Connect with us

समसामयिक

डिजिटल युगमा पनि पुस्तकालयको महत्व घटेको छैन: सञ्चार मन्त्री

Published

on

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पुस्तकालयलाई केवल किताब भण्डारण गर्ने ठाउँका रुपमा मात्रै नभई समाजको समग्र विकासको केन्द्रको रूपमा पुनः परिभाषित गर्नुपर्ने राज्यको दायित्व रहेको बताएका छन् ।

काठमाडौँमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको अठारौँ पुस्तकालय दिवस २०८२ को अवसरमा बोल्दै मन्त्री गुरुङले नेपालमा पुस्तकालयको इतिहास अत्यन्त समृद्ध र प्रेरणादायी रहेको उल्लेख गरे । प्राचीन कालदेखि नै अध्ययन, ज्ञान र धर्मको संरक्षणका लागि नेपालमा पुस्तकालयको स्थापना हुँदै आएको समेत जानकारी दिँदै मन्त्री गुरुङले भने, “प्रारम्भिक समयमा मठ–मन्दिरहरूमा पठनका लागि संग्रहालयीय पुस्तकालयहरू थिए, जसले ज्ञानको प्रकाश फैलाउने महत्त्वपूर्ण भूमिका खेलेका थिए ।”

आधुनिक पुस्तकालयको इतिहास पृथ्वीनारायण शाहको शासनकालदेखि सुरु भएको इतिहास पनि मन्त्री गुरुङले स्मरण गराए । उनका अनुसार शाहकै पालामा विभिन्न स्थानमा छरिएका पाण्डुलिपिहरू सङ्कलन गरी वसन्तपुर दरबारमा सुरक्षित रूपमा राखिएको इतिहास छ ।

यही क्रममा विसं १८६९ साल भदौ १५ गते राजा गीर्वाण युद्ध वीरविक्रम शाहले “पुस्तक चिताइ तहबिल” सम्बन्धी लालमोहर जारी गरे, जुन नेपालको पहिलो कानुनी रूपमा मान्यता प्राप्त पुस्तकालयका रूपमा मानिने उनले बताए । यही ऐतिहासिक घटना सम्झँदै विसं २०६५ सालदेखि हरेक वर्ष भदौ १५ मा पुस्तकालय दिवस मनाउने परम्परा सुरु भएको हो ।

मन्त्री गुरुङले नेपालमा पुस्तकालयको इतिहास जनचेतना, अध्ययन संस्कृति र सामाजिक रूपान्तरणसँग गहिरो रूपमा गाँसिएको हुँदा यसको संरक्षण, विकास र सक्रिय प्रयोगको प्राथमिकता बढाउन आवश्यक रहेको बताए ।

उनका अनुसार आजको डिजिटल युगमा पनि पुस्तकालयको महत्व कम भएको छैन । यसले डिजिटल पहुँच, ई–पुस्तक, अनुसन्धान सामग्री सुरक्षित अध्ययन वातावरण प्रदान गर्दै नागरिकलाई सशक्त बनाइरहेको उनले बताए । युवाहरूका लागि पुस्तकालय अनुसन्धान, नव प्रवर्तन र सीप विकासको प्रमुख स्थल बनेका छन् । विशेष गरी ग्रामीण क्षेत्रका पुस्तकालयहरूले कम्प्युटर, इन्टरनेट, डिजिटल सामग्री र मोबाइल पुस्तकालय जस्ता सुविधाबाट सूचना पहुँचको खाडल घटाइरहेको मन्त्री गुरुङको धारणा छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.