भूगोलको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा अस्ति ३० असा्ेज बिहान निधन भएको नेपाल पर्वतारोहण संघले जनाएको छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर ग्याल्जे शेर्पाका अनुसार कान्छा शेर्पाको निधन काठमाडौँको कपनस्थित आफ्नै निवासमा भएको हो ।
फुर ग्याल्जे शेर्पाले कान्छा शेर्पाको आफ्नै निवासमा निधन भएको बताए । उनले कान्छा शेर्पा केही समयदेखि अस्वस्थ रहेको बताउँदै पर्वतारोहण इतिहासको एउटा अध्याय उहाँसँगै बिलाएको सुनाए । निधन भएका शेर्पाको अन्त्येष्टि भोलि ३ कार्तिक सोमबार गरिने छ ।
कान्छा शेर्पा २९ मे १९५३ मा न्यूजिल्याण्डका एडमण्ड हिलारी र उनका शेर्पा गाइड तेन्जिङ नोर्गेलाई ८ हजार ८४९ मिटर अग्लो चुचुरोमा पुर्याउने ३५ सदस्यीय टोलीका एक सदस्य थिए । जीवनको अधिकांश समय पर्वतीय पथप्रर्खशकका रूपमा बिताएका उनी हिलारी र तेन्जिङसँग चुचुरोभन्दा ठीक तलको अन्तिम शिविरमा पुगेका तीन शेर्पामध्ये एक थिए ।
कान्छा शेर्पाैले सन् २०२४ को मार्चमा दिएको एक अन्तर्वार्तामा आफ्नी श्रीमतीले आरोहणलाई अत्यधिक जोखिमपूर्ण मानेका कारण उनले आफैं सगरमाथाको चुचुरोमा कहिल्यै पाइला नटेकेको बताएका थिए । उनले आफ्ना छोराछोरीलाई पनि पर्वतारोही बन्नबाट रोकेका थिए ।
पर्वतारोहण समुदायमा अत्यन्त लोकप्रिय र सम्मानित कान्छा शेर्पा ऊर्जाले भरिपूर्ण र सेवानिवृत्त भएपछि पनि वृद्धावस्थामा उहाँ धार्मिक समारोहका लागि सगरमाथा क्षेत्रका गुम्बाहरूमा ट्रेकिङ गर्न गएको नेपाल पर्वतारोहण संघका आङ छिरिङ शेर्पाले बताए ।
कान्छा शेर्पाको जन्म सन् १९३३ मा सगरमाथाको फेदीमा रहेको नाम्चे गाउँमा भएको थियो । सो समयमा नेपालको शेर्पा समुदायका अधिकांश सदस्यहरू आलु खेती र चौँरीपालनमार्फत जीविकोपार्जन गर्थे ।
उनले आफ्नो बाल्यकाल र युवावस्था छिमेकी तिब्बतमा आलु व्यापार गरेर सामान्य जीवन बिताएका थिए । पछि, उनी र उनका केही साथीहरू दार्जिलिङ, भारत पुगे, जहाँ उनलाई पर्वतारोहण तालिमका लागि सिफारिस गरियो, र उनले विदेशी पदयात्रीहरूसँग काम गर्न गरेका थिए । उनले १९ वर्षको उमेरमा पर्वतारोहण सुरु गरेका थिए र ५० वर्षको उमेरसम्म आरोहण क्षेत्रमा सक्रिय रहेका थिए ।
सन् १९५३ मा उनका बुबा र तेन्जिङ नोर्गेबीचको मित्रताका कारण विश्वको पहिलो सगरमाथा आरोहण क्रममा तेन्जिङ र न्यूजिल्याण्डका एडमण्ड हिलारीका लागि उच्च–उचाइका पोर्टरको रूपमा काम गर्ने अवसर कान्छा शेर्पालाई प्राप्त भएको थियो। उनी ती तीन शेर्पामध्ये एक थिए, जो ७ हजार ९०० मिटर अग्लो साउथ कोल माथिको अन्तिम शिविरमा पुगेका थिए ।
उनीहरूले पहिलोपटक रेडियोमार्फत सफल आरोहणको खबर सुनेका थिए र करिब ६ हजार ४०० मिटर उचाइमा रहेको क्याम्प २ मा चुचुरो आरोहण गर्ने जोडीसँग पुनः भेट भएका थिए । कान्छा शेर्पाले वर्षौँसम्म विभिन्न उचाइहरूमा सगरमाथाका अन्य आरोहणहरू पनि गरेका थिए ।
उनीहरूले आधार शिविरदेखि चुचुरोसम्म खोलेको बाटो आज पनि पर्वतारोहीहरूले प्रयोग गर्छन् । केवल आधार शिविरदेखि अस्थिर खुम्बु आइसफल पार गर्दै क्याम्प १ सम्मको खण्ड मात्र हरेक वर्ष परिवर्तन हुने एपीले आफ्नो समाचारमा जनाएको छ ।