Connect with us

समसामयिक

काठमाडौं महानगरले सीप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई ‘अन द जब’ दिने

Published

on

काठमाडौँ महानगरपालिकाले सीप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई मासिक न्युनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारी साधन मर्मतको ‘अन द जब’ का लागि पठाउने भएको छ ।

यसका लागि महानगरपालिका र चाँगुनारायण फाउन्डेसनबीच सम्झौता भएको छ । महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र फाउन्डेसनका तर्फबाट अध्यक्ष मनिराज खत्रीले हस्ताक्षर गर्नुभएको सम्झौता मंगलबार उपप्रमुख सुनिता डंगोल र सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. को रोहवरमा आदान प्रदान भयो । 

सम्झौतापछिको प्रतिक्रियामा उपप्रमुख सुनिता डंगोलले भने, ‘साझेदार सबैको भूमिका जोडेर साझा लक्ष्य पूरा गर्न सकिन्छ । हामी वहुसाझेदार कार्यक्रममा पनि खुला छौँ । यसबाट दिगो नतिजा निकाल्न सकिनेमा विश्वास राखेका छौँ ।’

गएको वर्ष महानगरपालिकाले सिप मेलाबाट प्रदान गरेको अटो इलेक्ट्रिकमा ४० जना इलेक्ट्रिकल भेहिकल (इभी) मा ६० जना गरी १ सय जनाले १ महिने तालिम लिएका थिए । उनीहरुमध्ये सबैलाई सम्पर्क गर्दा ५० जनाले रोजगारीमा जान इच्छा देखाए । अरुबाट रोजगार र स्वरोजगारमा भएको सूचना प्राप्त भयो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार इच्छुक ५० जनामध्ये ३० जना छनोट गरेर ‘अन द जब ट्रेनिङ्’ मा पठाइनेछ । यसरी पारिश्रमिकसहितको तालिम र रोजगारीका लागि निजी तथा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् । सम्झौता गरेर प्रतिवद्धतालाई कार्यान्वयनमा लगिनेछ ।  

फाउन्डेसनसँग २०८३ असार मसान्तसम्मका लागि सम्झौता भएको हो । यसबमोजिम प्रशिक्षार्थीलाई आधारभूत तालिम दिएर महानगरपालिकाले ‘अन द जव ट्रेनिङ्’ का लागि शिफारिस गर्नेछ । यसपछि कार्यस्थलमा सिप सिक्ने प्रबन्धको संयोजन फाउन्डेसनले गर्नेछ । यसरी कार्यस्थलमा सिप सिक्ने प्रशिक्षार्थीले मासिक कम्तीमा १८ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन् । जसमा कार्यस्थल रहेको उद्योगबाट ९ हजार रुपैयाँ र फाउन्डेसनले ९ हजार रुपैयाँ प्रदान गर्नेछन् ।   

सिपमूलक तालिमबाट पेशा र व्यापार सिकाउन ‘अन द जब ट्रेनिङ्’ कार्यक्रम सञ्चालनमा निजी, उद्योग वाणिज्य तथा साझेदार संघ संस्थाको सहकार्यका विषयमा परामर्श वैठक सम्पन्न भएको छ । यस कार्यक्रममा सिपमूलक तालिमको २० प्रतिशत भार कक्षा कोठामा सैद्धान्तिक र ८० प्रतिशत भार विषयसँग सम्बन्धित उद्योग र पेशाको कार्यस्थलमा गएर व्यवहारिक सिप सिक्नुपर्छ । कार्यस्थलमा सिप सिक्दा पारिश्रमिक पनि उपलब्ध गराइन्छ । गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत अप्रेन्टिसिप कार्यक्रम सञ्चालन हुनेछ । 

वैठकमा उद्योग, वाणिज्य तथा निजी क्षेत्र र साझेदार संघसंस्थाका प्रतिनिधिहरुबाट प्राप्त गुनासा र सुझावहरुको सम्बोधन गर्दै उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘सबैको प्रयत्न र सहभागिताबाट मात्र कार्यक्रममा नतिजा प्राप्त गर्न सकिन्छ । यसका लागि हामी सम्बद्ध क्षेत्रका कुरा सुन्न खुला छौँ । यसरी आउने प्रतिक्रियाको निचोडबाट तर्जुमा गरिने कार्यक्रम दिगो र लाभदायी हुन्छ । यसमा सहकार्य गर्न पनि हामी खुला छौँ ।’

बैठकमा उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिहरुले आफूहरुलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नमा शैक्षिक प्रतिष्ठानहरुबाट ध्यान नपुगेको गुनासो गरे । ‘तालिम नलिएका व्यक्तिलाई काममा राखेर सिप प्रदान गर्छौँ । सिप प्राप्त गरिसकेपछि ऊ वैदेशिक रोजगारीको सपना बनाउँछ ।’ समस्या सुनाउँदै उनीहरुले भने, ‘सिपमूलक तालिम पाएका व्यक्तिलाई रोजगारी दिन, तालिमसँगै रोजगारी दिन आफूहरु प्रतिवद्ध छौं ।’

छलफलमा दक्षता प्रमाणीकरण, दक्ष जनशक्तिमा आउने वैदेशिक रोजगारीप्रतिको मोहलाई आन्तरिक उत्पादनमा रुपान्तरण गर्ने योजना, शैक्षिक प्रतिष्ठानले उद्योग र पेशाको आवश्यकतासँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने कार्यक्रम, आधारभूत र विशिष्टकृत तालिमको पाठ््यक्रम लगायत विषय समेटिएका थिए । उहाँहरुबाट औपचारिक शिक्षासँगै तालिम सञ्चालन हुनु पर्ने, तालिम पाएकाहरुलाई अवसर उपलब्ध गराउनु पर्ने, आर्थिक गतिविधिमैत्री वातावरण सिर्जना गर्नु पर्ने, लगानीका लागि सुरक्षित र उचित माध्यम उपलब्ध हुनुपर्ने, तालिम प्राप्त व्यक्तिहरुको श्रम बजारसँग सहज पहुँच हुनुपर्ने, स्थानीय र विश्वव्यापी श्रम बजारका विषयमा तालिमसँगै शिक्षा दिनु पर्ने सुझाव प्राप्त भएको बताइएको छ । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.