Connect with us

तथ्य खोज

सूर्य थापाः सहकारी ठगी प्रमाणित गर्ने सुनगाभा

Published

on

थापाले दर्ता गराएको संशोधन प्रस्ताव

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समिति, २०८१’ को प्रतिवेदन एउटा यस्तो दस्तावेज हो, जो संसदीय छानबिन समितिको इतिहासमै यस्ता प्रतिवेदन यति छिट्टै कुनै पनि कार्यान्वयनमा लगिएका थिएनन् । वर्ष २०८१ भरीकै चर्चित सहकारी ठगी सम्बन्धी गहकिलो एवम् गह्रौ प्रतिवेदन तयार गर्ने समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीको पारिवारिक, राजनीतिक जीवनमाथि यो सामग्री…

विक्रम संवत् २०८१ । यो वर्ष भरी निरन्तर चर्चामा रहेको एउटा मात्र घटना के होला ? कहिँ कतै केही नसोची उत्तर दिन सकिने त्यो घटना हो, सहकारी ठगी प्रकरण । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत जोडिएका हुनाले पनि यो घटनाले वर्षभरी मात्र होइन, वर्ष सुरु हुनु अघि र वर्ष सकिनै लाग्दा पनि निरन्तर चर्चा पाइरहेको छ ।

सहकारी ठगी प्रकरणले भोलिबाट सुरु हुँदै गरेको वि.सं. २०८२ लाई पनि अवश्य नै प्रभावित पार्नेछ । अनि त्यो भन्दा महत्वपूर्ण– प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीको सभापतित्वमा गठित ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समिति, २०८१’ ले तयार पारेको ११ सय २४ पृष्ठको प्रतिवेदनले भने दूर इतिहाससम्म महत्व राख्नेछ । स्मरणीय छ, संसदीय छानबिन विशेष समिति १५ जेठ ०८१ को प्रतिनिधिसभाले गठन गरेको थियो ।

त्यस प्रतिवेदनलाई वर्तमानमा मात्र होइन, भविष्यमा पनि खोजिनेछ । पढिनेछ । त्यसलाई राज्यले स्वामित्व लिए/नलिएको, कार्यन्वयन भए/नभएको विषयमा विहङ्गम व्याख्या, विश्लेषण भइरहने छ । त्यस अर्थमा थापा नेतृत्वको प्रतिवेदनको बहुआयामिक महत्व छ भन्दा अत्युक्ति हुँदैन ।

थापा नेतृत्वको प्रतिवेदनकै आधारमा संघीय संसदले सहकारी सम्बन्धी कानुन नै नयाँ बनाएको छ । विदेशमा फरार २९ जनालाई खोजेर ल्याउन भनिएको छ । सुस्त गतिमै सही, दोषीहरुलाई खोज्न सरकारले पहल गरिरहेको बताइरहेको छ । विदेश भागेकाहरुमध्ये बाग्लुङको ढोरपाटनका मेयर देवकुमार नेपाली नेपाल फर्किएर समस्या सुल्झाउन लागिपरेका छन् । सूर्य थापा सत्ता पक्षका ती सांसद हुन्, जसले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन/सुझाव अनुसार कानुनी प्रवन्ध भएन भनेर प्रतिनिधिसभाको छलफलमा संशोधन प्रस्ताव नै दर्ता गराएका थिए ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समिति, २०८१’ को प्रतिवेदन एउटा यस्तो दस्तावेज हो, जो संसदीय छानबिन समितिको इतिहासमै यस्ता प्रतिवेदन यति छिट्टै कुनै पनि कार्यान्वयन भएका थिएनन्, बरु कतिपय त लुकाएर पो राखिएका थिए । सरकारले तत्कालै ‘चासो’ देखाएर कार्यान्वयनमा लगेको त्यही सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति थिए, प्यूठानबाट संघीय संसदमा प्रत्यक्ष निर्वाचित सूर्य बहादुर थापा क्षेत्री, जसलाई जनजिब्रोमा सूर्य थापाका नामले चिनिन्छ ।

“सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न संसद र सरकार सबैले ध्यान दिनुपर्छ । नागरिकले खबरदारी गर्नुपर्छ । हामीले आफूले पाएको जिम्मेवारी निर्वाह गरेका छौं”, खरो मिजास र झर्रो स्वभावका पात्रका रुपमा परिचित थापा भन्छन्, “सहकारी ठगीमा संलग्नहरु जो जहाँ छन्, जेलमा, विदेशमा वा फरार– सरकारले उनीहरुलाई नियन्त्रणको दायरामा ल्याएर ठगी गरेको रकम उनीहरुबाटै फिर्ता गराउनु पर्छ । सहकारीका कार्यालयमा तालाबन्दी गरी मुसा कुदाएर मात्र समाधान हुँदैन भन्नेमा म दृढ छु ।”

