Connect with us

राजनीति

मधेश प्रदेशमा सत्ताको घृणित खेल, ठूलो दलका आधारमा एमालेका सरोज यादव मुख्य मन्त्री नियुक्त

Published

on

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा नै छलाङ हानेर नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छन् । मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा एमाले नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । रोचक के भने यादवलाई हिजो आइतबारकै मितिमा नियुक्ति पत्र दिइएको छ ।

प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै आज बिहानै जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी थिइन् । मुख्यमन्त्री सोनलले उनलाई स्वास्थ्य लाभको कामना गर्दै बिदाइ गरेका थिए । त्यसक्रममा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै सोनलले प्रदेश प्रमुख भण्डारी स्वस्थ भएपछि थप राजनीतिक प्रक्रिया अघि बढ्ने बताएका थिए । ‘उहाँको छिट्टै स्वास्थ्य लाभ होस्, त्यसपछि राजनीतिक प्रक्रिया अघि बढ्छ,’ मुख्यमन्त्री सोनलले भनेका थिए ।

तर लगत्तै प्रदेश प्रमुख भण्डारीले एमाले दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भएको हो । जनकपुरबाट काठमाडौँ जान भनेर हिँडेकी प्रदेश प्रमुख भण्डारीले बर्दिवासको होटलमा मुख्यमन्त्री यादवलाई शपथ गराएकी थिइन । निवर्तमान मुऋय मन्त्री सोनल संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका थिए । उनको राजीनामा स्वीकृत गरे पनि प्रदेश प्रमुख भण्डारीले सरकार गठनको आह्वान गरेकी थिइनन् ।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने आशंका मुख्यमन्त्री सोनलसहित गठबन्धन दलका नेताहरुले गरेका थिए । यही आशंकाका साथ गठबन्धनका नेता–कार्यकर्ताहरुले हिजो आइतबार प्रदेश प्रमुख कार्यालय र मधेश भवन अगाडि नाराबाजी गर्दै संविधानको धारा १६८ को २ बमोजिम नै सरकार गठन गर्न माग गरेका थिए । तर, जे आशंका गरिएको त्यही चोरबाटोबाट भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.