Connect with us

समसामयिक

विशेष अदालतको फैसलाले अख्तियारका प्रमुख आयुक्त राईमाथि नैतिक संकट

Published

on

तत्कालीन मन्त्रीसहित उच्चपदस्थ अधिकारीहरू प्रतिवादी रहेको वाइडबडी भ्रष्टाचारसम्बन्धी मुद्दामा आएको विशेष अदालतको पूर्ण पाठले फेरि अर्को तरङ्ग सिर्जना गरेको छ । पूर्ण पाठमा तत्कालीन पर्यटन सचिव एवं हाल अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ ।

अख्तियारले २२ चैत २०८० मा २४ जना नेपाली अधिकारी र ८ विदेशी नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । यो मुद्दामा पोहोर मंसिर २० गते फैसला आयो । फैसलाको पूर्णपाठ भने आज बल्ल सार्वजनिक भएको छ ।

नेपाल वायुसेवा निगम वाइडबडी विमान गर्दा एक अर्ब ४७ करोड १० लाख भ्रष्टाचार भएको विशेष अदालतको ठहर थियो । यसमा ३२ जना प्रतिवादी रहेकोमा ११ जना दोषी ठहर भएका छन् भने अन्यले सफाइ पाएका छन् ।

विशेष अदालतको पूर्ण पाठमा विमानको बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौट,विमान खरिद–प्रक्रिया,खरिद बिक्रि सम्झौता र भुक्तानी प्रक्रियामा सामेल सचिवहरुको नाम उल्लेख छैन ।

मुद्दामा मुख्य प्रतिवादी रहेका तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका थिए । शाहीसहित ३२ जनाविरुद्ध एक अर्ब ४७ करोड १० लाख ८५ हजार ४८२ रुपैयाँ बिगो कायम गरी गत २२ चैतमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

पूर्ण पाठमा चयनमुखी अभियोजन भनेर टिप्पणी गरिएको छ । पूर्ण पाठमा भनिएको छ, ‘चयनमुखी अभियोजन गर्नु सामान्य न्यायको सिद्धान्तविरुद्ध हुन्छ, यस्तो कार्यले कानुन सबैका लागि बराबर हो भन्ने भावनामा आघात पुर्‍याउँछ र न्यायप्रतिको विश्वास कमजोर बनाउँछ ।’

वाइडबडी खरिदको बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौट, विमान खरिद–प्रक्रिया, खरिद बिक्रि सम्झौता र भुक्तानीमा धेरै पूर्वसचिव सहभागी थिए । तर विशेष अदालतले उपसमिति गठनमा सहभागी तत्कालिन सचिव राईको नाम र भूमिका बारे उल्लेख गरेको छ । २० मंसिर २०८१ मा फैसलामा उल्लेखित पूर्व सचिवहरुको नाम हटाएर पूर्ण पाठमा तात्कालिन सचिव राईको मात्रै नाम राखिएको अख्तियारको गुनासो छ ।

विमानको बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौट,विमान खरिद–प्रक्रिया,खरिद बिक्री सम्झौता र भुक्तानी कुनै पनि प्रक्रियामा राई संग्लन नभएको र उनी पर्यटनबाट सरुवा भईसकेपछि विमानको बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौट, विमान खरिद प्रक्रिया,खरिद बिक्री सम्झौता र भुक्तानी भएको जानकारहरुले बताए ।

सचिव राईको पालामा विमान खरिदका लागि एउटा उपसमिति गठन गर्ने निर्णय मात्रै भएको थियो । २०७३ बैशाख २ गते राईको अध्यक्षतामा बसेको बैठकले उक्त उपसमिति गठन गरिएको हो ।

नाम थियो,‘वाईड बडी विमान खरीद उप समिति’ । संयोजकमा सूर्यप्रसाद आचार्य,निमानुरु शेर्पा, रमेशबहादुर शाह र रामहरि शर्मा सदस्य थिए । यो समितिको जिम्मेवारी थियो, ‘दुई महिनाभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्ने ।’

