Connect with us

अर्थ

काठमाडौं जाने मेलम्चीको पानी स्थानीयले मुहानमै थुनिदिए

Published

on

दैनिक २० करोड लिटर काठमाडौंका लागि छाडिँदै आएको थियो, बिहीबार मुहान बन्द गरेपछि काठमाडौंमा मेलम्चीको खानेपानी वितरण ठप्प

काठमाडौं आउने मेलम्चीको खानेपानी स्थानीयले मुहानमै थुनिदिएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बासिन्दाले एक वर्षअघि खानेपानी मन्त्रालयसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै बिहीबार अम्बाथाङस्थित मुहान बन्द गरिदिएका हुन् ।

दैनिक २० करोड लिटर खानेपानी काठमाडौंका लागि सुन्दरीजलतर्फ पठाउने मुहान एक्स्काभेटरमार्फत थुनेर मेलम्ची खोलामै फर्काइदिएपछि उपत्यकामा मेलम्चीको खानेपानी वितरण ठप्प भएको छ । विष्णु खड्का क्षेत्रीको अगुवाइमा मुहान पुगेर हेडवक्र्सको सुरुङमा बन्द गरी पानीको बहाव खोलामा छोडिएको स्थानीय राजकुमार भण्डारीले बताए । खड्काले मेलम्ची खानेपानी संघर्ष समिति र खानेपानी मन्त्रालयबिच २१ असोज ०८१ मा भएको १० बुँदे सहमति कार्यान्वयन नभएपछि पानीको आपूर्ति बन्द गर्नुपरेको बताए । संघर्ष समितिसँग तत्कालीन खानेपानीमन्त्री प्रदीप यादव र खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले मुहान क्षेत्रका प्रभावित स्थानीय सरकार (हेलम्बु गाउँपालिका) लाई २५ प्रतिशत रोयल्टी दिने विषय तीन महिनाभित्र टुंग्याउने सहमति गरेका थिए ।

‘प्रभावित क्षेत्रका जनतासँग भएको सहमति तीन महिनाभित्र कार्यान्वयन गर्ने भनिएको थियो, अहिलेसम्म काम भएको छैन,’ खड्काले भने, ‘ती सहमति कार्यान्वयन हुनुपर्छ । त्यसबाहेक मेलम्चीमा खर्च भएको ८५ अर्बको हिसाब पनि सार्वजनिक होस् ।’

पालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले जनतासँग भएको सहमति कार्यान्वयन हुनुपर्ने बताए । ‘सरकारमा जो आए पनि स्थानीय सरकारले पाउनुपर्ने नियमअनुसार रोयल्टी पाउनुपर्छ,’ उनले भने ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्री गर्ने मेलम्चीको पानीबाट प्राप्त हुने रकमको २५ प्रतिशत हेलम्बुको विकासका लागि उपलब्ध गराउनुपर्ने माग गाउँपालिकाले राख्दै आएको छ । त्यस्तै, मेलम्ची–हेलम्बु सडक पुनर्निर्माण, बाढीले पूर्ण रूपमा क्षति पुगेका घरपरिवारलाई २० लाखका दरले राहत र हेलम्बु गाउँपालिकाको भवन निर्माणका लागि रकम उपलब्ध गराउनेलगायत पनि सहमति भएको थियो ।

मेलम्चीको पानी २२ फागुन ०७७ मा सुन्दरीजलमा झारिएको थियो भने झन्डै एक महिनापछि १५ चैतमा परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा पठाइएको थियो । सोही २० चैतमा राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन गरिएको थियो । तर, ०७८ असारको पहिलो साताको बाढीले हेडवक्र्समा क्षति गरेपछि अस्थायी संरचना बनाएर मेलम्चीको पानी काठमाडौं ल्याइँदै आएको छ ।

खानेपानी मन्त्रालयले बोलायो वार्तामा
मेलम्चीको खानेपानी काठमाडौं आपूर्ति बन्द गरिएपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी संघर्ष समितिलाई शुक्रबार वार्तामा बोलाएको छ । खानेपानीसचिव प्रमिलादेवी बज्राचार्यले गत वर्ष भएको सहमति कार्यान्वनयकै चरणमा रहेका वेला स्थानीयले खानेपानीको आपूर्ति बन्द गरेको र समाधानका लागि बिहान १० बजे छलफलमा आउन भनेको बताइन् ।

‘यो विषय खानेपानी मन्त्रालयसँग मात्र नभई अर्थ, भौतिक पूर्वाधार र ऊर्जा मन्त्रालयसँग पनि जोडिन्छ,’ उनले भनिन्, ‘पोहोरको सहमतिअनुसार नै मोटरेबल सडक निर्माणका लागि बजेट विनियोजन भएको छ । कम बजेट रहेको ठाउँमा बजेट थप गर्न भौतिकसँग छलफल भइरहेको छ । अन्य विषय पनि सम्बोधनका क्रममा छ ।’

मेलम्चीको खानेपानी उपभोगबापत २५ प्रतिशत रोयल्टीको विषय भने मन्त्रालय आफैँले टुंग्याउन नसक्ने उनले बताइन् । ‘यो ठाउँविशेषभन्दा पनि देशभर नै लागू हुने विषय हो । मेलम्चीबाहेक अन्यत्र पनि एक जिल्लाबाट अर्को जिल्ला, एक प्रदेशबाट अर्को प्रदेशमा सिँचाइ, खानेपानी गएको छ,’ उनले भनिन्, ‘यसबारे सरकारले नै कानुन बनाएर अगाडि बढ्नुपर्ने हुन्छ ।’
रामकृष्ण थापा/नयाँ पत्रिका

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.