Connect with us

समसामयिक

डा. गोविन्द केसीले थाले तीन दिने सत्याग्रह

Published

on

डा. गोविन्द केसीले स्वास्थ्य, शिक्षाको गुणस्तर र समतामूलक पहुँचको सुनिश्चितताको माग गर्दै तीन दिने सत्याग्रह सुरु गरेका छन्। उनले कैलालीको गेटा मेडिकल कलेज पुगेर तीन दिने सत्याग्रह सुरु गरेका हुन् । डा. केसीलेृ निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता, सरकारी मेडिकल कलेज खोल्ने लगायतका माग राखेका छन्।
केसीले प्रधानमन्त्री र चिकित्सा शिक्षा आयोगको निर्णयको विरोध गर्दै लिपुलेकको अतिक्रमण र युद्धको विरोधमा आवाज उठाएका छन्।

आफ्नो माग पूरा गर्न दबाब दिने उद्देश्यले भदौ १७ गतेसम्म सत्याग्रहमा बस्ने डा. केसीले उद्घोष गरे । गलत रुपमा गरिएको निजी मेडिकल कलेजहरूको सिट वृद्धि फिर्ता गर्ने साथै इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्ने र कैलालीको गेटामा पूर्णरूपमा अस्पताल सेवा र शैक्षिक कार्यक्रम तुरुन्त सञ्चालनमा ल्याउनेलगायत यस अघि आफूहरूसित भएका सम्झौता कार्यान्वयन गर्न दबाब दिन सत्याग्रहमा बस्नु परेको उनको भनाइ छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगबाट गलत ढंगले मेडिकल कलेजहरूलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय भएको भन्दै उक्त निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन् ।

‘चिकित्सा शिक्षा ऐनको मर्मविपरित प्रधानमन्त्री केपी ओलीको नाजायज र प्रत्यक्ष हस्तक्षेपका कारण हालै चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजहरुको सिट बढाउने गैरजिम्मेवार निर्णय गरेको छ,’ डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसलगायत केही समय यताका आयोग, सरकार र अदालतका गलत निर्णय तथा फैसलाले चिकित्सा शिक्षा ऐनको अस्तित्व नै धरापमा परेको छ ।’

विद्यार्थी भर्ना सिट संख्या वृद्धि गर्दा नेता र माफियाको झोला भरिने तर शिक्षाको गुणस्तरमा ह्रास आउने डा. केसीको भनाइ छ । ‘मेडिकल शिक्षा जस्तो सम्वेदनशील क्षेत्रको गुणस्तरमा ह्रास आउनुको मतलब जनताको स्वास्थ्य सेवाको गुणस्तरमा ह्रास आउनु हो । अर्थात् आम नेपालीको स्वास्थ्यमा खेलबाड गर्नु हो,’ विज्ञप्तिमा उल्लेख छ ।

उनले चीन र भारतले नेपालको लिपुलेक हुँदै व्यापार गर्ने सहमति गरेको समाचार प्रकाशमा आइहेको जिकिर गर्दै सीमा मिचाइको विरोधमा यस अघि पनि सत्याग्रह गरिसकेको स्मरण गराएका छन् । ‘रुसले युक्रेनमाथि सन् २०२२ यता गर्दै आएको निरन्तरको अतिक्रमण, त्यस क्रममा भएका जघन्य तथा मानवताविरुद्धका अपराधहरूको विरोधमा हामीले आवाज उठाउँदै आएका छौँ,’ विज्ञप्तिमा लेखिएको छ, ‘अघिल्लो वर्ष सुरु भएको गाजामाथिको इजरायली आक्रमण, यस क्रममा उसले गरिरहेको जघन्य र मानवताविरुद्धका अपराध र जातीय सफायाको अभ्यासविरुद्ध पनि हामीहरूले आवाज उठाउँदै आएका छौँ ।’

‘लिपुलेकमा भइरहेको अतिक्रमण रोकी अतिक्रमित नेपाली भूमि फिर्ता गर्न भारतलाई तथा हाल चलिरहेका नर संहारकारी युद्धहरू रोक्न रुस र इजरायललाई माग राख्दै मैले आज यही भदौ १५ गते आइतबारदेखि तीन दिने सत्याग्रह सुरु गरेको घोषणा गर्दछु,’ विज्ञप्तिमा केसीले उल्लेख गरेका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.