Connect with us

समसामयिक

१९ पाइलटलाई ‘होल्ड’ गरेर सम्धीलाई तालिममा विदेश पठाउँदै

Published

on

निगममा सम्धीको प्रवेश नै विवादित उमेरहद नाघे पनि निर्देशक रिजालकै भाइ श्रवणले दिएका थिए नियुक्ति, धरौटी बुझाउनुपर्ने वेला विदेश गएका उनको पछि पुनः बढाइएको थियो प्रक्रिया

वायुसेवा निगमका अपरेसन विभागका निर्देशक क्याप्टेन सुवास रिजालले पालो कुरिरहेका १९ पाइलटलाई ‘होल्ड’ गरेर सम्धी रोशन कोइरालालाई वैदेशिक तालिममा पठाउन चलखेल गरेको खुलेको छ । १७ अप्रिलदेखि मलेसियाको क्वालालम्पुरमा हुने एयरबस ए– ३२० तालिमका लागि परीक्षा प्रणालीमा चलखेल गरेर सम्धीलाई पठाउन लागेका हुन् । १५ अप्रिल ९बुधबार०मा उनीसहित अर्का स्थायी पाइलट रविन केसी क्वालालम्पुर उड्ने तयारीमा छन् ।

करारमा जागिरे कोइराला यस्ता पाइलट हुन् जसलाई ५८ वर्षको उमेरहद पार गरिसकेपछि निर्देशक रिजालकै भाइ तत्कालीन अपरेसन विभागका निर्देशक क्याप्टेन श्रवण रिजालले नियुक्ति दिएका थिए । तर, नियुक्तिपछि ५० लाख धरौटी बुझाउनुपर्ने अवस्थामा सम्पर्कमा नआई विदेश गएका उनको पछि पुनः प्रक्रिया अघि बढाइएको निगम स्रोत बताउँछ ।

अहिले आफैँ उक्त विभागमा निर्देशकको भूमिकामा रहेका रिजालले ‘क्रु ट्रेनिङ’ डिभिजनलाई इमेल पठाएर ए–३२० ‘इनिसियल ए२’ का उम्मेदवारहरूको लिखित परीक्षा सञ्चालन गर्न निर्देशन दिएका थिए । उक्त परीक्षा गत १७ फेब्रुअरीको दिउँसो २ बजे निगमको केन्द्रीय कार्यालयमा राखिएको थियो । तर, प्रश्नपत्र भने अपरेसन डाइरेक्टरको कार्यालयबाटै उपलब्ध गराइने इमेलमा उल्लेख थियो । सामान्यतया यस्तो परीक्षा स्वतन्त्र र प्राविधिक समूहबाट तयार गरिनुपर्ने भए पनि प्रशासनिक तहबाटै उपलब्ध गराउने व्यवस्था राखिएकाले प्रक्रियाको निष्पक्षता र गोपनीयतामाथि गम्भीर प्रश्न उठेको छ ।

निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठले अपरेसन डाइरेक्टर रिजाललाई बोलाएर सोधपुछ गर्ने बताए । ‘यो नियुक्ति अघिल्लो कार्यकालका अध्यक्ष युवराज अधिकारीको समयमा भएको हो । प्रारम्भिक रूपमा प्रक्रिया नियमअनुसार नै भएको देखिए पनि थप तथ्य बुझ्न सोमबार सोधपुछ गर्न अपरेसन डाइरेक्टरलाई बोलाएको छु । त्यसपछि पर्यटन मन्त्रालयमा यसबारे ब्रिफिङ गर्नेछु,’ उनले भने । सोधपुछपछि वास्तविकता पत्ता लगाएर सम्बन्धित मन्त्रालयलाई जानकारी गराउने पनि निर्देशक श्रेष्ठले बताए ।

सम्धीलाई अवसर दिँदा १९ पाइलट भने ‘होल्ड’मा छन् । गत डिसेम्बरमा मात्रै आधारभूत तालिम सकाएर पाइलट बादलराज गुप्ता, आनन्द श्रेष्ठ, अंकित बोहरा र रामकृष्ण श्रेष्ठले पालो पर्खिरहेका छन् । त्यस्तै, पाइलटहरू मेल्सम ओझा, प्रचण्ड श्रेष्ठ, प्रशान्त शाह र प्रतीक पौडेल पनि तालिम पर्खिरहेका छन् । ६ वर्षको अनुभव संगालेका अन्य ट्विनअटर जहाज उडान गरिरहेका करार समूहका विवेक प्याकुरेल, अविन गौचन, विश्वराज थापा, अमृत खनाल, निमिषा नेपाल र सन्तोष यादव लाइनमै छन् । यद्यपि, निगमका योग्य र स्थायी दरबन्दीका पाइलटहरूलाई होल्ड गरेर निर्देशक रिजालले आफ्ना सम्धीलाई तालिममा नियुक्त गरेको निगम स्रोतले जनाएको छ ।

कोइरालासँग ट्विनअटर जहाज उडानको मात्रै अनुभव छ । सेवा अवधि पनि छोटो छ । यस्ता पाइलटलाई एयरबसको महँगो तालिममा पठाउँदा पालोमा रहेका अन्य पाइलटमाथि अन्याय मात्रै होइन, निगमलाई नै घाटा हुने पनि अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार यसअघि पनि निगमले ०७१ माघमा बोइङ उडान गरेका पाइलटलाई एयरबसका लागि पठाउँदा तालिम पूरा गर्न नसकेर फर्किएका थिए ।

अहिले आफ्ना सम्धीलाई अवसर दिने प्रयोजनमा सोही गल्ती दोहोर्‍याउन खोजेको भन्दै उनीहरूले उड्डयनजस्तो संवेदनशील क्षेत्रमा तालिम तथा परीक्षा प्रणाली पारदर्शी र मापदण्डअनुसार हुनुपर्ने बताएका छन् । निर्देशक क्याप्टेन सुवास रिजालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा सार्वजनिक खरिद कानुनको विपरीतको गलत लिखत पेस गरेको आरोपमा विशेष अदालतमा एक अर्ब ४७ करोड रुपैयाँको बिगो दाबी गरेको थियो ।

अपरेसन डाइरेक्टरसँग सोमबार सोधपुछ गर्दै छु
अमृतमान श्रेष्ठ, कार्यकारी निर्देशक, नेपाल वायुसेवा निगम

यो अघिल्लो अध्यक्ष युवराज अधिकारीको कार्यकालमा भएको नियुक्ति रहेछ । प्रारम्भिक जानकारीअनुसार नियमसंगत नै नियुक्ति भएको हो भन्ने बुझिएको छ । सोमबार अपरेसन डाइरेक्टरलाई यस विषयमा सोधपुछका लागि बोलाएको छु । सत्यतथ्य बुझेर मन्त्रालयमा जानकारी गराउनेछु ।
पवन तिमिल्सिना/नयाँपत्रिका

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.