गणतन्त्रको नारा मुर्झाउँदै गर्दा राजतन्त्र र राजदरबारको सम्पतिसमेत माथि गरी पाँच वटा पुस्तक लेखेका छन्, थापाले । राजतन्त्र र राजदरबारको सम्पतिमाथि पुस्तक लेख्ने सायद उनी पहिलो लेखक हुन् । त्यसबाहेक मदन भण्डारीका संकलित रचनाहरु भाग १ देखि ८ सम्म, मदन भण्डारीको जीवनी, व्यक्तित्व र कृतित्व, मदन भण्डारीका छानिएका रचना नेपाली र अंग्रेजी खण्ड एक–एक गरी १० वटा पुस्तकको ‘सेट’ पनि थापाले नै संकलन/सम्पादन गरेका हुन् । यी पुस्तकलाई मदन भण्डारीबारे गहकिला र आधिकारिक कृतिहरु मानिन्छ ।

पारिवारिक पृष्ठभूमि
थापाको जन्म प्यूठानको साविक बाङ्गेमरोट–९ सौतामारे, हाल झिम्रुक गाउँपालिका–१ मा २०३१ साल साउन ८ गते भएको हो । थापाकै शब्दमा निरक्षर बावुआमा खेतबहादुर थापा र खिमा क्वारी थापाका ९ सन्तान मध्येका साइँलो हुन् उनी । थापाका दुई दाजु, तीन दिदी, एक भाई र दुई बहिनी छन् । उनका बुवा ०६५ सालमा बिते भने ८२ वर्षकी आमा थापासँगै छन् ।

उनका दुई दाजुहरु सामान्य साक्षर मात्र थिए भने तीन दिदीहरुले विद्यालय टेक्नै पाएनन् । पाँच कक्षासम्म औपचारिक शिक्षा लिएका उनका जेठा दाजु कृष्णबहादुर थापा नेपाल प्रहरीको हवल्दार (मरणोपरान्त असइ) थिए, जो माओवादीको आक्रमणमा बैशाख ०५९ मा रोल्पाको गाममा मारिए । थापाका भनाइमा कृष्णबहादुरको सरुवा डोल्पामा भएको थियो ।

तर, सरुवा गरिएको दरबन्दीमा पठाउनुभन्दा प्रहरीभित्रको काखा र पाखाले सुर्खेतबाट झुक्याएर रोल्पाको गामस्थित बेसक्याम्प पुर्याइएछ । जहाँ माओवादीले गरेको भिषण आक्रमणमा उनीसहित थुप्रै मारिए । सांसद थापा माओवादीप्रति आक्रामक देखिन्छन् । यस्तो देखिनुमा सायद प्रहरी संगठनमा जागिर खाएकै कारण दाजुको हत्या हुनुले पनि हुन सक्छ ! दिवंगत दाजुका दुई छोरामध्ये जेठा कमल फिनल्याण्डमा पढ्दै छन् भने कान्छो दानबहादुर ललितकला क्याम्पसमा अध्ययनरत छन् ।

उनका माइलो दाजु विष्णुबहादुर थापा पनि प्रहरीकै ‘असइ’ बाट निवृत हुन् । उनी पनि जाजरकोटको पाँचकटिया आक्रमणमा परी बाँच्न सफल भएका हुन् । जो यसबेला नवलपुरको मध्यविन्दु नगरपालिकास्थित मदनपुरमा बस्छन् । माईला दाजुका दुई सन्तानमध्ये छोरा बेलायतमा कम्प्युटर साइन्स र छोरी नेपालमै माइक्रोबायोलोजीमा स्नातकोत्तर गर्दैछिन् ।

रोचक यो छ कि ८ मंसिर ०५८ को राति माओवादीहरुले दाङको घोराही–लमही आक्रमण गरेको भोलिपल्ट त्यहीँको ‘युद्धभूमी’ मा थापा सुवर्ण ओलीसँग विवाह बन्धनमा बाँधिएका थिए । त्यसबेला रुकुमकी ओली घोराहीमा अनमी अध्ययनरत थिइन् भने थापा नेकपा (एमाले) को मुखपत्र बुधबार साप्ताहिकको कार्यकारी सम्पादक र केन्द्रीय प्रचार विभाग सदस्यको जिम्मेवारीमा थिए । लमहीको लडाइँको हुण्डरीबीच विवाह बन्धनमा बाँधिएका थापा दम्पतिका एक मात्र छोरा अशोक नेपालय कलेजमा बिसिए (ब्याच्लर इन कम्प्युटर एप्लिकेसन) छैटो सेमेष्टरमा अध्ययनरत छन् ।

जनस्वास्थ्यमा प्रथम श्रेणीमा स्नातकोत्तर थापाका भाइ चन्द्रबहादुर (हालै स्वास्थ्य बीमा बोर्डको अध्यक्ष नियुक्त) तिलगंगा आँखा प्रतिष्ठानको सहप्राचार्यको जिम्मेवारीमा छन्, जो ०५४ देखि नै तिलगंगामा कार्यरत हुन् । उनका छोरा प्रान्जल प्लस टु गर्दैछन् । यो थापा दाजुभाइको ‘तरक्की’ को संक्षेप ‘कथा’ हो । तर, यो तरक्कीमा कति पीडा घोलिएको छ ? यसको हिसाब भने सजिलो छैन । उनका दिदीबहिनीहरु पनि आफ्नो बर्कत अनुसार संघर्षको उकाली चढिरहेकै छन् ।

