Connect with us

अर्थ

आत्मकथा बेचेर कृषि औजार उत्पादन

Published

on

कृषि सामग्री उत्पादनका लागि जिम्मा लिएको राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखाना वीरगन्जबाट व्यावसायिक उत्पादन गरी बिक्रीवितरण गरेको छ । केन्द्रले सरकारबाट लिएर २०७९ कात्तिकदेखि कारखाना सञ्चालन गरिरहेको छ ।

कारखाना सञ्चालनमा आएको २८ महिनापछि अर्थात् २०८२ जेठदेखि नै औजारको व्यावसायिक उत्पादन गरेर बिक्रीवितरण सुरु गरेको केन्द्रका प्रमुख तथा इन्जिनियर रितेश देवले जानकारी दिए । केन्द्रले अहिले कोदो रोप्ने मिलेट प्लान्टर, आलु रोप्ने उपकरण, मकै रोप्ने उपकरण, तीन मोडलका धान रोप्ने मसिन उत्पादन गरिरहेको उनको भनाइ छ । स्टिलबाट निर्मित धान गोड्ने प्याडी विडर सबैभन्दा बढी बिक्री भइरहेको पनि उहाँले जानकारी दिए ।

बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेकाले स्थानीय बजारमा नपाइने, भारत तथा चीनबाट आयात नहुने कृषि उपकरण मात्र उत्पादन गरिरहेको केन्द्रले जनाएको छ । यसरी कृषि उपकरण सोझै किसान वा कृषि उपकरण विक्रेतालाई बिक्री भइरहेको प्रमुख देवले जानकारी दिए ।

केन्द्रले पछिल्लो पटक धान काट्ने रिपर, आलु खन्ने डिगर, गोबर पेल्ने डङ्ग डिवाटरिङ, प्लास्टिक बनाउने मल्चर, सुक्खा घाँस काट्ने उपकरणको पनि परीक्षण गरेर उत्पादन सुरु गरेको उनले बताए ।

केन्द्रले बिक्री गरिरहेका यी उपकरण हालसम्म नेपालमा पहिलो पटक उत्पादन भएको पनि इन्जिनियर देवले दाबी गरे । “हामीले उत्पादन गरेको यी उपकरण भारत अथवा चीनबाट आयात गर्नु पथ्र्यो,” उनले भने “हामीले उत्पादन गरेपछि यी उपकरण विदेशीभन्दा सस्ता अनि बलिया पनि छन् ।”

उनका अनुसार केन्द्रले भविष्यमा विद्युतीय मिनी ट्याक्टर, धान रोप्ने इन्जिनबाट चल्ने स्वचालित अन्य मोडलका धान रोप्ने मेसिन उत्पादन गर्ने योजना पनि बनाएको छ ।

केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुनले आफ्नो आत्मकथा पुस्तक बिक्री गरेर सङ्कलन गरेको रकमबाटै हालसम्म कारखाना सञ्चालनको सम्पूर्ण काम अघि बढेको इन्जिनियर देवले बताए । कारखानामा हाल ३५ जना कर्मचारी कार्यरत छन् ।

यस्तो छ औजारको मूल्य

केन्द्रले उत्पादन गरिरहेको केराको रेसा निकाल्ने मसिन सेटको मूल्य एक लाख २० हजार, फिस इन्क्युवेटरको मूल्य एक लाख, मिनी ट्रेलर केज ह्विलको दुई हजार पाँच सयदेखि तीन हजार, राइस प्लान्टर मसिनको १५ देखि २० हजार र मिलेट प्लान्टर मेसिनको १५ हजार रुपियाँ रहेको इन्जिनियर देवले जानकारी दिए ।

हालसम्म कारखाना सञ्चालन गर्दा करिब साढे तीन करोड रुपियाँ खर्च भइसकेको छ । सुरुमा सरकारले ५० करोड रुपियाँ दिने आश्वासन दिए पनि आफूहरूले २५ करोडको स्टिमेट पठाएको तर सरकारले एक करोड रुपियाँ सस्तो ब्याजमा ऋण दिने घोषणा गरेकाले आफूहरूले सो ऋण नलिएको इन्जिनियर देवको भनाइ छ । केन्द्रले अहिलेसम्म करिब १५ लाख रुपियाँ बराबरको औजार बिक्री गरेको छ ।

केन्द्रका सञ्चालक वैज्ञानिक महावीर पुन आफ्नै आत्मकथा सङ्ग्रहित पुस्तक बेचेर कारखाना पूर्ण रूपमा सञ्चालन गर्न आवश्यक पर्ने २० करोड रुपियाँ सङ्कलन गर्ने अभियानमा छन् । अहिलेसम्म १२ करोड रुपियाँभन्दा बढी रकम सङ्कलन भइसकेको इन्जिनियर देवले जानकारी दिए ।

२०२४ फागुन ८ गते सञ्चालनमा आएको कारखाना २०४९ सालमा बन्द गरिएको थियो । कारखाना बन्द भएको करिब ३० वर्षपछि सरकारले सञ्चालनका लागि कारखानासहितको १० बिघा जग्गा राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको हो ।
दीपकप्रसाद गौतम/गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.