Connect with us

अर्थ

माटोमै खेलेर मासिक तीन लाख

Published

on

कृषि कर्मबाटै मासिक तीन लाख रुपियाँ कमाउन सकिन्छ भन्ने उदाहरण गुल्मी, रेसुङ्गाका ४६ वर्षीय प्रेम नेपाली बनेका छन् । उनले माटोमै खेलेर मासिक तीन लाख रुपियाँ आम्दनी गर्छन् ।

एक दशकदेखि कृषि कर्ममा लागेका नेपालीले आरएनपी एग्रो फार्ममार्फत तरकारीको व्यावसायिक खेती गर्दै आएका छन् । उनले १४० रोपनी जग्गा भाडामा लिएका छन् । उक्त जग्गामा २६ वटा प्लास्टिकका टहरा ९टनेल० मा विभिन्न किसिमका तरकारी उत्पादन गर्नुका साथै धानखेती तथा माछापालन गर्दै आएका छन् ।

५० रोपनी जग्गामा हाइब्रिड र जिटेन जातको धान खेती गरेका छन् । तीन वटा पोखरीमा पालिएका माछामा करिब छ हजार भुरामध्ये अहिले ग्रेडिङ गरेर ७० किलो बिक्री भइसकेको छ । उनको फार्ममा स्थानीय जातका १२० वटा कुखुरा छन् । तीन माउमार्फत बङ्गुरपालनलाई पनि उनले अगाडि बढाइरहेका छन् । मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा पनि उनले जोड दिइरहेका छन् । नेपालीले गोपी, खर्बुजा, काँक्रा, घिरौँला, लौका, ब्रोकाउली, टमाटर, सिमी, बोडी गरेर दैनिक तीन क्विन्टल तरकारी बिक्री भइरहेको बताए । मौसम अनुसार स्ट्रबेरी र सयपत्री फूलमार्फत पनि राम्रो आम्दानी गरिरहेका छन् ।

गत वर्ष प्रतिकेजी छ सय रुपियाँमा दुई क्विन्टल स्ट्रबेरी बिक्री गरेका नेपालीले अहिले पाँच क्विन्टल बिक्री गर्ने योजना बनाएका छन् । उनले बिक्री नभएको तरकारी र सफाइ गर्दा आउने तरकारीका पात बङ्गुर र माछाका लागि प्रयोग गरेका छन् । सात सय रुपियाँ किलोमा माछा बिक्री गर्दै आएका छन् । वर्षमा दुई पटक ब्याउने भएकाले बङ्गुरका पाठा बिक्रीबाट डेढ लाख आम्दानी हुने गरेको छ ।

गत वर्ष स्थानीय बजारका साथै तम्घास, बुटवल र काठमाडौँसम्म गरी १२० मुरी धान बिक्री गरेर करिब एक लाख २० हजार रुपियाँ आम्दानी गरेको उनले बताए । फार्ममा नेपालीका श्रीमती, छोरासहित अन्य तीन जना श्रमिकले काम गर्छन् । तरकारी र अन्नबाली मौसम अनुसार अन्य धेरै जनाले काम पाइरहेका छन् । काष्ठकलामा समेत अब्बल नेपालीलाई परदेश मोह जागेन ।

उनले भने, “किसानका आफ्नै पीडा र व्यथा छन् । नेपाली माटोमा पसिना बगाएर अहिलेसम्म मासिक तीन लाख कमाइ भइरहेको छ ।” नेपालीले कृषि ज्ञान केन्द्र्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र र रेसुङ्गा नगरपालिकाबाट विभिन्न किसिमका आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको बताए ।

व्यावसायिक तरकारी खेती गर्नुअघि प्रेम नेपालीले दुध बेच्थे । २०७२ तिरको कुरो हो, उनले रेसुङ्गा नगरपालिका–६, सिमाहघाटमा १८ रोपनी जग्गा भाडामा लिएर गाईभैँसी पालन र आलु खेती थाले । त्यतिबेला तीन वटा भैँसी र दुई वटा गाईबाट दैनिक ३० लिटर दुध उत्पादन हुन्थ्यो ।

नजिकका सहकारीमा दुध बिक्रीको प्रस्ताव गर्दा नलिने कुरा गरेपछि नेपाली आफैँले दुध बोकेर तम्घास बजार पु¥याउन थाले । तम्घासमा चार वर्ष दुध बेचेपछि चिनजान र जात खुल्दै गयो अनि धेरैले विभिन्न बहाना बनाएर दुध किन्न छोडे । उनले भने, “सहकारीले जात हेरेर दुध राख्न मानेन । बजारमा पनि बिस्तारै समस्या देखिएपछि मन भाँचिएर दुध छोडेर तरकारीतिर काम गर्न थालेँ ।”
टोपलाल अर्याल/गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.