बारा जिल्लाको महागढीमाई नगरपालिका(०१ बरियारपुरमा लागेको विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीहरुको घुइँचो अत्याधिक बढेको छ ।
अस्ति २२ मंसिर शनिवारदेखि गढीमाई मेलामा बढेको भिड अझै पनि बढ्ने क्रममै छ । पशु बलिको लागि विश्वमै प्रसिद्ध रहेको गढीमाई मेलामा हिजो २४ मंसिरसम्म करिब २ करोड दर्शनार्थीले अवलोकन गरेको पञ्चवर्षीय गढीमाई मेला मुल व्वस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन् ।
उनका अनुसार गत मंसिर १ गते देखि सुरु भएको पञ्चवर्षीय विश्व प्रसिद्ध गढीमाई मेलामा गढीमाई माताको दर्शन र मेलाको अवलोकन गर्ने आउने दर्शनार्थी अझै जारी नै रहेकोले ३० गतेसम्म साढे २ करोड पुग्ने नगरप्रमुख यादवको भनाइ छ ।
बरियापुरस्थित गढीमाई मन्दिरमा यही मङ्सिर १ देखि पञ्चवर्षीय गढीमाई मेला लागिरहेको छ । मेलामा भारतका विभिन्न राज्यका मात्रै नभएर अन्य देशबाट समेत भक्तजनको बाक्लो उपस्थिति छ । मेला पाँच–पाँच वर्षमा लाग्ने भएकाले श्रद्धालु भक्तजनहरूको निकै भव्य र सभ्य उपस्थिति हुने गर्दछ । नेपालका विभिन्न जिल्लाबाट पनि मेला भर्न दर्शनार्थीहरु आइरहेका छन् । शनिबार र आईतबारको तुलनामा गढीमाई मेलामा सोमबार दर्शनार्थीहरुको चाप दोब्बर बढेको पञ्चवर्षीय गढीमाई मेला मुल व्वस्थापन समितिका महासचिव वीरेन्द्र प्रसाद यादवले बताए ।
पाँच बर्षमा एक पटक लाग्ने एसिया महादेशकै सबै भन्दा ठूलो मेलाको रुपमा गढीमाई मेलाले पहिचान बनाएको छ । गढीमाई मातासँग राखेको भाकल पूरा भए पछि यहाँ अत्याधिक दर्शनार्थीहरु आफ्नो भाकल पूरा गर्न आउने गरेको धार्मिक बिश्वास रहेको छ । गढीमाई माताको दर्शन गर्न नेपाल र भारत बाट नभएर अमेरिका , फ्रान्स लगाएत विभिन्न देश बाट दर्शनार्थीहरु आउने गरेको छ ।
पुत्र लाभ, जटिल रोग निको हुने, कुनै दुर्घटना हुँदा वा अचानक बिरामी पर्दा निको पार्न अभिभावकले गढीमाई मन्दिरमा परेवा उडाउने, बोका, राँगाको बली चढाउने भाकल गर्दछन् ।भाकल गरेका दर्शनार्थीहरु एकै पटक गढीमाई मेलामा आउने गरेको कारण अपेक्षा भन्दा बढी भिडभाड हुने गरेको छ ।
८ हजार भन्दा बढी राँगाको बलि
आइतबार विहान ४ बजेदेखि ६ बजेसम्म धार्मिक परम्पराअनुसार पूजापाठ र अनुष्ठान गरेपछि ब्रहमबाबाको नजिकै बनाइएको मौलोमा पञ्चबलि दिइसँगै बलि दिने क्रम सुरु भएको थियो । जसअनुसार हिजो आइतबार प्रमुख दिन राँगा बलि दिइएको थियो । मुख्य दिन ८ हजार ६ सय २९ राँगाको बलि चढाइएको पञ्चवर्षीय गढीमाई मेला व्यवस्थापन समितिले अन्तर्गत रहेका बलि ब्यवस्थापन उपामितिका संयोजक प्रेम साहले जानकारी दिए । बिहानैदेखि दिउँसोसम्म चलेको बलिमा ८ हजार भन्दा बढी राँगा बलि चढेको संयोजक साहको भनाइ छ ।
