Connect with us

समसामयिक

सामाजिक सञ्जाल बन्दविरुद्ध सडकमा उत्रँदै पत्रकार

Published

on

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय विरुद्ध पत्रकारहरुले प्रदर्शन गर्न लागेका छन् । आइतबार (भदौ २२) दिउँसो २ बजे काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन आह्वान गरिएको छ ।

नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूले शनिबार (भदौ २१) विज्ञप्ति जारी गर्दै बन्द गरिएका सामाजिक सञ्जाल तत्काल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न माग गरेका छन् ।

“साथै, सामाजिक सञ्जालको नियमनका लागि सरोकारवाला निकाय तथा विज्ञहरूको सहभागितामा अध्ययन कार्यदल गठन गरी दीर्घकालीन र विधिसम्मत समाधान खोज्न सरकारलाई आह्वान गर्दछौँ,” विज्ञप्तिमा उल्लेख छ ।

प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका निम्ति आफूहरू सधैँ प्रतिबद्ध रहने उनीहरूले उल्लेख गरेका छन् । “सरकारद्वारा फेसबुक, एक्स, युट्युबलगायतका सामाजिक सञ्जालहरूमाथि लगाइएको प्रतिबन्धप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” उनीहरूले भनेका छन्, “दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको हाम्रो ठहर छ ।”

सरकारको कदमले लोकतान्त्रिक मूल्य–मान्यता र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको विज्ञप्तिमा जनाइएको छ । “सरकारको कदमले विदेशमा रहेका लाखौँ नागरिक र उनको परिवारबीचको सम्पर्क टुटाएको मात्र छैन, बालबालिकाको सिकाइमा दीर्घकालीन रूपमा प्रभाव पर्ने देखिएको छ । हजारौँ व्यक्तिको रोजीरोटी समेत बन्द भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रमा किमार्थ स्वीकार्य हुन नसक्ने उनीहरूले चेतावनी दिएका छन् ।

पढ्नुहोस्, विज्ञप्ति

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.