Connect with us

राजनीति

विश्वविद्यालयले भेटेन उपकुलपति

Published

on

कैलालीको गेटामा खुल्न लागेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दुई पटक दरखास्त आह्वान गरे पनि सम्भावित योग्य पात्र भेटिएको छैन । दुई पटकसम्म सार्वजनिक रूपमा सूचना आह्वान गर्दा पनि कसैले पनि आवेदन दिएको छैनन् ।

उपकुलपतिको योग्यता सम्बन्धमा विश्वविद्यालय ऐनले नै कडा प्रावधान तोकेका कारण उपयुक्त पात्र भेट्न नसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमान गरेको छ । मन्त्रालयले उपकुलपति नियुक्तिका लागि पहिलो पटक कात्तिक १६ गते १५ दिनको म्याद तोकेर दरखास्त आह्वान गरेको थियो । उक्त अवधिमा कसैले पनि आवेदन नदिएपछि पाँच दिनको म्याद तोकेर दोस्रो पटक आवेदन आह्वान गरेको थियो । दोस्रो दिनको म्याद मङ्सिर ५ गते (शुक्रबार) सकिएको छ ।

मन्त्रालयका अनुसार उपकुलपति नियुक्तिका लागि शुक्रबार एक जनाले आवेदन दिएका थिए तर आवश्यक योग्यता नपुगेको भन्दै मन्त्रालयले उक्त निवेदन अस्वीकार गरेको छ । विश्वविद्यालय ऐन, २०८२ को दफा २४ मा उपकुलपतिको योग्यता तोकिएको छ । जस अनुसार उपकुलपतिका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्सा शिक्षासँग सम्बन्धित कुनै विधामा विद्यावारिधि, डिएम, एमसिएच वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्ने छ । त्यसबाहेक कुनै पनि विश्वविद्यालयमा प्राध्यापक पदमा रही कम्तीमा १० वर्ष काम गरेको र नियुक्तिको समयमा ३५ वर्ष पूरा भई ६१ वर्ष ननाघेको हुनुपर्ने अर्को मापदण्ड ऐनले तोकेको छ ।

मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले ऐनले नै कडा मापदण्ड तोकेका कारण उपकुलपतिका लागि कसैले पनि दाबी नगरेको बताएका छन् । “ऐनले तोकेको योग्यता भएको पात्र बजारमा निकै थोरै छन् तर थोरै मात्र भएका त्यस्ता पात्रले काठमाडौँलगायत अन्य मुख्य सहरमै प्रशस्त व्यावसायिक सम्भावना देखेका कारण पनि धनगढीमा उपकुलपति बनेर जान इच्छा नदेखाएको हुन सक्छन्,” भट्टराईले भने, “उपकुलपतिका लागि अलि लचिलो प्रावधान राखिएको भए मध्यम खालका व्यक्तिले पनि आवेदन दिनुहुन्थ्यो होला ।”

उपकुलपतिका लागि कसैले पनि आवेदन नदिएपछि तत्कालका लागि रजिस्ट्रार नियुक्त गरेर उपकुलपतिको पनि जिम्मेवारी दिने तयारी मन्त्रालयले गरेको छ । पछि विश्वविद्यालय ऐन नै संशोधन गरेर उपकुलपतिका लागि चाहिने योग्यतामा परिमार्जन गरेर लचिलो प्रावधान राखेपछि मात्रै उपकुलपति नियुक्त गर्ने निष्कर्षमा मन्त्रालय पुगेको छ । रजिस्ट्रार नियुक्तिका लागि पनि मन्त्रालयले केही समय आवेदन आह्वान गरेको थियो । उक्त आह्वान अनुसार दरखास्त दिएकामध्ये मन्त्रालयले १० जनाको नामावली स्वीकृत गरेको छ ।

स्वास्थ्य विज्ञानका क्षेत्रमा गुणस्तरीय अध्ययन अध्यापनद्वारा मानव स्रोत विकास गरी सहज, सुलभ र विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य विज्ञान शिक्षा उपलब्ध गराउन यस विश्वविद्यालय स्थापना गर्न लागिएको हो । कैलालीको गेटामा यस विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने छ । उपकुलपतिको कार्यवधि चार वर्षको रहने व्यवस्था छ । विश्वविद्यालयमा कुलपति, दुई जना सहकुलपति र कार्यकारी प्रमुखका रूपमा एक जना उपकुलपति रहने व्यवस्था छ । त्यस्तै प्रशासनिक प्रमुखका रूपमा रजिस्ट्रार रहने छन् ।

गोरखापत्र

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.