Connect with us

समसामयिक

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता सहितको सुरक्षा व्यवस्था

Published

on

जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएकी छन् ।

निर्वाचनको मुखमै सरुवा भएर झापा आएकी प्रहरी उपरीक्षक खड्काले आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुरक्षा तयारी र प्राथमिकताबारे जानकारी गराएकी हुन् । कार्यक्रममा उनले सुरक्षा संवेदनशीलता तथा उम्मेदवारको सुरक्षा जोखिमको मूल्याङ्नका आधारमा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिइन । कुनै पनि उम्मेदवारले आफ्नो सुरक्षामा चुनौती महसुस गरी निवेदन दिएमा आवश्यकताअनुसार तत्काल सुरक्षा उपलब्ध गराइने स्पष्ट पारिन ।

निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लामा १०० जना सुरक्षाकर्मी थप गरिएको र उनीहरू सडक, गाउँघर तथा संवेदनशील क्षेत्रमा परिचालन भइसकेको उनको भनाइ छ । थप सुरक्षाकर्मीको उपस्थितिलाई शङ्काको रूपमा नलिन आग्रह गर्दै उहाँले सबै सुरक्षाकर्मी सुरक्षा योजनाअनुसार परिचालित भइरहेका बताइन । आवश्यकताअनुसार थप सुरक्षाकर्मीसमेत खटाइने उनले उल्लेख गरिन ।

नियमित गस्तीका क्रममा कुनै उम्मेदवारसँग सम्बन्धित व्यक्तिको आसपास सुरक्षाकर्मी देखिनु संयोग मात्र हुनसक्ने जनाउँदै त्यसलाई विशेष सुरक्षा दिइएको अर्थमा नबुझ्न उनले आग्रह गरिन । साथै, हराएका हतियारको खोजी कार्य निरन्तर जारी रहेको जानकारी दिँदै ती हतियार प्रयोगमा नआउने सुनिश्चित गर्न प्रहरीले खोजी तीव्र बनाएको उनले बताएकी छन् ।

यसअघि म्याग्दी र काभ्रे जिल्लाको कमाण्ड सम्हालिसकेको अनुभव स्मरण गर्दै प्रहरी उपरीक्षक खड्काले झापामा शान्ति सुव्यवस्था सुदृढ बनाउने, अपराध न्यूनीकरण तथा नियन्त्रणसँगै खुला सीमाबाट हुने चोरी निकासी, लागुऔषध ओसारपसार र मानव बेचबिखनजस्ता अवैध गतिविधि नियन्त्रण प्रहरीको प्रमुख दायित्व भएको बताइन । नेपाल प्रहरीले दिएको म्याण्डेट पूर्णरूपमा कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.