Connect with us

अन्तर्राष्ट्रिय

अमेरिका र युक्रेनबीच युद्ध अन्त्य गर्न ‘समझदारी’, पुटिनलाई भेट्दै ट्रम्पका दूत

Published

on

युक्रेनले रूससँगको युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको शान्ति सम्झौतामा अमेरिकासँग साझा समझदारी कायम भएको बताएको छ । यो प्रस्ताव गत हप्ता अमेरिकाले युक्रेनलाई प्रस्तुत गरेको २८ बुँदे योजनामा आधारित रहेको उल्लेख छ, जसमाथि अमेरिकी र युक्रेनी अधिकारीहरूले केही दिनअगाडि जेनेभामा भएको वार्ताका क्रममा संशोधन गरेको जानकारी दिइएको छ ।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रारम्भिक योजनालाई दुवै पक्षका थप सुझावसहित सुधार गरिइएकोे बताएका छन् ।ट्रम्पले आफूले विशेष दूत स्टिभ विटकोफलाई मस्कोमा राष्ट्रपति पुटिनसँग भेट्न निर्देशन दिएको बताएका छन् । सोही समयमा सैन्य सचिव ड्यान ड्रिस्कोलले युक्रेनीहरूसँग भेट्ने जानकारी दिएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख स्टाफले ड्रिस्कोलले यसै हफ्ता किभ भ्रमण गर्ने अपेक्षा गरिएको छ । क्रेमलिनले यसअघि नै नयाँ मस्यौदा सम्झौता रूससँग छलफलबिना तयार गरिएको बताएको थियो । गत हप्ताको योजनामा भएका संशोधनहरू स्वीकार नगर्ने चेतावनी दिएको थियो ।

रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मस्को प्रारम्भिक अमेरिकी ढाँचाको पक्षमा रहेको तर यसमा ठूला परिवर्तन भए स्थिति अमान्य हुने बताएका छन् । लाभरोभले हिजो मंगलबार बिहानसम्म क्रेमलिनले नयाँ योजनाको प्रतिलिपि प्राप्त नगरेको दाबी गर्दै युरोपले अमेरिकी शान्ति प्रयासलाई कमजोर पारेको आरोप लगाएका छन् ।

अमेरिकी अधिकारीहरूले रूसको चिन्तालाई सार्वजनिक रूपमा सम्बोधन गरेका छैनन् । यद्यपि, अमेरिकी सैन्य सचिव ड्यान ड्रिस्कोल र रूसी प्रतिनिधिहरूबीच सोमबार र मंगलबार अबुधाबीमा बैठक भएको छ ।

मुख्य विवादका विषयहरू अझै टुंगो लागेनन्
रूस र युक्रेनबीच अझै पनि केही गम्भीर मतभेदका मुद्दाहरू बाँकी छन् । विवादित विषयमा किभका लागि सुरक्षा सुनिश्चित र युक्रेनको पूर्वी क्षेत्रमा रहेका धेरै विवादित भूभागहरूको नियन्त्रणलगायत छन् ।

जेलेन्स्कीले मंगलबार संवेदनशील बुँदाहरूमा छलफल गर्न ट्रम्पसँग भेट्न तयार रहेको बताएका छन् । उनको प्रशासनले यो भेट यस महिनाभित्रै गर्ने लक्ष्य राखेको छ । जेलेन्स्कीले अमेरिकी पक्ष र राष्ट्रपति ट्रम्पसँग थप सक्रिय सहयोगको अपेक्षा रहेको बताउँदै रूसले अमेरिकी शक्तिलाई सबैभन्दा बढी महत्व दिने भएकाले धेरै कुरा अमेरिकामै निर्भर रहने बताएका छन् ।

ह्वाइट हाउसले द्विपक्षीय वार्ताको सम्भावनाबारे कुनै टिप्पणी गरेको छैन । तर, ट्रम्पले सामाजिक सञ्जालमार्फत आफू जेलेन्स्की र पुटिनसँग चाँडै भेट्न उत्सुक रहेको बताएका छन् । तर, त्यो युद्ध अन्त्य गर्ने सम्झौता अन्तिम बन्ने वा अन्तिम चरणमा पुग्ने बेला मात्र सम्भव हुने ट्रम्पले प्रष्ट पारेका छन् ।

युरोपेली देशहरूको आशंका
ह्वाइट हाउसको आशा विपरीत, युरोपेली नेताहरूले लगभग चार वर्षको युद्धपछि शान्ति नजिकिएको सम्भावनाबारे शंका व्यक्त गरेका छन् । फ्रान्सका इमानुएल म्याक्रोनले युद्धविरामका लागि रूसी चाहना नदेखिएको बताएका छन् । बेलायतको डाउनिङ स्ट्रिट ९प्रधानमन्त्री कार्यालय०ले अझै धेरै लामो र कठिन यात्रा बाँकी रहेको चेतावनी दिएको छ ।

युक्रेनका युरोपेली सहयोगीहरूले मंगलबार म्याक्रोन र बेलायती प्रधानमन्त्री सर किएर स्टार्मरको अध्यक्षतामा भर्चुअल बैठक गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि सहभागी रहेको उक्त बैठकमा नेताहरूले शान्ति सम्झौता भएपछिको सुरक्षा ग्यारेन्टी सम्बन्धी कामलाई तीव्रता दिन अमेरिकासँग मिलेर एउटा कार्यदल गठन गर्ने सहमति जनाएका छन् ।

सुरक्षा सुनिश्चित गर्नु केवल मस्को र किभबीचको विवादको एक पक्ष हो । जेलेन्स्कीले सोमरबार शान्ति प्रक्रिया अवरुद्ध गर्ने मुख्य समस्या पुटिनले रूसले कब्जा गरेका क्षेत्रहरूको कानुनी मान्यता माग्नु रहेको बताएका छन् ।

मस्कोले लगातार पूर्वी डोनबासको सम्पूर्ण भागबाट युक्रेनी सेनाको फिर्ती माग गर्दै आएको छ । रूसी सेनाले क्राइमिया प्रायद्वीपसहित खेरसन र जापोरिज्जियाका ठूलो भागलाई नियन्त्रणमा राखेको छ ।
बीबीसी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.