु भन्नेहरुका लागि सबक पनि बनेको छ बंगलादेशी आन्दोलन । हिजो आइतबारको प्रदर्शनमा सरकारले बल प्रयोग गर्दा ९७ जना आन्दोलनकारी मारिएका थिए । सोमबार परिस्थिति अझ अनियन्त्रित बन्यो । कर्फ्यू आदेश उल्लंघन गर्दै हजारौं नागरिकहरु प्रधानमन्त्री हसिनाको सरकारी निवासतर्फ अघि बढे । यससँगै हसिना देश छाडेर भागेकी थिइन् ।
प्रधानमन्त्री हसिना सेनाको हेलिकोप्टरमार्फत छिमेकी मुलुक भारत आइन् । भारत त्यही दे्श हो, जसले सन् १९७१ मा पाकिस्तानबाट बंगलादेश टुक्र्याईदिएको थियो । बंगलादेश टुक्र्याउने अभियानका अभियान्ता हसिनाकै बाबु थिए । आफूलाई भारतमा समेत सुरक्षीत ठान्न नसकेर संभवतः हसिना बेलायत जाँदैछिन । हसिनाले बंगलादेश छाडेसँगै एक निर्वाचित तानाशाहको अन्त्य भएको छ । किनकी उनी लगातार १५ वर्षदेखि सत्तामा थिइन ।