घरपरिवारभित्र होस् वा बाहिर, आफूलाई दिएको/पाएको जुनसुकै जिम्मेवारीमा– थापा एक पृथक ‘ब्राण्ड’ हुन् । आत्मविस्वासी एवम् निडर छ थापाको शैली । उनको त्यही शैलीलाई कतिपयले अहंकारी, अराजक, ठाडो, तर्कवुद्धिवादी, अति पक्षधरतावादी आदि आदिको आक्षेप पनि लगाउँछन् । जो झट्ट मात्र नियाल्ने हो भने अस्वभाविक पनि होइन । तर, जानकारहरु भन्छन्, जब उनलाई नजिकबाट नियालिने छ, उनी नौनीभन्दा नरम छन् । भलै, यो व्यक्तिको आ–आफ्नो विवेक र पक्षधरताको ब्रम्हले अनुभूत गर्ने विषय हो ।

संघर्षको उठान
त्यसबेला थापाको गाउँ बाङ्गेमरोट, सौतामारेमा पाँच कक्षासम्मको विद्यालय मात्र थियो । त्यसपछि नजिकको विद्यालय गुल्मीको पुर्कोट दह, प्यूठानको मच्छी र अर्घाखाँची रतनमारेमा थिए, ती तीनै स्थान उनको घरबाट पैदल तीन घण्टाको दूरीमा थिए । पाँच कक्षा उत्तीर्ण गरेपछि उनी पहिले पुर्कोट दहमा र पछि अर्घाखाँची रतनमारेस्थित सिद्धार्थ मा.वि.मा भर्ना भए । बिहान सात बजे घरमा जे छ, सुकेसाग, आँटो खाएर पठनको बाटो लागेपछि झ्याउँकिरीले सन्ध्याको भाका गाईसके यताको राति मात्र घरभित्र छिर्थे ।

भोलिपल्ट उज्यालो भयो कि फेरि उहीँ नित्य दैनिकी दोहोरिन्थ्यो । खानु भन्ने बिहान टिपेको गासँलाई बेलुकीसम्म अडिलो मान्नु पर्दथ्यो । भोकले पेट कुइँकुइँ कराए हातले भित्र थिच्नुपर्दथ्यो । कक्षा छ देखि आठसम्म उनको त्यही दैनिकी दोहोरियो । कक्षा नौ र १० मा चाहिँ उनी विद्यालयकै छात्रवासमा बस्न पुगे । जहाँ प्राधानाध्यपक नरेन्द्रकुमार क्षेत्रीसहित अर्घाखाँची, गुल्मी र प्यूठानका विद्यार्थी समेत बस्दथे ।

थापाले ०४७ सालमा अर्घाखाँचीको सदरमुकाम चुत्राबेंसीको शंखेटारीस्थित भगवती मा.वि. परीक्षा केन्द्रबाट एसएलसी दिए । एसएलसी दिने बेलामा भने कोचिङ पढ्न तीन महीना शंखेटारीमै बसे । ७०.१४ प्रतिशत ल्याएर जिल्लाकै उत्कृष्ठ १० भित्र परेर उत्तीर्ण भए । त्यसबेला एसएलसी उत्तीर्ण हुुनु मात्रलाई पनि स्थानीय समाजमा ठूलै उपलब्धि मानिन्थ्यो ।

प्यूठान, अर्घाखाँचीमा तत्कालीन भूमिगत मसाल र ‘मिथकीय पात्र’ मोहनविक्रम सिंहको राम्रै पकड थियो । संयोग के भने उनी पढ्ने विद्यालयमा चाहिँ तत्कालीन अनेरास्ववियु (एकताको पाँचौ) को वर्चश्व थियो । त्यही वर्चश्वको पछि लागेर उनी अनेरास्ववियु (पाँचौ) मा आवद्ध भए । साइँलाले एसएलसी पास गर्दासम्म दुई जना दाजुहरु प्रहरीमा ‘भर्ती’ भइसकेका थिए । दाजु मात्र होइन, उनका दुई भिनाजु पनि प्रहरी र सेनामा थिए ।

दाजु, भिनाजुहरुको भरोसाको पछि लागेर थापा चैत्र ०४७ मा पहिलो पटक कल्पना र सपनाको स्वर्ण नगरी काठमाडौं प्रवेश गरे । अर्थात माघमा एसएलसी दिएकोमा नतिजा नआउँदै चैत्रमा काठमाडौं छिरे । थापा एसएलसीको नतिजापछि इन्जिनियर पढ्ने सोंचले शहर भित्रिएका थिए । तर कता–कता मेसो मिलेन । यसपछि काठमाडौंको प्राचीनकालीन राजधानी हाँडीगाउँको सामुदायिक कैलाशकुट बहुमुखी क्याम्पसमा आईकम भर्ना भए । जहाँ उनले आफ्नो जीविका धान्दै रात्रिकक्षा पढ्नु थियो ।

