राजनीतिक कोटामा नियुक्त छ जना राजदूतलाई सरकारले फिर्ता बोलाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सरकारले छ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको पुष्टि गरेका छन् ।
राजनीतिक ‘कोटा’मा नियुक्त भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका र श्रीलंकाका नेपाली राजदूतलाई सरकारले फिर्ता बोलाएको हो ।
डा. शंकर शर्मा (भारत), चित्रलेखा यादव (अस्ट्रेलिया) , सुम्निमा तुलाधार (डेनमार्क) शिवमाया तुम्बाहाङ्फे (दक्षिण कोरिया), कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका) र पूर्णबहादुर नेपाली (श्रीलंका) कांग्रेस, एमालेको राजनीतिक कोटामा राजदूत नियुक्त भएका थिए ।
गत आइतबार (चैत २२) को मन्त्रिपरिषद्को बैठकले राजनीतिक कोटामा नियुक्त छ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यही निर्णयमा टेकेर परराष्ट्र मन्त्रालयले उनीहरूलाई एक महिनाभित्र फर्कन भन्दै हिजो सोमबार (चैत २३) पत्र पठाएको छ ।