समसामयिक
लिच्छविकालीन लेले
Published
6 months agoon
By
Nepal Muhar
ललितपुर जिल्लाको लगनखेलबाट झन्डै १६ किलोमिटर दक्षिणमा रमणीय उपत्यका रहेको छ– लेले । चारैतिर हरिया डाँडा । बिचमा उर्वर भूमि लेले धार्मिक तथा सांस्कृतिक रूपमा धनी छ । लेले हुँदै बग्ने सरस्वती नदीले यस उपत्यकाका फाँटमा सिँचाइ सुविधा पुर्याएको छ । लेलेमा मुख्यतया तामाङ, क्षेत्री, नेवार, मगर, नगरकोटी आदि जातजातिको बसोबास छ । गोदावरी नगरपालिका अन्तर्गतको लेले पुग्न जमलबाट लगनखेल हुँदै साझा बस प्रयोग गर्न सकिन्छ । लिच्छविकालीन इतिहास बोकेको बस्ती हो– लेले ।
माझटोलमा निजी जग्गामा रहेको शिवदेव प्रथम र अंशुवर्माको संवत् ५२६ को अभिलेखमा यो बस्तीलाई ‘लेम्बटीद्रंग’ भनी सम्बोधन गरिएको छ । ‘लेम्बटी’ को खासै अर्थ नभए पनि आर्यत्तर शब्द भएकाले लिच्छविहरूको आगमनपूर्व नै यस ठाउँमा मानवबस्ती बसिसकेको अनुमान गर्न सकिन्छ । ‘द्रंग’ संस्कृत शब्द भएको र यसले विकसित मानवबस्ती भन्ने बुझाउँछ । यसै अभिलेखमा प्रजाले धार्मिक तथा सामाजिक कार्य सञ्चालन गर्न विभिन्न गुठीको व्यवस्था गरेको देखिन्छ ।
उक्त शिलालेखमा उल्लेख भए अनुसार धुप, दीप बाल्न धुप गुठी, प्रदीप गुठी, पिउने पानीको बन्दोबस्त गर्न पानीय, पौलमपानीय गुठी, कुलो, धाराको बन्दोबस्त गर्न प्रणाली गुठी, जात्रापर्व चलाउन अर्चा, अर्चनीय गुठी, बाजा सिकाउन वादित्र गुठी, ध्वजा फहराउन ध्वज गुठी, कुस्ती, मनोरञ्जन गर्नका लागि मल्लयुद्ध गुठी राखेको देखिन्छ ।
त्यस्तै देवता र ब्राह्मणका लागि इन्द्र गुठी, भगवत वासुदेव ब्राह्मण गुठी, ब्राह्मण गुठी तथा यातायात सेवाका लागि प्रहवण गुठीसमेत राखिएको अभिलेखबाट देखिन्छ ९धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, २०३०, पृष्ठ २८२० । लेम्बटी द्रंगको इलामा खेत पर्ने प्रजाहरूलाई गुठी सञ्चालनका लागि आयस्ता तोकेको कुरा यसै अभिलेखमा परेको छ । यो अभिलेख पुरातत्व विभागले २०६८ सालमा संरक्षण गरेको कुरा एक स्थानीयले बताए ।
नेपाल संवत् ६३३ सालमा राजा रत्न मल्लले तीन सय घरको सहर बसाइदिएको कुरा देवमाला वंशावलीमा उल्लेख छ । संशोधनमण्डलको प्रकाशन रहेको पूर्णिमा त्रैमासिक पत्रिका ९पूर्णाङ्क ११२, पृष्ठ ४८–५१० मा प्रकाशित नेसं ७७६ को ताडपत्रमा ‘रेरेदेस’ र नेसं ७८४ को अर्को ताडपत्रमा ‘लेलेग्राम’ उल्लेख गरिएको छ । लिच्छविकालमा विकसित बस्ती मल्लकालसम्म आइपुग्दा लेले व्यवस्थित सहरका रूपमा विकास भइसकेको थियो ।
