निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरुविरुद्ध आज उजुरी दिन सकिने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन तालिकाअनुसार हिजो बुधबार सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयनपत्र दर्ता गरिसकिएको छ ।
निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवार विरुद्ध उजुरुी, भोलि पुस २५ र पर्सी २६ गते मनोनयनपत्र तथा उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गरिनेछ । पुस २७ गते उमेदवारले नाम फिर्ता लिने तथा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचनको कार्यतालिका छ ।
निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन गर्दैछ । राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदै छ । आयोगले यस अघि नै राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवं उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।