Connect with us

अर्थ

सशस्त्र प्रहरीका सुरक्षाकर्मीबाटै चिनी गायब

Published

on

नेपाल–भारत सीमावर्ती नाका बैरगनियाबाट अवैध रूपमा नेपाल भित्रिएको सात सय बोरा तस्करीको चिनी बरामद गरी भन्सारमा बुझाउने क्रममा गायब भएपछि सशस्त्र प्रहरी मुख्यालयले छानबिन थालेको छ । सशस्त्र प्रहरी मुख्यालयको कानुन महाशाखाले ११ नं. गण रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सन्तोष बस्नेतलाई हेडक्वार्टर तानेर अनुसन्धान सुरु गरेको हो । बस्नेतसँगै सशस्त्र प्रहरी नायब उपरीक्षक अमर लामा र राजेन्द्र बस्नेतलाई जिम्मेवारीबाट हटाएर छानबिन सुरु गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार गत साउन २९ गते रौतहटको गरुडा शिवनगरमा भन्सार छलेर ल्याइएको सात सय बोरा चिनी सीमा सुरक्षार्थ खटिएको सशस्त्रको टोलीले बरामद गरेको थियो । बरामद चिनी भन्सारमा बुझाउने क्रममा ५९४ बोरा बिचबाटोमै गायब पारी १०६ बोरा मात्र बुझाएको खुलेपछि एसपी बस्नेतसहित १९ जनामाथि सशस्त्रको कानुन महाशाखाले घटनाबारे विस्तृत अनुसन्धान गरी संलग्नमाथि कारबाही गर्ने तयारी छ ।

सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार उपेन्द्र सहनी नामका व्यापारीले भन्सार छलेर ल्याएको चिनी डिएसपीद्वय अमर लामा र राजेन्द्र बस्नेतको टोलीले गोदाममा छापा मारी बरामद गरेको थियो । गोदामबाट बरामद सात सय बोरा चिनी दुई वटा ट्रकमा लोड गरी भन्सार कार्यालयमा बुझाउने क्रममा बाटोबाटै गायब पारी जम्मा १०६ बोरा मात्र भन्सारमा बुझाइएको पाइएको छ ।

व्यापारी सहनीसँग मिलेमतो गरी आर्थिक लेनदेनमार्फत ५९४ बोरा चिनी गायब पारिएको शङ्का छ । भलै यस विषयमा छानबिन भइरहेको शसस्त्र प्रहरीले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.