धार्मिक एवं सांस्कृतिक महत्वको जयकुमारी, बालकुमारी, टीकाभैरव, मनकामना, फुल्चोकीमाईको मन्दिर, सरस्वतीकुण्ड, ज्ञानकुण्ड तथा रुद्र तीर्थ, प्रभावती तीर्थहरू लेलेको पहिचान बनेको छ । नेपालका चौसट्ठी ज्योतिर्लिङ्गमध्येको तिलेश्वर, चम्पकेश्वर र रामेश्वर शिवलिङ्ग यसै ठाउँमा रहेकाले तपोभूमिका रूपमा पनि लिन सकिन्छ ।
शिवपुराणका अनुसार भगवान् शिवको आदि अनादि स्वरूप भएको र शून्य आकाश, अनन्त ब्रह्माण्ड र निराकार शिवको प्रतीक शिवलिङ्ग हो । स्कन्दपुराणका अनुसार ब्रह्माण्डको प्रतीक नै ज्योतिर्लिङ्ग हो । यसै पुराण अन्तर्गत हिमवत्खण्डको नेपाल महात्म्यमा यी ज्योतिर्लिङ्गका बारेमा विस्तृत वर्णन गरिएको हामी पाउँछौँ ।
तिलेश्वर
तिलेश्वर ज्योतिर्लिङ्ग मुकुन्द पर्वतको फेदी मनमती र सरस्वती नदीको सङ्गम रुद्रतीर्थमा रहेको छ । यो लिङ्गको उत्पत्ति देवगुरु वृहस्पति ऋषिको तपस्याबाट भएको मानिन्छ । वृहस्पति ऋषि तीर्थयात्रा गर्दै यस ठाउँमा पुग्छन् । माघेसङ्क्रान्तिका दिन रुद्रतीर्थमा नुहाएर तिलको शिवलिङ्ग बनाई विधिवत् पूजा गरी नदीको जल चढाउँदा पत्थरको हुन गएको र उनै ऋषिले यो लिङ्गको श्रद्धापूर्वक ध्यान, जप, मन्त्र साधना गरी नियमित पूजा गरेको तेस्रो दिनमै शिवलिङ्गबाट साक्षात् महादेव प्रकट भई वृहस्पतिलाई वरदान दिए र भने, “देवी सरस्वतीको पनि आह्वान गर, शुक्राचार्यलाई छोडेर पानीको रूपमा यहाँ आउने छिन् । त्यतिबेला अञ्जुलीमा लिई पिइदिनू, तिम्रो वाक्य सिद्ध हुने छ ।” यति कुरा भनी महादेव शिवलिङ्गमा अन्तध्र्यान भई तिलको शिवलिङ्ग सिद्ध भए । वृहस्पति ऋषिको तपस्याको प्रभावबाट शिवलिङ्ग सिद्ध भएकाले तिलेश्वर ज्योतिर्लिङ्ग हुन गएको धार्मिक मान्यता छ । उनै ऋषिको तपस्याको प्रभावबाट शिवलिङ्ग सिद्ध भएको प्रसङ्गसँगै देवी सरस्वतीले शुक्राचार्यको कण्ठ छोडेको प्रसङ्ग पनि महत्वपूर्ण छ ।
सरस्वतीले आफ्नो ठाउँ छोडी वृहस्पतिको कण्ठमा बस्न थालेपछि शुक्राचार्यले श्राप दिएको र उनको श्रापको प्रभावले सरस्वती जलका रूपमा सधैँ कुण्डमा रहनु परेको थियो । त्यसरी नै सरस्वतीको पनि श्रापको कारणले शुक्राचार्य मानव जातिको जन्म हुने शुक्रकीटका रूपमा यस संसारमा रहनु परेको थियो । उनको श्रापको प्रभावले शुक्राचार्य पहेँलो पानीमा परिणत हुँदा कुण्ड बन्यो । यसै कुण्डलाई अहिले ज्ञानकुण्डका रूपमा सबैले पुज्ने गरेका छन् । यो कुण्ड सरस्वतीकुण्डको दक्षिणतिर रहेको छ । तिलेश्वर महादेवका अनुसार वृहस्पति ऋषिको आह्वानबाट धर्तीमा प्रकट भएको जलधारा नै सरस्वतीकुण्डका रूपमा प्रसिद्ध हुन गएको छ ।
