ठगीका अनेक धन्दा छन् । त्यसमध्ये सबैभन्दा राम्रो धन्दा बनेको छ, वैदेशिक रोजगार । वैदेशिक रोजगारमा पठाई दिन्छु भन्दै गरिने ठगी संभवत सबैभन्दा ठूलो र सजिलो ठगी माध्यम बनेको छ । त्यही सिलसिलामा वैदेशिक रोजगारमा बेलायत पठाइदिने भन्दै ११ करोड ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जना नटवरलाललाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ रतुवामाई नपा(१० घर भई पछिल्लो समय काठमाडौँ महानगरपालिका–६, सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नपा(१२, घर भई काठमाडौँ महानगरपालिका–३२, नरेफाँट बस्ने ४७ वर्षीय अरुणराज शर्मा रहेका छन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
यी दुई नटवारलाल पराजुली र शर्मा विरुद्ध महेश लिम्बुले जाहेरी दिएका थिए । यही जाहेरीका आधारमा वादी नेपाल सरकार रहेको वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँले काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराई दिनुहुन भन्दै पत्र पठाएको थियो। पत्र प्राप्तपछि उक्त कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।
पक्राउपछि उनीहरूलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीको लागि हिजो वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक तथा प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिएका छन्।
प्राप्त अनुसन्धन अनाुसार यी नटवारलालहरुले बेलायत पठाएर जागिर मिलाई दिन्छौं भन्दै हालसम्म ३८ जनालाई लोभलाग्दो आश्वासन दिएर ११ करोड छ लाख ९७ हजार रुपैयाँ ठगी गरेका भेटिएको छ । उनीहरुविरुद्ध थप उजुरी माग गरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।