Connect with us

समसामयिक

लागुऔषध नियन्त्रणमा झापा प्रहरीको कारबाही, हिरोइन र खागसहित भारतीय पक्राउ

Published

on

जिल्ला प्रहरी कार्यालय झापाको लागुऔषध नियन्त्रण तथा कारबाही अभियान अन्तर्गत अर्का एक जना पक्राउ परेका छन्।

झापा प्रहरीले बुधबार प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र गैंडाको खागसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत पश्चिम बंगाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम रहेका छन्। उनलाई बुधबार इलाका जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले पक्राउ गरेको हो।

झापाका प्रहरी उपरीक्षक मिलन केसीले रामधामलाई मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टास्थित हिमालय गेस्ट हाउसको १०२ नम्बर कोठाबाट पक्राउ गरिएको जानकारी दिए।

लागुऔषध तथा खाग तस्करी गर्ने क्रममा रामधान गेस्ट हाउसको कोठा भाडामा लिएर बसिरहेका थिए।

उक्त सूचना पाएपछि खटिएको टोलीले रामधानको साथबाट तीन ग्राम ७६० मिलिग्राम खैरो हिरोइन बरामद गरेको प्रहरी उपरीक्षक केसीले बताए।

यसका साथै रामधानको साथबाट २.८०० ग्राम पिइभोन स्पास प्लस लेखिएको १८ थान ट्याबलेट बरामद भएको उनले बताए।

‘होटल बुक गरेर बसेका रहेछन्, उनको साथबाट खैरो हिरोइनसहितको लागुऔषध बरामद भएको छ,’ प्रहरी उपरीक्षक केसीले भने, ‘उनले गैंडाको खागसमेत तस्करी गरेको खुलेको छ।’

रामधानलाई पक्राउ गर्दा उनको साथबाट १ किलो ७०० ग्राम भएको गैंडाको खाग बरामद गरिएको उनले बताए।

‘खैरो हिरोइन तौलने तराजु एक थानसमेत हाम्रो प्रहरी टोलीले बरामद गरेको छ,’ केसीले भने।

रामधानले लागुऔषध र गैंडाको खाग कसका लागि कहाँबाट ल्याएका थिए भन्नेबारेमा अनुसन्धान भइरहेको छ।

‘पक्राउ परेका व्यक्तिलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान थालिएको छ,’ प्रहरी उपरीक्षक केसीले भने, ‘प्रारम्भिक अनुसन्धान भइरहेको छ, उनले कहाँबाट के कसरी र कसका लागि लागुऔषध ओसारपसार गरिरहेका थिए भन्नेबारेमा विवरण खोजिरहेका छौं।’

रामधानबाट बरामद भएको खाग परीक्षणमा छ। उनले खाग कहाँबाट कसरी प्राप्त गरे भन्ने विषयमा पनि अनुसन्धान जारी रहेको केसीले बताए।

झापा प्रहरी लागुऔषध कारोबार रोकथाम तथा नियन्त्रणमा आक्रामक कारबाही गरिरहेको प्रहरी युनिट हो। विशेषत: झापामा प्रहरी उपरीक्षकको रूपमा मिलन केसीले पदबहाली गरेपछि लागुऔषध, तस्करीजन्य अपराधमा प्रहरीले आक्रामक कारबाही गरिरहेको छ ।

‘झापामा तस्करी, लागुऔषध बेचबिखन तथा ओसारपसारलाई निमिट्यान्न पार्न प्रहरी सक्रिय छ,’ प्रहरी उपरीक्षक केसीले भने, ‘यस्ता गैरकानुनी कार्य नियन्त्रण गर्ने सन्दर्भमा आम नागरिकको सहयोग आवश्यक छ, मैले सबै झापाबासी नागरिकलाई गैरकानुनी कार्य नियन्त्रणमा प्रहरीलाई सहयोग गर्न अपिल गरेको छु।’


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.