यस कुण्डको वर्णन गर्दा तिलेश्वर महादेव र ज्ञानकुण्डको वर्णन पनि सँगसँगै आउँछ । ‘ततः सरस्वतीकुडें पीत्वा जलं विरूपदृक् । वाक्सिद्धिरभवद्भूयो लिंगाच्र्चनाव्दिकिल्बिषः ।।’ अर्थात् सरस्वतीकुण्डको जल पिएपछि विरुपाक्षलाई वाक् सिद्धि मिलेको कुरा हिमवत्खण्डको अध्याय १०१, मूल पृष्ठ २१६ मा उल्लेख गरिनुले पनि सरस्वतीकुण्डको धार्मिक महत्व बढ्न गएको छ । यस कुण्डमा १५ औँ शताब्दीमा निर्मित सरस्वतीको आकर्षक शिला मूर्ति रहेकोमा सन् १९८४ ९विसं २०४१० अक्टोबरमा चोरी भएको कुरा रोयल नेपाल एकेडेमीले २०४६ सालमा प्रकाशित ‘स्टोलन इमेजेज् अफ नेपाल’ पुस्तकमा उल्लेख गरेको छ । मूर्ति चोरीपछि कुण्डमा सरस्वतीको नयाँ शिला मूर्ति स्थापना गरिएको छ ।
चतुर्मुख तिलेश्वर शिवलिङ्ग शिलाबाट निर्मित मन्दिर भित्र रहेको छ । १२ औँ शताब्दीमा निर्मित उक्त शिवलिङ्ग सन् १९८० ९विसं २०३७० मा चोरी भइसकेको कुरा ‘स्टोलन इमेजेज् अफ नेपाल’ मा उल्लेख गरिएको छ । नेपाल संवत् ८७८ ९विसं १८१४० वैशाख ११ गते बिहीबारका दिन वंशमणि आचाज्र्येले तिलेश्वरको नाममा ढुङ्गे देवल निर्माण गरेको कुरा मन्दिरको बायाँ भित्तामा कुँदिएको शिला अभिलेखबाट प्रस्ट हुन्छ ।
अभिलेख चार हरफमा कुँदिएको र केही अक्षर प्रस्ट नबुझिने भइसकेका छन् । यसप्रकार वंशमणि आचाज्र्येले निर्माण गरेको मन्दिर बिग्रेर १८७६ साल वैशाख ११ गते बिहीबारकै दिन हरिनारायण आचाज्र्येले बनाई तिलेश्वर प्रीति गरेको र विसं १९९० को भूकम्पले पानी चुहिने भई संवत् १९९९ साल फागुन १४ गते बिहीबार श्रीहरिका पनाति नारायणमणि आचाज्र्येले जीर्णोद्धार गरेको कुरा मन्दिरको ढोकाको दायाँतिर रहेको शिलालेख (१३ हरफमा कुँदिएको) बाट प्रस्ट हुन्छ ।
मन्दिरबाहिर चारै भित्तामा १२ औँ शताब्दीतिर निर्माण गरिएको उमामहेश्वर, भैरव, विष्णु आदिका प्राचीन मूर्तिहरू देख्न सकिन्छ । मन्दिर प्राङ्गणमा वृहस्पति ऋषि, सरस्वतीलगायत विभिन्न देवदेवीका मूर्ति तथा शिवलिङ्ग स्थापना गरिएको छ । यसै प्राङ्गणमा बेवारिसे अवस्थामा भेटिएको विसं १७७९ जेठ २ गतेको शिलालेख (फोटो पङ्क्तिकारसँग रहेको) अनुसार वसमणि आचार्य र वलभद्र आचार्यले तिलेश्वर मन्दिरमा नित्य पूजा गर्न सात रोपनी खेत राखेको देखिन्छ ।