यो गत वर्षको तुलनमा कम राँगा भएको बताइन्छ । भारतबाट आउने रांगाहरुलाई नेपाल प्रवेश गराउन अनुमति नदिइएकाले यसवर्ष रांगा बलिको सङख्यामा कमि आएको अनुमान समितिले गरेको छ । त्यस्तै सोमबार खशीको बलि दिइने भनिए पनि भाकल गरेका भक्तजनहरुले आईतबार देखु नै बोकाको बलि दिन सुरु गरेको र सोमबार पनि बोकाको बलि दिइएको थियो । खशीको बलि भक्तजनहरुले आफुलाई सुबिधा परेको ठाउँमा दिने भएकोले त्यसको तथ्यांक आउन नसेको बलि ब्यवस्थापन उपसमितिले जनाएको छ । राँगा भन्दा दोब्बर बोकाको बलि दिइएको समितिको अनुमान छ ।
गढीमाईको पञ्चवर्षीय मेला हेर्न आउने दशनार्थीको अत्यधिक चापको कारणले बाराको सदरमुकाम कलैयादेखि मन्दिर रहेको बरियापुरसम्म र हरनहिया देखि बरियारपुर सम्म नै अत्यधिक भीडभाड र घुइँचो छ। अत्यधिक दशनार्थीहरुको भीडको कारणले ट्राफिक व्यवस्थापनमा जटिल बनेको छ। मंसिर ०१ गते देखि सुरु भएको पञ्चवर्षीय गढीमाई मेलमा भारतका मन्त्री देखि लिएर नेपालका मन्त्रीहरुले दर्शन गरेका छन। मंसिर ०१ गते देखि सुरु भएको पञ्चवर्षीय गढीमाई मेला मंसिर ३० गते सम्म चल्ने छ । २५ गते पछि मेलामा दर्शनार्थीहरुको चाप कम हुने मेला समितिले जनाएको छ ।
प्रसादको मासु दलित समुदायलाई वितरण
विश्व प्रसिद्ध गढीमाई मेलामा आईतबार चढाईएको राँगाको मासु दलित समुदायहरुले प्रसादको रुपमा लगेको बलि व्यवस्थापन उपसमितिका संयोजक प्रेम साहले बताउनु भयो । २०८१ सालको पन्चबर्षिय गढीमाई मेलामा चढाईएको राँगाको मासुको लागि कुनै पनि टेन्डर आव्हान नगरिएको उनले बताए । दलित समुदाय र राँगाको मासु खानेहरुको अनुरोधमा यस बर्ष राँगाको मासुको टेण्डर नगरिएको र केही मेला बिरोधी व्यक्तिहरुले मासुको लागि टेण्डर भएको हल्ला फैलाएको बलि व्यवस्थापन उपसमितिका संयोजक साहले बताए ।
दुर्गन्धित नहुने गरि आन्द्रा-भुडीको व्यवस्थापन
गढीमाई मेलामा आफ्नो भाकल पूरा भए पछि दर्शनार्थीहरुले चढाएको राँगाको बलि बाट स्थानियहरुको स्वास्थमा असर नपर्ने गरि व्यवस्थापन गर्ने बलि ब्यवस्थापन उपसमितिले दाबी गरेको छ ।आईतवार चढाईएको राँगा बाट दुर्गन्ध नआउने गरि बलि व्यवस्थापन उपसमितिले व्यवस्थापन गरिरहेको प्रेम साहले बताए । राँगा बलि दिइएको परिसरमा खाल्डो खनेर आन्द्रा-भुडी र टाउकोको व्यवस्थापन गर्ने काम गरिरहेको उनले बताए । खाल्डो खनेर टाउको आन्द्रा-भुडीलाई खाल्डो भित्र हालेर नुन हालेर जेसिबिले खाल्डोलाई पुर्ने काम भईरहेको समेत उनले जानकारी दिए ।