उक्त समितिले ३१ साउन २०७५ मा प्रतिवेदन पेश गर्दै विमान खरिदका लागि ३ वटा विकल्प प्रस्तुत गरेको थियो । तर, विमान खरिद प्रक्रिया अघि नबढ्दै राई २३ भदौ २०७३ मा सरुवा भए । उनी पर्यटन मन्त्रालयमा २०७२ देखि सचिव थिए । २४ भदौ २०७३ गते उनी आपूर्ति मन्त्रालय गए ।

यसपछि पर्यटन सचिव शंकर अधिकारीको समयमा ३ माघ २०७३ मा प्रस्ताव स्वीकृति, खरिद निर्णय र एमओयु उपसमिति बनाइएको र २६ फागुन २०७३ मा मात्रै सम्झौता मस्यौदा उप समिति गठन भएको थियो । त्यसबेला वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर करिब २४ अर्ब रुपैयाँमा दुइटा वाइडबडी विमान खरिद गरेको थियो ।

(अन्नपूर्ण) मिति २०७५र३र १४ र दोश्रो वाइडबडी ए ३३०–२४३ ९एन एएलजेड (मकालु) मिति २०७५/४र१० मा फ्रान्सको टुलुजबाट काठमाण्डौमा अवतरण गरेका थिए । बोलपत्र मूल्यांकन तथा प्रस्ताव छनौट, विमान खरिद–प्रक्रिया,खरिद बिक्री सम्झौता र भुक्तानी प्रक्रियाको बेला उनी जिम्मेवारीमा थिएनन् ।

‘यदि खरिदको इतिहास नै उल्लेख गर्नुपर्ने भए पनि यसको मुख्य प्रक्रियामा सामेल सचिवहरुको नाम छुट्नु हुन्थेन । तर मुख्य प्रक्रियामा सामेलहरुका नाम उल्लेख नगरी खरिद आवश्यक छ या छैन ? भनेर बुझ्नलाई उपसमिति बनाउने सचिवको मात्रै नाम उल्लेख गरिनु पूर्वाग्रहबाट प्रेरित र दुराशायपूर्ण रहेको’ जानकारहरुको जिकिर छ ।

संसदको तात्कालिन सार्वजनिक लेखा समितिले सार्वजनिक खरिद ऐन मिचेर जहाज खरिद गरिएको भन्दै सांसद राजन केसीको नेतृत्वमा उपसमिति बनाएर अध्ययन गरेको थियो । उक्त उपसमितिले दुइटा जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकाल्यो ।

२६ मंसिर २०७५ गते बनेको उपसमितिले १८ पुस २०७५ मा ५९ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । लेखा समितिले आवश्यकता र औचित्य विना जहाज र इन्जिन छनोट गरिएको, खरिद सम्झौतामा शर्तहरूको दुराशययुक्त प्रयोग भएको, जहाजको क्षमता नघटाइएको, शंकास्पद कम्पनी स्थापना गरी कारोबार गरेको निष्कर्ष निकालेको हो ।

उपसमितिले जहाजको सिरियल नम्बर फेरिएको,भुक्तानीका लागि एजेन्ट खडा गरिएको, सार्वजनिक खरिद कानुन उल्लंघन भएको,लागत अनुमान र खरिद मूल्यमा मिलेमतो भएको,मूल्यवृद्धि गरिएको र जहाजको पूर्व निरीक्षणका नाममा खर्च गरेर अनियमितता भएको निष्कर्ष निकालेको थियो ।

वाइडबडी जहाज खरिदमा लेखा समितिले निकालेको निष्कर्ष र अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्दा लिएको आधार उस्तै प्रकृतिको थियो । बिगो गणना र हिसाबकिताव मात्रै अलि फरक थियो ।
जनआस्था

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.