Connect with us

समसामयिक

एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट

Published

on

नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ । गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका सात जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मास्क लगाएर आएका दुई जनाले उनीहरुलाई घरभित्रै ६ घण्टा बाँधेर लुटपाट गरेका हुन् । उनीहरुले आइफोन मोबाइल एक थान र रेडमि मोबाइल दुई थान र सुनका बाला लुटेका परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घरका अन्य सामान भने चोरी नभएको बताइएको छ ।

प्रहरीका अनुसार सिसीटिभी फुटेजमा दुई जना मास्क लगाएका मान्छे देखिएका छन् । प्रहरीले उनीहरु ज्यान मार्ने उद्देश्यले आएको आशङ्कामा अनुसन्धान तीव्र पारेको नेपालले बताउनुभयो । साँझ ७ बजेदेखि बन्धक बनाइएकोमा राति १ बजेतिर हारगुहार मागेपछि उनीहरु भागेका थिए ।

पीडित खड्काका अनुसार उनीहरुले वृद्ध बुवा आमा, श्रीमती, छोराछोरी र बहिनीसमेतलाई नियन्त्रणमा लिई आफूहरु सामाजिक अभियन्ता भएको र स्थानीय मिटरब्याजीहरुको खोजी र कारबाहीका लागि आएको भन्ने आशय व्यक्त गरेका थिए ।

उनीहरुको धाकधम्कीका कारण आफूहरु डराएको र लामो समयपछि आफ्नो टाउकोमा मुक्काले हानेपछि परिवारका सबैले एकसाथ प्रतिकार गर्दा मोबाइल र श्रीमतीको सुनको बाला लुटेर भागेको खड्काले बताए । जिल्ला प्रहरी कार्यालय नवलपुरबाट झण्डै १ किलोमिटरको मात्र दूरीमा झिसमिसो साँझमा भएको उक्त घटनापछि त्रासको वातावरण सिर्जना भएको स्थानीय कपिलदेव भुसालले बताए।
बोमलाल गिरी/गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.