पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना पति मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार भएको बताएकी छन् ।
आज आइतबार बल्खुस्थित नेकपा (एमाले) को पुरानो केन्द्रीय कार्यालय मदननगरमा आयोजित ३३औँ मदन आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कारको नयाँ चरणमा पुर्याएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘मदन भण्डारी र जीवराज आश्रित नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र होइन् वैचारिक स्पष्टता र जनमुखी राजनीति संस्कार नयाँ चरणमा पुर्याएको थियो । उहाँहरूले राजनीति भनेको जनताको जीवनसँग जोडिएको विषय हो । जनताको विश्वासबाट निर्देशित हुनुपर्छ भन्ने मान्यतालाई अझ गहिरोसँग स्थापित गर्नुभयो ।’

उनले राजनीति जनताको जीवनसँग जोडिएको विषय भएको भन्दै जनताको विश्वासबाट निर्देशित हुनुपर्ने मान्यतालाई मदन भण्डारी र जीवराज आश्रितले अझ गहिरो बनाएको बताइन् ।
भण्डारीले एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको जनताको बहुदलीय जनवाद नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार रहेको उल्लेख गर्दै यसलाई नेपालमा मार्क्सवाद सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात गरिएको बताइन् ।
‘एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको जनताको बहुदलीय जनवादमा नेपाली समाजको यथार्थ आधारित मौलिक राजनीतिक विचार हो । यसलाई हामीले नेपालमा मार्क्सवादको सिर्जनाको रूपमा आत्मसाथ गरेका छौँ,’ उनले भनिन् ।
भण्डारीका अनुसार लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिको यात्रालाई मार्गदर्शन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० लाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।