जसै उनी कैलाशकुट बहुमुखी क्याम्पसमा भर्ना भए, त्यसैताका अनेरास्ववियुको प्रा.क. (प्रारम्भिक कमिटी) अध्यक्ष चुनिए । त्यसो त उनी अध्ययनरत अर्घाखाँचीको सिद्धार्थ मा.वि. मै पनि प्रा.क. सचिव, उपाध्यक्ष, अध्यक्ष भइसकेका थिए । ०४६ को जनआन्दोलनपछि कांग्रेस नेता ढुण्डीराज शास्त्री, एमालेका मोदनाथ प्रश्रित, शान्ता मानवी, भोजबहादुर शाह गाउँगाउँमा डुलिरहन्थे । अहिले जस्तो नेताहरु ऐनामौकामा मात्र गाउँ पुग्ने चलन स्थापित भइसकेको थिएन । हाल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवाली अर्घाखाँचीको पार्टी सचिव थिए ।

यसबेला लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्य, कृषि मन्त्री दिनेश पन्थी, पूर्वमन्त्री विष्णु पन्थी उनी पढेकै विद्यालयका छात्र थिए । त्यसबेला थापा अध्ययनरत विद्यालय पश्चिम–उत्तर अर्घाखाँचीको शैक्षिक जागरण र राजनीतिको केन्द्र जस्तै थियो । विद्यालयका प्रधानाध्यापक नरेन्द्रकुमार क्षेत्री तत्कालीन भूमिगत नेकपा (माले) मै आवद्ध थिए । जो ०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट अर्घाखाँचीको उम्मेदवार बनेर माओवादीका टोपबहादुर रायमाझीसँग पराजित भए । उनीहरु सबैसँग थापाको परिचय र हिमचिम भइसकेको थियो । त्यही परिचय र हिमचिमले उनलाई राजनीतिक चेतनाले टाठो मात्र बनाएको थिएन, कैलाशकुट क्याम्पस भर्ना भएलगत्तै प्रा.क. अध्यक्षको जिम्मेवारी दिलाएको थियो ।

हाँडीगाउँको प्रवुद्ध वर्गले स्थापना गरेको कैलाशकुट बहुमुखी क्याम्पसमा थापा ०४९ को स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) को सभापति निर्विरोध निर्वाचित भए । अर्को ढंगले भन्ने हो भने त्यहीँबाट उनको जीवन अविराम राजनीतिक यात्रातिर मोडियो । विद्यालयका प्रधानाध्यापक नरेन्द्रकुमार क्षेत्री र हाल एमाले उपमहासचिव प्रदीप ज्ञवालीको प्रभाव आफ्नो जीवनमा जबरजस्ती परेको ठान्छन् थापा । भन्छन्, “हाल अर्घाखाँचीको मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, कुलचन्द्र मरासिनी र विष्णुप्रसाद मिश्रको पनि मलाई पार्टी राजनीतिमा प्रेरित गर्न महत्वपूर्ण भूमिका छ ।”

अनि मोडिए पत्रकारितामा
कैलाशकुट बहुमुखी क्याम्पसमा पढ्दा सुरुमा केही समय दाजुहरुले नै खर्च व्यहोरे । त्यही समयमा उनी राजनीतिसँगै पत्रकारितामा मोडिए । उनले सुरु–सुरुमा पेसाका रुपमा भन्दा पनि सोखले पत्रकारिता अँगालेका थिए । हुन पनि त्यसबेला पत्रकारितामा खासै ‘अवसर’ थिएन । प्रकाशकहरु हाबी भएको वर्तमानमै पनि ‘मालिक’ को साखुल्य र ‘बिचौलिया’ हुन नसके अपवाद बाहेक कहाँ छ र ?

त्यसबेला थापाको चिनजानमा रहेका केही व्यक्तिहरुले इतिहास प्रधान ‘अभिमान’ नामक पत्रिका प्रकाशन सुरु गरे । जो दुई अंक मात्र प्रकाशित भयो । सुरुवातमा त्यही पत्रिकामा जोडिए, थापा । उक्त पत्रिका पत्रकारिताकै ‘फरम्याट’ मा प्रकाशित भएकाले त्यसले उनलाई केही सिकाएको थियो । त्यही मेसोमा थापा माथवरसिंह बस्नेत, शरच्चन्द वस्ती र प्रल्लाद रिजालसँग निकट हुन पुगे । जसले गणेशमान सिंहको निकट रहेर पुनर्जागारण साप्ताहिक सञ्चालन गर्दथे ।

थापाका शब्दमा उनलाई औपचारिक रुपमा पार्टी पत्रकारितामा भित्र्याएका चाहिँ रघु पन्तले हो । भनिरहनै परोइन, पन्त यसबेला एमाले स्थायी समिति सदस्य र प्रतिनिधिसभा सदस्य छन् । त्यसबेला नेकपा एमालेको मुखपत्रका रुपमा दृष्टि साप्ताहिक उचाईको सगरमाथामा थियो, जसको प्रधान सम्पादक थिए पन्त ।

कार्यकारी सम्पादक हाल त्रिभुवन विश्वविद्यालय पत्रकारिता केन्द्रीय विभागका प्रमुख कुन्दन अर्याल (विद्यावारिधि) थिए भने शम्भु श्रेष्ठ प्रकाशक थिए । जो यसबेला नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी पत्रकार संघको अध्यक्ष र दृष्टि साप्ताहिक/दृष्टिन्युज डटकमका प्रधान सम्पादक/प्रकाशक छन् ।

