Connect with us

राजनीति

हाजिरी जमानीमा छाडिएका एमाले नेता महरलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर

Published

on

साइबर अपराधको मुद्दामा खोजेको समयमा उपस्थित हुने सर्तमा परिवार र कानुन व्यवसायीको जमानीमा छाडिएका एमाले केन्द्रीय सदस्य ऐन महरलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालत, काठमाडौैंमा सोमबार साइबर अपराधको मुद्दा दायर गरेको हो ।

सत्ताकै संरक्षणमा महरलाई हिरासतमै नराखी अनुसन्धान गरिएको भन्दै आलोचना भएका वेला उनलाई अर्को सुविधा दिइएको हो । उनी गत ११ भदौमा प्रहरीमा उपस्थित भई बयान दिएर केही घण्टामै छुटेका थिए । खोजेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा उनलाई छाडिएको थियो । तर, मुद्दा दर्ता हुने वेला उनलाई नियन्त्रणमा नलिई फरार बनाएर मुद्दा दायर गरिएको छ ।

काठमाडौंका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले महर उपस्थित नभएकाले फरार प्रतिवादीका रूपमा अभियोगपत्र दर्ता गरिएको दाबी गरे । जबकि जमानी लिएका व्यक्तिहरूलाई समेत प्रहरीले यसमा जिम्मेवार बनाउन सक्छ ।

यसअघि तीनकुनको आन्दोलन हिंसात्मक बनाएको आरोपमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणा सर्वोच्चको आदेशअनुसार हाजिरी जमानीमा छुटेका थिए । तर, सर्त पालना नगरेको भन्दै प्रहरीले उनीहरूका कानुन व्यवसायीलाई जरिवानासमेत तोकेको थियो । मुद्दा दायर हुने समयमा उपस्थित नभएको भनेर उनीहरूका कानुन व्यवसायीलाई जरिवाना तोकिएको थियो । तर, महरको हकमा भने उनलाई सहज हुने अवस्थामा अदालतमा उपस्थित हुने गरी मुद्दा दर्ता गरिएको छ ।

फेसबुकमा लाइभ गरेर आफूलाई चरित्रहीन भएकोलगायत आरोप लगाएको भन्दै महरविरुद्ध एक युवतीले जाहेरी दिएकी थिइन् । प्रहरीले सुरुमा जाहेरी दर्ता गर्न अस्वीकार गरेकोमा पछि सरकारी वकिलमार्फत दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो । ती युवतीले महरविरुद्ध दिएको बलात्कारको जाहेरी भने सरकारी वकिलको कार्यालयले तामेलीमा राखेको छ ।
नयाँ पत्रिका

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.