Connect with us

अर्थ

कागती बिक्री गरेर तीन लाख आम्दानी

Published

on

भोजपुरको पौवादुङमा गाउँपालिका–४ बस्तिमका ४० वर्षीय नवराज घिमिरेले व्यावसायिक रूपमा कागतीखेती गरेर मनग्य आम्दानी गरेका छन् घिमिरेले कागती बिक्रीबाट वार्षिक तीन लाखसम्म आम्दानी हुने बताए ।

अहिले उनले करिब १० रोपनी क्षेत्रमा सानाठूला गरी ३५० बोट कागती रोपेका छन् । “व्यावसायिक रूपमा कागतीखेतीमा लागेका छु”, उनले भने, “अहिले वार्षिक दुईदेखि तीन लाख रुपैयाँ आम्दानी लिँदै आएको छु । साना बिरुवा पनि विस्तार गरेको छु । ती हुर्किएपछि आम्दानी अझ बढ्नेछ ।”

छ वर्षअघिबाट फलफूलखेती सुरु गरेका घिमिरेले कागतीसँगै सुन्तला र एभोकार्डोको पनि खेती पनि विस्तार गरेका छन् । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएकाले बहुवर्षीय बालीखेतीमा जोड दिएको उनको भनाइ छ ।

“एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने बहुवर्षीय बाली खेती विस्तारमा जोड दिएको छु”, उनले भने, “कागतीसँगै सुन्तला, एभोकार्डोको पनि खेती गरिरहेको छु ।”

फलफूलखेतीका लागि माटो र हावापानी उपयुक्त भएकाले पौवादुङमामा बहुवर्षीय खेती प्रणालीमा किसान आकर्षित भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । उनका अनुसार गाउँपालिकाले ‘एक घर, एक फलफूल’ कार्यक्रम सञ्चालन गरेर फलफूल खेतीमा लगानी गर्दै आएको छ ।

“पौवादुङमामा माटो सुहाउँदो खेती प्रणालीमा जोड दिएका छौँ”, अध्यक्ष राईको भनाइ छ, “यहाँ धेरै किसान बहुवर्षीय खेती प्रणालीमा जुटेका छन् । गाउँपालिकाले पनि आवश्यक प्रोत्साहन र सहयोग गर्दै आएको छ ।”

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बहुवर्षीय खेती प्रणालीबाट किसानले दीगो रूपमा आम्दानी लिनसक्ने भएकाले आवश्यक सहयोग गर्दै आएको बताइन । किसानलाई भूगोलअनुसारको खेती प्रविधिमा जोड दिइएको उनको भनाइ छ । “वडागत रूपमा उत्पादन सम्भावना पहिचान गरेर विभिन्न जातका फलफूलखेतीमा प्रोत्साहन दिइरहेका छौँ”, उनले बताइन ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.