पन्तले शिव गाउँले, सूर्य थापा, विवश वस्ती, रामप्रसाद आचार्यलगायतको टिम भित्र्याए दृष्टिमा । ७ मंसिर ०५२ मा आइपुग्दा त्यही टिम विभाजित भयो र एमालेको मुखपत्रका रुपमा बुधबार साप्ताहिक प्रकाशन सुरु गर्यो । दृष्टि विभाजित भएर जनआस्थासहित तीन ‘टुक्रा’ बन्यो ।

यहाँ अर्को संयोग के भने दृष्टि विभाजित भएर ठिक तीन वटा बन्नै लाग्दा श्रीसगरमाथा र एभरेष्ट हेराल्ड दैनिक प्रकाशनको सम्मुख थिए । प्रकाशकले श्रीसगरमाथाको तीर्थ कोइराला र एभरेष्ट हेराल्डको विजयकान्त कर्णलाई सम्पादक तोकिसकेका थिए । शिव गाउँलेसँगै थापा श्रीसगरमाथामा जाने लगभग टुङ्गो लागिसकेको थियो । उनलाई श्रीसगरमाथा जानबाट पन्तले रोके र बुधबार साप्ताहिकमा मोडे । यसबेलासम्म थापाले स्नातक उत्तीर्ण गरिसकेका थिए ।

“त्यसबेला मलाई पन्तले बुधबार साप्ताहिकमा नफर्काएको भए सायद म प्रमुख रुपमा राजनीतिमा नभएर शिव गाउँले जस्तै व्यवसायिक पत्रकारितामै हुने थिएँ कि !”, थापा आफैंमाथि विस्मयबोधक बन्छन््, “दृष्टिमा आवद्ध हुँदा म संवाददाता मात्र थिएँ । बुधबारमा सह–सम्पादकको जिम्मेवारी दिइयो । पछि कार्यकारी सम्पादक हुँदै ०५९ देखि ०६४ सम्म सात वर्ष बुधबारको सम्पादक रहेँ ।” कार्तिक ०६४ देखि उनी एमालेको प्रचार विभाग सचिव र नवयुगको सम्पादक भए । त्यसयता थापा आठ वर्ष पार्टीको केन्द्रीय प्रचार विभाग सचिवको जिम्मेवारीमा रहे ।

असार १९–१ साउन ०७१ को एमालेको नवौं महाधिवेशनबाट थापा केन्द्रीय सदस्य निर्वाचित भए । यही महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्ष चुनिएका हुन् । यसपछि ०७५ सम्म थापा पार्टीको पर्यटन क्षेत्रको ईन्चार्ज, केन्द्रीय पर्यटन प्रवद्र्धन विभागको प्रमुख, प्रेस चौतारी नेपालको सह–ईन्चार्ज र प्रचार विभागको उपप्रमुख गरी एकै पटक चार वटा जिम्मेवारीमा रहे । ३ जेठ ०७५ मा ‘चोचेमोचे’ नै सही, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई नेकपा (नेपाल कम्युनिष्ट पार्टी) बन्यो ।

यो एकताबाट केन्द्रीय सदस्यमा निरन्तरता त पाए नै, थापा पुनः प्रचार विभाग उपप्रमुखको जिम्मेवारी पुगे । रोचक के भने यो एकताबाट नेकपाको प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठ बनेका थिए, जोसँग थापाको खासै ‘ट्युनिङ’ मिलेन । उनीहरुबीचको ठासठुस सार्वजनिक नै भयो ।

थापाले एमालेमा प्रदीप नेपाल, रघु पन्त, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र नेकपामा नारायणकाजी श्रेष्ठसँगै रहेर प्रचार विभागमा जिम्मेवारी निर्वाह गरेका छन् । जसमध्ये प्रचार विभाग सचिवको जिम्मेवारीमा रहेर सबभन्दा बढी प्रदीप ज्ञवालीसँग काम गरेको स्मरण गर्छन् उनी ।

प्रचार विभागको जिम्मेवारीमा रहेका बेला थापासहितको ’टीम’ ले नेपाल पत्रकार महासंघको सभापतिको कुर्सीमा शिव गाउँले र महेन्द्र विष्टलाई पुर्यायो । त्यसअघि एमाले निकट कोही पनि ‘पत्रकार’ महासंघको सभापतिको जिम्मेवारीमा पुगेका थिएनन्, उपसभापतिसम्मको स्वाद मात्र चाखेका थिए । आफू प्रचार विभागमा रहदा त्यस क्षेत्रको कामलाई निकै व्यवस्थित बनाएको सुनाउँछन् उनी ।

हुन पनि त्यसबेला एमालेले नवयुग मासिकलाई आफ्नो प्रधान मुखपत्र बनाएको थियो । नवयुगको बिक्री र ग्राहक अभियानलाई थापा लगायतले शीर्ष उचाईमै पुर्याएका थिए । ग्राहक, बिक्री र विज्ञापनमार्फत एमालेको आम्दानीको एक मुख्य स्रोत थियो त्यसबेला नवयुग । आम्दानी सिधैँ पार्टीको लेखा शाखामा जम्मा हुन्थ्यो अनि खर्च र भुक्तानी पनि त्यहीँबाट ।

