Connect with us

समसामयिक

प्रधानमन्त्री ओली स्पेन जाँदै

Published

on

प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जाने भएका छन्। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनको राजधानी म्याड्रिडमा असार १६ देखि १९ गतेसम्म हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिने कार्यक्रम छ।

स्पेनस्थित नेपाली दूतावासका अनुसार भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको छ भने त्यहाँको नेपाली समुदाय प्रधानमन्त्रीको स्वागतमा उत्साहित देखिएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने र सहकार्यसम्बन्धी विभिन्न महत्त्वपूर्ण सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ।

प्रधानमन्त्री ओलीले भ्रमण अवधिमा स्पेनमा रहेका नेपाली समुदाय र त्यहाँका उद्योगी व्यवसायीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ। साथै, अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाटहरू हुने दूतावासले जनाएको छ।

स्पेन पश्चिम युरोपमा अवस्थित संवैधानिक राजतन्त्रात्मक संसदीय मुलुक हो, जसको जनसङ्ख्या करिब ४ करोड ७४ लाख रहेको छ। पर्यटकीय गन्तव्यका रूपमा चर्चित यो मुलुकमा साना–ठूला गरी २० हजार फुटबल क्लब र १० लाखभन्दा बढी दर्ता भएका खेलाडी छन्।

नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध सन् १९६८ मा स्थापना भए पनि नेपालको आवासीय दूतावास सन् २०१८ मा मात्र स्थापना भएको हो। स्पेनमा कृषि, होटल, पर्यटन र निर्माण क्षेत्रमा करिब २० हजार नेपाली संलग्न रहेको अनुमान छ।

नेपाल–स्पेन सम्बन्धको सन्दर्भमा अघिल्ला उच्चस्तरीय भ्रमणहरू उल्लेखनीय छन्। पूर्वराजा वीरेन्द्र र राजा कार्लोसबीच सन् १९८३ र १९८७ मा राजकीय भ्रमण आदान–प्रदान भएको थियो। त्यस्तै, सन् २०१६ मा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, सन् २०१९ मा सञ्चारमन्त्री गोकुल बास्कोटा र सन् २०२१ मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन भ्रमण गरेका थिए।

पर्यटनको दृष्टिले स्पेन नेपाली पर्यटकहरूका लागि समेत आकर्षणको केन्द्र हो भने स्पेनबाट पनि वार्षिक हजारौं पर्यटक नेपाल आउने गरेका छन्। कोभिड–१९ पछि आगमनमा केही गिरावट आए तापनि, नेपालको प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक विविधताले स्पेनिस पर्यटकहरूलाई आकर्षण गर्ने सम्भावना उच्च रहेको विज्ञहरू बताउँछन्।

प्रधानमन्त्रीको यो भ्रमणले नेपाल–स्पेन सम्बन्धमा थप नयाँ आयाम थप्ने र युरोपेली मुलुकहरूबाट नेपालको पर्यटन, व्यापार तथा लगानी प्रवाहमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.