Connect with us

राजनीति

परराष्ट्रविद्को प्रस्टोक्ति ‘अकाट्य प्रमाण छन् लिपुलेक हाम्रो हो’

Published

on

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग नेपालको भूमि लिपुलेकका सन्दर्भमा संवाद अघि बढाएको स्वागत गर्दै विज्ञहरूले प्रमाणका आधारमा त्रिपक्षीय विमर्श गर्न सुझाव दिएका छन् । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव र प्रधानमन्त्री ओलीको चीन भ्रमणः एक कोसेढुङ्गा शीर्षकमा ‘फ्रेन्ड्स अन दी क्लाउड’ ले आयोजना गरेको अन्तरसंवादमा परराष्ट्रविद्हरूले लिपुलेक नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग जोडिएको विषय भएको प्रस्ट पारेका हुन् ।

साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन प्रधानमन्त्रीको सहभागिताबारे बोल्दै जापानका लागि पूर्वनेपाली राजदूत डा. विष्णुहरि नेपालले द्विपक्षीय संवादमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठेको र यो कोसेढुङ्गाका रूपमा स्थापित हुने बताए । उनले भने, “दुईपक्षीय संवादपछि लिपुलेकको विषय कसरी अघि बढ्छ भन्ने कुरा महत्वपूर्ण छ । काली नदीलाई सन् १८२७ कै नक्सामा नेपालतर्फ देखाइएको हो । चीनसँग सन् १९६२ को सीमासम्बन्धी प्रोटोकल र सन् १९८८ को सीमा प्रोटोकल संवाद भयो । भारतको पुरानो नक्सामा लिपुलेकको भाग छैन । भारतसँग प्रमाण छैन । सन् १९५० को सन्धिले पनि यो कुरा प्रस्ट गर्छ ।”

डा. नेपालले भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूले तत्कालीन राजा महेन्द्रलाई लेखेको पत्र सार्वजनिक गर्नुपर्ने बताए । उनले भने, “नेहरूको पत्रले सबै विषय प्रस्ट हुन्छ । त्यो पत्र चीनलाई पनि दिनु पर्छ ।” उनले सार्कलाई प्रभावकारी बनाउने, चीनलाई पनि सार्कमा समावेश गर्ने र एसियाली शताब्दीलाई सहयोग पु¥याउने गरी लाग्नुपर्ने बताए  ।

अस्ट्रेलियाका लागि नेपालका पूर्वराजदूत महेश दाहालले लिपुलेकका बारेमा कूटनीतिक वार्तामार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । उनले प्रधानमन्त्री ओली र परराष्ट्र मन्त्रालयले पनि संवाद अघि बढाइसकेको सन्दर्भमा नेपालको विकासका चुनौती छिचोल्दै पहिलो अर्थतन्त्र बन्ने यात्रामा अघि बढिरहेको चीनसँग सहकार्य गर्नका लागि पनि चीन नेपालको साथमा उभिनुपर्ने सुझाए । नीति अनुसन्धान प्रतिष्‍ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले चीनले नेपालप्रति सद्भाव वृद्धि गर्नुपर्ने बताए । उनले भने, “कालापानी हाम्रो हो । अकाट्य प्रमाण छन् । नेपालले भारतलाई संवादका लागि बसौँभन्दा नबस्ने कारण पनि नेपालसँग भएका ऐतिहासिक प्रमाण नै हुन् । अङ्ग्रेज शासककै प्रवृत्ति जस्तो गर्नुभएन । सिमाना सार्ने काम गर्न गलत हुन्छ ।”

उनले आठ वटा ऐतिहासिक नक्साका आधारमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने पुष्टि हुने बताउँदै नेपालको भूमि भारतले मिच्दै गर्दा चीनले पनि सहायता गर्न नहुने भनाइ राखे । उनले चीनले भारतसँग लिपुलेकको विषयमा भएको सहमतिका सन्दर्भमा पुनर्विचार गर्नुपर्ने बताए । उनले भने, “कालापानी, लिम्पियाधुरा र लिपुलेकका सन्दर्भमा हामी एक हुनु पर्छ । राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग जोडिएको विषय हो यो । नेपालले चीन र भारतसँग बसेर समाधान खोज्नु पर्छ ।”

नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनालले एससिओ शिखर सम्मेलनमा प्रधानमन्त्रीको उपस्थिति महत्वपूर्ण र उपलब्धिमूलक भएको बताए । उनले भने, “प्रधानमन्त्रीले चीनका राष्ट्रपति सीसँगको भेटमा हिमालय र भूपरिवेष्ठित देशले भोगेका समस्या उठाउनुभयो । क्षेत्रीय विषयसँगै राष्ट्रिय हितलाई केन्द्रमा राखेर संवाद भयो । महत्वपूर्ण विषय उठेका छन् ।”

खनालले प्रधानमन्त्री ओलीले सीसँग नेपालको ३७० वर्गकिलोमिटर भूभागका सन्दर्भमा कुरा उठाउनुभएको बताउँदै सीमाको विषयमा वस्तुगत बहस गर्न पनि आलोचकलाई सुझाव दिए । उनले नेपालको भूमिका सन्दर्भमा भारतसँग चीनले सम्झौता गर्दा ध्यान पुर्याउनै पर्नेमा जोड दिए  । उनले भने, “प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय स्वार्थको प्रतिनिधित्व गर्दै राष्ट्रपति सीसँगको भेटवार्तामा राखेका विषय कुनै न कुनै रूपमा प्रतिविम्बित हुन्छन् । हामीसँग प्रमाण छन् । प्रमाण राखेर कुरा गर्नु पर्छ ।” साथै उनले नेपाल चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभमा सामेल नहुने प्रस्ट पारे ।
गोरखापत्र

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.