सत्तासँगको जिम्मेवारी
०६१ मा स्वर्गीय भरतमोहन अधिकारी नेकपा (एमाले) का तर्फबाट उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारीमा पुगेका थिए । अधिकारीसँग विशेष सम्बन्ध थियो थापाको, यही सम्बन्धको परिणाम– त्यसबेला अधिकारीले थापालाई उपप्रधान तथा अर्थमन्त्रीको सञ्चार परामर्शदाताको जिम्मेवारी दिए । जसका लागि एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालको ‘रेड सिग्नल’ त थियो नै, २०/२२ वर्ष अघिदेखि नै जनवर्गिय संगठन र पार्टी जिम्मेवारी निर्वाह गरिसकेका भए पनि सत्तामा जोडिएर थापाले पहिलो पटक सारथीका रुपमा उपप्रधानमन्त्रीको कार्यालयको लगाममा सघाउँदै थिए । जसमा उनले विवादरहित पूरा गरे ।

माघ ०६७ देखि भदौ ०६८ सम्म थापा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल, जो नेकपा (एमाले) का अध्यक्ष समेत थिए, को प्रेस सल्लाहकार भए । प्रेस सल्लाहकारको भूमिकामा रहे पनि यता पार्टी प्रचार विभाग सचिव र नवयुगको सम्पादकको जिम्मेवारी यथावत छँदैथियो ।

मंसिर ०७६ देखि साउन ०७८ सम्म २० महीना थापा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, जो सर्वशक्तिमान नेकपाको प्रथम अध्यक्ष र दुई तिहाई बहुमतको सरकारका कार्यकारी थिए, का प्रेस सल्लाहकार भए । त्यसबेला ठाडो, झर्रो र टर्रो प्रस्तुतिका कारण थापा एक हदसम्म विवादमा समेत तानिएका थिए ।

उल्लेख भइसक्यो, थापा प्रधानमन्त्रीद्धय झलनाथ खनाल र केपी शर्मा ओलीका प्रेस सल्लाहकार भइसकेका छन् । लामो समय एउटै पार्टीमा आवद्ध भए पनि स्वभावका हिसाबले खनाल र ओलीमा आनका तान छ । अनि थापा चाहिँ सधैँ उस्तै रुखोसुखो खाना जस्तो । सधैँ उस्तै स्वभावका व्यक्ति फरक–फरक चरित्रका पात्रका विश्वसनीय कसरी बन्न सके ? थापाको स्वभावको वृत्ताकार झट्ट देख्दा मानिसहरुका उत्पन्न हुने सबभन्दा पहिलो र ठूलो कुतुहलता यही हो ।

“म धेरै चाप्लुस हुन जानिनँ । कुटनीतिज्ञ हुन पनि जानिनँ । कुटिल हुन त झन् जान्दै जानिनँ”, उनी बोल्छन्, “म सबै नेताहरुलाई उत्तिकै सम्मान गर्छु । आफूलाई लागे/देखेको कुरा प्रष्ट राखिदिन्छु । मलाई उहाँहरुले विस्वास गरेर जिम्मेवारी दिनुभयो । मैले पनि आफ्नो बलबुताले भ्याएसम्म सफल बनाउन योगदान गरे ।”

१०–१४ मंसिर ०७८, जो एमालेको आन्तरिक जीवनमा लोकतन्त्रको चीरहरणका रुपमा स्थापित छ, को दशौं महाधिवेशनबाट नेकपा (एमाले) को पुनः केन्द्रीय सदस्य हुँदै यसबेला थापा पोलिट्ब्युरो सदस्य छन् । यो महाधिवेशन पछि उनी केन्द्रीय कार्यालय सेरोफेरोको जिम्मेवारीबाट भूगोल केन्द्रीत भए र प्यूठान जिल्लाको ईन्चार्ज बने । अनि मंसिर ०७९ को संघीय निर्वाचनमा प्यूठानमा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासीको रुपमा मैदानमा खडा भए ।

रमाइलो यो छ कि थापा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेको प्यूठानमा तत्कालीन सत्ताधारी नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र संयुक्त जनमोर्चा नेपाल (नेकपा मसाल) को संयुक्त गठबन्धन थियो । गठबन्धनले नेकपा मसालका महामन्त्री एवम् ‘अर्धभूमिगत’ नेता मोहनविक्रम सिंह पत्नी दुर्गा पौडेललाई मोर्चामा उतारेको थियो । पौडेल निवर्तमान प्रतिनिधिसभा सदस्य समेत थिइन । स्थानीय निर्वाचनको मतभार अनुसार गठबन्धनको भन्दा एमाले अर्थात थापा २० हजार दुई सय ६७ मतान्तरले पछि थिए ।

तर, थापाले खाल पल्टाइदिए । फराकिलो मतान्तरलाई ‘मेकअप’ गर्दै पौडेलभन्दा पाँच हजार तीन सय चार मत अन्तरले प्रतिनिधिसभामा निर्वाचित भए । जो धेरैका लागि अकल्पनीय नै थियो । यति मात्र होइन, एसएलसीको नतिजामा जस्तै थापा त्यो निर्वाचनमा पनि लोकप्रिय १० विजेताको सूचीभित्र भित्रिएका छन् भने एमालेका उम्मेदवारमध्ये चौथो लोकप्रिय, ४१ हजार एक सय १८, मत पाएका छन् । एमालेबाट लोकप्रियताको पहिलो मत प्राप्त केपी शर्मा ओलीले ५२ हजार तीन सय १९ मत ल्याएका थिए ।

