Connect with us

अन्तर्राष्ट्रिय

देशिय गुप्तचरसँग निर्मम बन्दै इरान, बढायो गिरफ्तारी र मृत्युदण्डको मात्रा

Published

on

आफ्नो देश, आणविक केन्द्रलगायतको सूचना शत्रु पक्षलाई दिने गुप्तचरहरुसँग इरान निर्मम बनेको छ । इजरायल, अ‍ेमरिकालगायतलाई गुप्तचरी सूचना दिएको आशंकामा इरानले गिरफ्तारी र मृत्युदण्डको मात्रा बढाएको छ । इजरायल र अमेरिकाले आफ्नो देशमाथि आक्रमण गरेपछि ती देशका गुप्तचर एजेन्सीहरूसँग सम्बन्ध भएको आशंकामा इरानले गिरफ्तारी र मृत्युदण्डको मात्रा बढाएको हो ।

इजरायली एजेन्टहरूले इरानी सुरक्षा सेवाहरूमा अभूतपूर्व घुसपैठ गरेको दाबी गरेपछि बढाइएको हो । १२ दिने आक्रमण, प्रत्याक्रमणको बेला पनि इरानी अधिकारीहरूले इजरायलको लागि जासुसी गरेको आरोपमा तीनजनालाई मृत्युदण्ड दिएका थिए भने युद्धविराम भएको भोलिपल्ट अस्ति बुधबार थप तीन जनालाई त्यही आरोपमा मृत्युदण्ड दिइएको छ ।

इजरायलको पक्षमा गुप्तचरी सूचना दिएकैले आक्रमणमा इजरायलले इरानी उच्च अधिकारीहरुको हत्या गर्न सकेको आशंका छ । इजरायलले इरानका विशिष्ट इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) का वरिष्ठ कमान्डरहरू र आणविक वैज्ञानिकहरूको हत्या गरेको थियो । ती हत्याको गुप्तचरी सूचनामा संलग्नहरूलाई इरानले गिरफ्तार गरेर मृत्युदण्ड दिएको बताइएको छ । जसमा इरानले इजरायलको मोसाद गुप्तचर एजेन्सीका एजेन्टहरूको काम भएको बताएको छ ।

उच्च कमाण्डर र वैज्ञानिकहरुको हत्या भएपछि क्रोधित बनेका इरानी अधिकारीहरूले राष्ट्रिय सुरक्षाको लागि भन्दै विदेशी गुप्तचरसँग काम गरेको शंकामा जो सुकैलाई पनि निशाना बनाइरहेको बताइएको छ । तर, धेरैले यसलाई असहमति दबाउन र नियन्त्रण कडा पार्ने उपाय भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले इरानमा सयौँ संदिग्धहरूलाई जासुसीको आरोपमा गिरफ्तार गरेको बताएका छन् । इरानकै सरकारी टेलिभिजनले धेरै हिरासतमा लिइएकाहरूको भनाइ प्रसारण गरेको र त्यसमा उनीहरूले इजरायली गुप्तचरसँग सहकार्य गरेको स्वीकार गरेको दाबी गरिएको छ ।

मानव अधिकार समूहहरू र कार्यकर्ताहरूले पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेका छन् । इरानको जबरजस्ती बयान लिने र अन्यायपूर्ण सुनुवाइ गर्ने गरेकाले थप मृत्युदण्डहरू हुनसक्ने बताइएको छ । इरानको गुप्तचर मन्त्रालयले पश्चिमी र इजरायली गुप्तचर नेटवर्कहरू सीआईए, मोसाद र एमआई ६ विरुद्ध निरन्तर युद्धमा संलग्न रहेको दाबी गरेको छ ।

आईआरजीसीसँग सम्बद्ध फार्स न्युज एजेन्सीका अनुसार १३ जुनमा इजरायलको आक्रमण सुरु भएदेखि इजरायली जासुसी नेटवर्क देशभित्र अत्यधिक सक्रिय भएको छ । फार्सले जनाएअनुसार १२ दिनको अवधिमा इरानी गुप्तचर र सुरक्षा बलले यो नेटवर्कसँग सम्बन्धित ७०० भन्दा बढी व्यक्तिहरूलाई गिरफ्तार गरेको बताएको छ ।
बीबीसी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.