मनोनयन दर्ता गरेर पश्चिम म्याग्दीमा चुनावी अभियानमा निस्किएका महावीर पुनले युवाहरूले उम्मेदवारी फिर्ता गरी सर्मथन गरेमा स्वागत गर्ने बताएका छन् । अस्ति मंगलबार मनोनयन दर्तापछि पुन एक गाडी आत्मकथा लिएर मालिका गाउँपालिकाको दरबाङ हुदै धवलागिरी गाउँपालिका पुगेका छन् ।
पुनले कुनै पार्टीमा आबद्ध हुने आफ्नो योजना नरहेको बताएका छन् । ‘मैले समर्थन खोज्दै हिड्दैनँ, युवाहरूले सर्मथन गरे ठिकै छ,’ पुनले भने, ूमलाई समर्थन गर्नेलाई नै सोध्नु, मैले समर्थन खोज्ने कुरा भएन ।ू
सामाजिक सञ्जालमा गरिएका सर्मथनको चर्चाबारे पुनले आफूलाई जानकारी नभएको बताए । एक्लै भए पनि चुनावी अभियानमा लाग्ने उनको भनाइ छ । ‘महावीरको बानी त थाहा नै होला, मलाई साथ देउ, चन्दा देउ केही भन्दैनँ, आफ्नो काम गर्छु,’ पुनले भने ।
दुई दिन धवलागिरी गाउँपालिकामा आत्मकथा बेच्दै चुनावी प्रचार गरेका पुनको टोली बिहीबार मालिका गाउँपालिका–२, रुम गाउँपुगेर चुनावी गतिविधि गर्ने महावीर पुन चुनावी अभियानका चित्र तिलिजाले बताए ।
स्वतन्त्र उम्मेदवार बनेका पुनको चुनाव चिह्न यकिन भइसकेको छैन । उनले पुस्तक बिक्रीसँगै चुनावी अभियानलाई पनि एकसाथ अघि बढाइरहेका छन् । चुनाव चिह्न पाएपछि अभियान थप तीव्र बनाउने तिलिजाको भनाइ छ ।
एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा अन्य एकजना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् । निर्वाचनका लागि जिल्लामा ८२ वटा मतदान स्थल र १२० मतदान केन्द्र कायम गरिएको छ ।