अहिले पनि थापा प्राय जनताकै घरदैलोमा छन् । फागुन २०७९ देखि बैशाख २०८० सम्म थापा ‘मिसन ग्रासरुट’ अन्तरगत आफूले एसएलसी उत्तीर्ण गरेको अर्घाखाँचीको दुई वटा पालिकामा केन्द्रीय प्रतिनिधि बनेर खटिएका थिए । बैशाख ०८० देखि साउन ०८१ सम्म गुल्मी जिल्ला इन्चार्ज भए । प्यूठान, अर्घाखाँची, गुल्मीको भूगोल वामीटक्सार, खिदिम, भालुवाङदेखि रिडी, पूर्तिघाटसम्मको भूगोलमा थापा क्रियाशील भइरहेका छन् ।

गत भदौयता थापाले भने पुनः प्यूठान जिल्ला ईन्चार्जको कमाण्ड सम्हालेका छन् । कमाण्ड सम्हालेयता प्यूठानका नौ वटै स्थानीय तह र ६४ वटै वडाका अधिवेशन भइसकेका छन् ।

जहाँ सक्रिय, त्यहीँ सफल !
०७० को संविधानसभा निर्वाचनमा प्यूठानबाट एमालेका तत्कालीन वरिष्ठ उपाध्यक्ष बामदेव गौतम र हीराबहादुर के.सी.निर्वाचित भए । यो निर्वाचनमा प्यूठानबाट गौतमलाई जिताउने मोर्चाको नेतृत्व थापाले नै सम्हालेका थिए । थापाले चुनावी मोर्चाको खास नेतृत्व नसम्हालेका भए वर्षौ पहिले नै जन्मथलो छाडेर बर्दिया झरिसकेका गौतमले त्यहाँबाट जित्ने संभावनै थिएन् भन्छन् जानकारहरु । भलै यो भिन्नै कुरा हो कि त्यसपछि गौतम र थापाबीच शत्रुतापूर्ण सम्बन्ध बढ्यो र करिब बोलचाल नै बन्द भयो ।

०७४ को निर्वाचनमा वाम गठबन्धनबाट मसाल नेतृ दुर्गा पौडेल निर्वाचन लड्ने भएपछि थापा प्यूठानतिर फर्किएनन्, बरु काठमाडौं पाँचबाट विगतमा पराजित हुँदै आएका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई जिताउन निर्वाचन परिचालन कमिटी संयोजक बनेर खटिए । उनको नेतृत्वको कुशल शिल्पी संयोजनले नै हुन सक्छ, पोखरेल प्रतिस्पर्धीसँग नौ हजार नौ सय ६० मतान्तरले निर्वाचित भए । जबकि ०६४ र ०७० को निर्वाचनमा पोखरेल त्यही क्षेत्रबाट नेपाली कांग्रेसका नरहरि आचार्यसँग पराजित भएका थिए । ०७९ को निर्वाचनमा पनि पोखरेल कांग्रेसकै प्रदीप पौडेलसँगको प्रतिस्पर्धामा लज्जास्पद ‘रिङ आउट’ भए ।

तर, थापामाथि लाग्दै आएको एउटा गम्भीर आक्षेप छ । त्यो के भने उनी जहिले पनि पार्टी सत्ता अर्थात संस्थापनसँग निकट भएर पहुँच विस्तार र उद्देश्य पूरा गर्न ‘च्याम्पियन’ छन् । माधव नेपाल लामो समय एमालेको महासचिव हुँदा उनीसँगै थिए । त्यसबेला नेपालको कोटरीमा नउभिनेहरुलाई पेल्न सक्रिय भए । झलनाथ खनाल अध्यक्ष भएसँगै उनकै कित्तामा उभिन पुगेर लिनु लाभ लिए । संस्थापनका रुपमा केपी ओलीको रजगज चलेपछि थापा उनकै दाहिना भएका छन् । ओलीलाई गुणवत्ता मात्र देखिरहेका छन् । आफू र आफू निकटहरुसँग असहमतहरुप्रति निकै निर्मम भएर जाइलाग्छन् । न्यूनस्तरको प्रतिकारमा उत्रन्छन् । थापालाई मुख्यतः बारम्बार लाग्दै आएको ‘मौका परस्त’ को खतबात यही हो ।

तर, थापा यी र यस्ता खतबातलाई ठाडै नकार्छन् । “म कामका हिसावले सबै नेताहरुसँग जोडिएँ । व्यक्तिगत स्वार्थले जोडिएको छैन । माधव नेपाल पार्टी महासचिव भएकाले र रघु पन्तसँगको सम्बन्धका कारणले सघाएको हुँ”, उनको कथन छ, “सबैबाट देखिने गरी त्यो मेरो पौरख, सामर्थ्य र सक्रियता बाहेक केही होइन । निजी स्वार्थ केही थिएन । झलनाथ खनाललाई बामदेव गौतम, ईश्वर पोखरेलसहित लागेर अध्यक्ष बनाएका हुन् । त्यसमा मैले पनि साथ दिएको हो । तर, मेरो निर्णायक भूमिका थिएन ।”

