नेकपा (एमाले) ले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोग समक्ष समानुपातिकको सूची बुझाउने निर्णय गरेको छ। ११ औं महाधिवेशनपछि आज आइतबार बसेको एमाले सचिवायको बैठकले समानुपातिक उम्मेदवारको सूची बुझाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले सञ्चारकर्मीलाई बताएका छन्। ‘समानुपातिक सूची समयमै बुझाउने निर्णय भएको छ,’ भट्टको भनाइ छ ।
एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको सूची पेश गरेका थिए। जिल्ला तथा प्रदेशबाट भएको सिफारिसका आधारमा अध्यक्ष ओलीले सूची बनाएको भट्टको भनाइ छ । ‘जिल्ला र प्रदेशबाट सिफारिस भएको छ। त्यसमा अध्यक्षले नै गृहकार्य गरेर नामावली पेश गर्नुभएको थियो। केही सुझावसहित पारित गरिएको छ,’ भट्ट भन्छन् ।
सचिवालय बैठकले पारित गरेको समानुपातिक उम्मेदवारको सूचीमा केही थपघट गर्न जिम्मेवारी अध्यक्ष ओलीलाई दिइएको छ। उनले अन्तिम सूची बनाएपछि भोलि सोमबार आयोगमा बुझाउने एमालेको तयारी छ ।