नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले केपी ओली नेतृत्वको सरकारले दुई लाख रुपैयाँसम्मका खुद्रे योजना पनि संघ अन्तर्गत राखिएको बताएका छन् । आज शनिबार (जेठ २४) काठमाडौंमा आयोजित एक कार्यक्रममा पुनले यस्तो दाबी गरेका हुन् ।
‘सरकारले तीन करोड रुपैयाँभन्दा कम बजेटका आयोजना संघअन्तर्गत नराखिएको जिकिर गरिरहेको छ । । तर, सहरी विकास मन्त्रालयको विनियोजित बजेटमा दुई लाखसम्मका आयोजना समेत छन्’, पूर्वअर्थमन्त्री पुनको भनाइ छ । सहरी विकास मन्त्रालयको विनियोजित बजेट एक खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ छ । यो कुल बजेटको ६.०३ प्रतिशत हो ।
मन्त्रालयको नयाँ बजेट चालु वर्ष २०८१र८२ को तुलनामा २७.७५ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड ५४ लाख बजेट विनियोजन गरिएको थियो । बजेट कहाँ र कसरी बढ्यो भन्नेमै मन्त्री स्वयं अचम्मित रहेका पुनले बताएका छन् ।
सहरी विकास मन्त्रालय एउटैमा मात्र ३२ अर्ब रुपैयाँ चलखेल देखिएको पुनले उल्लेख गरेका छन् । उनले योजना आफूखुसी राखिएको बताएका छन् ।
पढ्नुहोस्, पुनको भनाइ जस्ताको तस्तैः
यसपटक हिजो सहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो । गत वर्ष ९२ अर्ब थियो । यसपटक एक खर्ब १८ अर्ब पुगेको छ । २६ अर्ब त यसै पनि बढ्यो । तर, उसको सिलिङ झन्डै ७२ अर्ब मात्रै थियो । त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने । हिजो मन्त्रालयको विनियोजन आएको छ । मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरू रहेछन् । अनि, किन यो तीन करोडको भनेर उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्रीलाई सोध्दा– होइन, २५ लाखभन्दा मुनिको त हालेको छैन भन्नुभयो । यी दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नु भएन । १७ हजारबाट कटाएको छैन । ससर्तमा झन् अरूअरूतिर सारेको देखिन्छ । ससर्तको रकम गत वर्षको भन्दा बढेको छ । ससर्त त घटाउने हो खासमा । घटाउँदै गएर समानीकरणमा बढाइदिने हो । तीन करोडको योजना होइन, दुई लाखको योजना राखिएको आइसक्यो । यसपटक अलि मनपर्दी गरेको छ । एउटै सहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ । मसिना सबैखाले आफू खुशी राखेको देखिन्छ ।