Connect with us

अर्थ

खानेतेल भारत निकासी हुँदा नेपालमा महँगो

Published

on

पछिल्लो छ महिनामा खानेतेलको भाउ प्रतिलिटर ४० रुपियाँसम्म वृद्धि भएको छ । नेपालमा उत्पादित तेल भारतमा निर्यात हुने क्रम बढेसँगै बजारमा खानेतेलको भाउ ह्वात्तै बढेको हो ।

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो छ महिनामा खानेतेलको भाउ प्रतिलिटर २५ देखि ४० रुपियाँसम्म बढेको छ । गत फागुनमा प्रतिलिटर ३७० रुपियाँमा बिक्री भएको भुटेको तोरीको तेलको मूल्य अहिले प्रतिलिटर ४१० रुपियाँ पुगेको छ । यस्तै यस अवधिमा काँचो तोरीको तेलको मूल्य प्रतिलिटर ३१० रुपियाँबाट बढेर ३५० रुपियाँ, भटमास र सनफ्लावर तेल प्रतिलिटर २१० रुपियाँबाट बढेर २५० रुपियाँ पुगेको छ ।

नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा खानेतेलको मूल्य बढेको बताए । तेलको भाउ बढेको छ तर यसको कारण भने भेटिँदैन, बिनाकारण भाउ बढाउनेको अनुगमन हुनुपर्ने उनको भनाइ छ । अध्यक्ष वज्राचार्यले सरकारको अनुगमन टोली सधैँ साना खुद्रा पसलमा सीमित हुँदा बजार अनुगमनले परिणाम आउन नसकेको आरोप लगाए । चाडपर्व नजिकिएसँगै खाद्यवस्तुको भाउ महँगो भएको र आफूहरूका लागि यो नौलो नभएको उनले खुलाए ।

तेल उत्पादक उद्योगीले भने खानेतेल भारतमा निर्यात गरेर मूल्य बढेको नभई विश्वभर नै कच्चा पदार्थको मूल्यवृद्धि भएका कारण थोरै बढेको दाबी गर्दै आएका छन् । नेपालमा वस्तु मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक कच्चा पदार्थ आउने हुँदा भारतमा बढ्नेबित्तिकै नेपालमा त्यसको असर पर्ने गरेको उत्पादक उद्योगी जिकिर गर्छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक भरतप्रसाद आचार्यले अन्य खाद्यवस्तुको मूल्य सामान्य रहे पनि केही समययता खानेतेलको मूल्य बढेको गुनासो आएको जानकारी दिनुए । उनले विभागको अबका दिनमा हुने बजार अनुगमनमा खानेतेल उत्पादक उद्योगीसँग मूल्य बढ्नुको कारण प्रमाणित हुने बिलसहितको विवरण माग्ने बताए । राष्ट्रिय उपभोक्ता तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्मिसेनाले चाडपर्व नजिकिएसँगै बजारमा सबै प्रकारका उपभोग्य वस्तुको मूल्य बढ्ने भएकाले बजारमा माग र आपूर्तिबारे सरकार जिम्मेवार हुनुपर्ने बताए ।
सीता शर्मा/गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.