थापा थप्छन्, “केपी ओलीसँग संसदीय दलको नेता निर्वाचित गराउने विन्दुदेखि नजिक भएको हुँ । त्यसबेला अध्यक्ष खनाललाई पावर सेयरिङ गर्नुस्, संसदीय दलको नेतामा नभिड्नुस् भनेर सुझाव दिएकै हो । प्यूठानमा एमालेलाई बलियो बनाउन बामदेव गौतमलाई जबरजस्ती लगेर ८४ दिन त्यहीँ खटेर उहाँलाई जिताएको हो । ०७० को मेरो त्यो खटाई र सक्रियताले पनि ०७९ मा आफैं उम्मेदवार हुँदा जित्न बल पुग्यो । त्यो चाहिँ मलाई फाइदा भएकै हो ।”

थापाको थप कथन छ, “म जहाँ लागेको छु, शतप्रतिशत औचित्य र निष्ठाका साथ लागेको छु । म आफैं नेता होइन, निर्णायक पनि होइन । मैले ज–जसलाई सहयोग गरेँ, गर्दै आएको छु, इमान्दारिताका साथ गरेको छु । केपी ओलीका हकमा पनि मलाई कुनै जिम्मेवारी दिने सहमति गरेर उहाँको पक्षमा लागेको होइन । अहिले पछिल्ला वर्षहरुमा जे जति जिम्मेवारी पाएको छु, त्यसमा केपी शर्मा ओली र उहाँको टीमको भरोसा महत्वपूर्ण छ । तर, उहाँहरुले जतिसुकै अप्ठ्यारो, चुनौतीपूर्ण जिम्मेवारी दिँदा पनि सफलतापूर्वक सम्पन्न गरेको छु ।”

एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार दोहोरिने अरु पनि होलान् । तर, कांग्रेस, एमाले, माओवादी तीन वटै पार्टीमा दुई जना प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुने अवसर पाउने थापा अहिलेसम्म एक्लो हुन् ।
थापा समाजशास्त्रका स्नातकोत्तर हुन् भने व्यवस्थापनमा स्नातक, कानुनमा एलएलबी र पत्रकारितामा डिप्लोमा तालिम गरेका छन् । कोरोनाकाल एवम् प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार नियुक्त हुनुअघि थापा त्रिवि केन्द्रीय विभाग कीर्तिपुरमा समाजशास्त्रमा एमफिल पढ्दै थिए । प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार हुन बोलाइएपछि एमफिल हापिदिए । तर, फेरि त्यसलाई नयाँ रुपमा निरन्तरता दिँदैछन् ।

धेरैलाई लाग्दो हो, थापा फुत्त अवसर पाएर माथि–माथि टुपुल्किएका हुन् ! तर धरातलीय यथार्थ विल्कुलै फरक छ । संर्घषको निकै ठूलो पहाड पल्टाएर उनी नेकपा (एमाले) को पोलिट्व्युरो सदस्य र प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा आइपुगेका हुन् । ठिक ५० वर्षीय थापा ‘बैरी’ हरुका लागि सिंह हुन् भने पक्षधरताका लागि सतिसाल । सिंह र सतिसाल दुवैको आ–आफ्नो ठाउँमा सुन्दरता एवम् महत्व छ ।

फिलिपिन्सका राष्ट्रपति एस्ट्राडाले पदमा निर्वाचित भएलगत्तै भनेका थिए, ‘म मेरा मातापिताको पाँचौ सन्तान हुँ । यदि मेरा मातापिता परिवार नियोजनमा सहभागी भएका भए म जन्मने थिइँन ।’

यो ‘स्टोरी’ को बिट मार्दै गर्दा थापाका बारेमा पनि त्यस्तै एउटा रोचक पन्तुरो खोलौ । थापाभन्दा माथिका दाजु–दिदी जन्मिसकेपछि साइँला बुवा रिमबहादुरले उनका बुवा खेतबहादुरलाई परिवार नियोजनका लागि सहमत गराएका रहेछन् । तर, उनका बुवालाई परिवार नियोजन गर्न हुन्न भनेर कसैले भड्काई दिएछन् । अनि खेतबहादुर थापा सुरुमा सहमत भएर पनि परिवार नियोजनमा सहभागी भएनछन् ।

खेतबहादुर थापाले परिवार नियोजन नगरेकै कारण साइँला सूर्यबहादुर, कान्छा चन्द्रबहादुर र दुई बहिनीहरुको जन्म भएको रहेछ । खेतबहादुरले परिवार नियोजन गरेका हुन्थे भने सायदै सूर्यबहादुर थापा क्षेत्री जन्मने थिएनन् । थापा नजन्मिएका भए सहकारी ठगी सम्बन्धी यति गहकिलो प्रतिवेदन अरु कसैले दिन्थे वा दिँदैनथिए ? यो कल्पना मात्र हो ।

माधव बस्‍नेत नेपालमुहार डटकमका सम्पादक हुन् । उनी सुशासन, सुरक्षा र राजनीतिका विषयमा औँला चलाउँछन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.