Connect with us

समसामयिक

जुम्लामा जाडोले जनजीवन प्रभावित

Published

on

हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । जाडो बढ्दै जाँदा खानेपानीका धाराका पानी ठोसमा परिणत भएको छ । चिसोले पानीका पाइप फुट्न थालेका छन् ।

पिउने पानी आउन छाडेपछि यहाँका नागरिकले बढी सास्ती खेप्नुपरेको छ । हिउँदे याममा नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको चन्दननाथ नगरपालिकाका स्थानीयवासी सुनिता बुढाले बताइन। माघमा चिसो बढ्दै गएपछि विशेषगरी जुम्लालगायत माथिल्लो कर्णालीका मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो ।

जुम्लाको न्यूनतम तापक्रम यतिबेला माइनस ०.७१ डिग्री सेल्सियसमा झरेको छ । तीन दिनसम्म मौसम बढलिने सम्भावना रहेको जल तथा मौसम कार्यालय जुम्लाका प्रमुख आशामपूरा कार्कीले जानकारी दिए । “चिसो बढ्ने क्रम जारी छ”, प्रमुख कार्कीले भने, “हिमपात भएपछि निकै जाडो बढेको छ । नागरिकको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।”

कठ्याङ्ग्रिने जाडो नघट्दासम्म हिमाली बासिन्दाको खासगरी बिहान र बेलुकाको दैनिकी अझ बढी कठिन हुने कार्यालय प्रमुख कार्कीको भनाइ छ । करिब दुई हजार पाँच उपभोक्तामार्फत २२ हजारभन्दा बढी नागरिकलाई खानेपानी सेवा दिइरहेको खलङ्गा खानेपानी उपभोक्ता समितिको कार्यालयले जनाएको छ ।

हिमपात हुँदा किसान खुसी

जुम्ला लगायत माथिल्लो कर्णालीका जिल्लामा हिमपात भएसँगै यहाँका किसान खुसी भएका छन् । यो वर्षको पहिलो हिउँ माघ महिनाको दोस्रो सातामा परेपछि किसानले लगाएको हिउँदे बालीलाई निकै राम्रो हुने जुम्लाको तिला गाउँपालिका–१ स्थानीयवासि लङ्क बुढाले जानकारी दिए ।

अत्यधिक चिसो मौसममा यो वर्षको हिउँदे याममा जुम्लामा हिमपात भएपछि किसानले लगाएको हिउँदे बालीनाली निकै राहत पुगेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।

स्याउका नयाँ बिरुवा लगाउने समय भएकाले हिउँ पर्दा सहज भएको यहाँका किसान बताउँछन् । हिमपातपछि जुम्लाका डाँडाकाँडा सेताम्मे बनेका छन् । लामो समयपछि हिउँ परेपछि यहाँका स्थानीयवासी हिउँसँगै फोटो र भिडियो बनाउनमा व्यस्त हुने गरेका छन् ।

लामो समयदेखि हिमपात नहुँदा सुक्न थालेको हिउँदे बालीमा राहत पुगेपछि स्थानीय किसानले राहत महसुस गरेका छन् । यसले गहुँ, जौ, आलुलगायत हिउँदे बालीलाई फाइदा पुग्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । हिमपातले अवरुद्ध भएको हवाई सेवा आइतबारबाट सञ्चालनमा आएको नागरिक उडान कार्यालय जुम्लाले जनाएको छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.