Connect with us

राजनीति

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

Published

on

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन सुरु गरिएको छ । नगरप्रमुख पूर्णप्रसाद आचार्यले सुकुमवासीका नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन सुरु गरिएको जानकारी दिए ।
हालसम्म नगरपालिकाको सम्पर्कमा ६० परिवार वास्तविक भूमिहीन सुकुमवासी आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
नगरप्रमुख आचार्यका अनुसार वडा नं ११ स्थित कोहलपुर नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गत करिब ३६ बिघा क्षेत्रफल (क्रिकेट मैदान आसपास) जग्गा अतिक्रमण गरी सात साय ५१ परिवार घरटहरा बनाएर बसिरहेका छन् । तीमध्ये अव्यवस्थित बासोबासी चार सय १६, भूमिहीन दलित एक सय ७२ र भूमिहीन सुकुमवासी एक सय ६३ जना रहेको उनले बताए ।
“बस्ती विकास तथा बसोबासका क्रममा केही व्यक्ति तथा विचौलियाको संलग्नतामा नक्कली कागजात तयार गर्ने, जग्गा किनबेच गराउने तथा आर्थिक लाभ लिने गतिविधि भएको भनेर उजुरी पनि आएका छन् । सो सम्बन्धमा सम्बन्धित निकायबाट अनुसन्धान जारी छ”, उनले भने ।
यसैबीच, नगर क्षेत्रका सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका वास्तविक सुकुमवासी तथा भूमिहीन दलितको पहिचान गर्न सुरु गरिएको छ । नगरपालिकाले एउटा अभिलेख व्यवस्थापन समिति गठन गरेर घरधुरीको अवस्था, बसोबास अवधि, आर्थिक अवस्था, अन्यत्र जग्गाजमिन भए नभएकोलगायत विषय अध्ययन गरिरहेको छ ।
त्यहाँ बसिरहेका परिवारको तथ्याङ्क सङ्कलन तथा कागजात प्रमाणीकरणको काम अघि बढाएको समितिका संयोजक सुनिता सुनारले जानकारी दिए। केही व्यक्तिले आफूलाई भूमिहीन दाबी गरे पनि अन्यत्र घरजग्गा रहेको तथ्य भेटिए त्यस्ता व्यक्तिलाई सूचीबाट हटाइने उनले बताए ।
“गत वर्ष उक्त स्थानका सात सय ५१ जना भूमिहीन सुकुमवासी र भूमिहीन दलितले फाराम भरे पनि पहिचान गर्दा भूमिहीन दलित एक सय ५३ जना र भूमिहीन सुकुमवासी एक सय ४१ जना रहेका छन्”, संयोजक सुनारले भने ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.