त्यस्तै यसै मन्दिर प्राङ्गणको पश्चिमतर्फको भित्तामा टाँसेर राखिएको नेपाल संवत् ७८९ ९विसं १७२५० अङ्कित एक शिलालेख रहेको छ । यस अभिलेखमा हरिसिंह देवका वंशजले ललितपुरका राजा श्रीनिवास मल्ल देवको विजयराज्यमा लेले देशको मनसिल थानमा श्री ३ शिवहरिश्वरलिङ्ग स्थापना गरेको कुरा उल्लेख छ । १७ औँ शताब्दीमा निर्मित शिवलिङ्ग सन् १९८० तिरको समयमा चोरी भएको तर पछि बागमती नदी किनारामा फेला परेको भनी ‘हन्तिङ्गटनअचिभ डट ओआरजी’ नामको वेबसाइटमा प्रकाशित विवरण अनुसार यो नै शिवहरिश्वरलिङ्ग रहेको अनुमान गर्न सकिन्छ । यसबाट तिलेश्वर ज्योतिर्लिङ्गसँगै शिवहरिश्वरलिङ्ग पनि रहेको प्रस्ट हुन आउँछ । यसकोे उत्तरतर्फ परापूर्वकालदेखि पशुपतिनाथ भनेर चिनिँदै आएको चतुर्मुखी शिवलिङ्गसहितको गुम्बज शैलीमा निर्मित मन्दिरसमेत रहेको छ । सरस्वतीकुण्ड र तिलेश्वर ज्योतिर्लिङ्ग मनश्री र सरस्वती नदीको सङ्गममा रहेको छ ।
दुई नदीको सङ्गम भएकाले यो तीर्थस्थलका रूपमा रहेको छ । स्वच्छ जलयुक्त सरस्वतीकुण्डको पानी पिएर यहाँ रहेको ज्योतिर्लिङ्गको दर्शन गर्नाले महापापबाट मुक्त हुने, वाक ९बोली० शुद्ध हुने र दिव्यज्ञानसमेत प्राप्त हुने विश्वास गरिन्छ । यही धार्मिक मान्यता एवं विश्वासका कारण माघ महिनाको वसन्तपञ्चमीका दिन तिलेश्वर ज्योतिर्लिङ्गको दर्शन गर्ने, सरस्वतीकुण्डको जलमा स्नान गर्ने, जल पिउने तथा सरस्वतीको पूजापाठ गर्ने धार्मिक उत्सव आजसम्म चल्दै आएको छ । वृहस्पति ऋषिको कण्ठमा सरस्वती बसेको र विरुपाक्षले सरस्वतीकुण्डको जल पिउनाले बोली शुद्ध भएका कारण वसन्तपञ्चमीका दिनदेखि ससाना बालबालिकालाई अक्षरारम्भ गराउने चलनसमेत रहेको छ । यसैका लागि सरस्वतीकुण्डमा दर्शनार्थीको बाक्लो उपस्थिति हुने गर्छ ।
रामेश्वर
लीला, रसाको सङ्गम सिद्ध तीर्थ, श्री गुप्तेश्वर फुलचोकी डाँडाबाट निस्केको प्रभावती र सरस्वतीको सङ्गम प्रभावती तीर्थमा रामेश्वर ज्योतिर्लिङ्ग र यसको दक्षिणतिर टीकाभैरव मन्दिर रहेको छ । यस भैरवलाई उपत्यकाका चार भैरवमध्येको एक संहार भैरवका रूपमा पनि चिन्ने गरिन्छ । हरेक वर्ष बुंग्म लोकेश्वर ९करुणामय० को रथ निर्माण गर्न यिनको पूजा गरी साधना गर्ने चलन छ । रथको दायाँ पछिल्लो पाङ्ग्राका रूपमा टीकाभैरव रहने गरेको छ । २०८१ असोज ११ गते नल्लुखोलामा आएको बाढीले भैरवको मन्दिर सम्पूर्ण रूपमा बगाएर लगेको थियो । विसं १८९० मा पनि उक्त मन्दिर बगाई लगेको इतिहास छ । (पुरातत्व विभाग, प्राचीन नेपाल, २०३०, पृष्ठ ३)
परशुरामको तपस्याबाट रामेश्वर शिवलिङ्ग उत्पत्ति भएको धार्मिक मान्यता छ । यसमा कुनै लिङ्ग नभई ठुलो शिलाका रूपमा रहेको छ । रामेश्वरलाई स्थूलशिला स्वरूप ९ठुलो शिला स्वरूपको रामेश्वर० भनी हिमवत्खण्डमा उल्लेख गरिएको छ । अहिले पनि यो शिला स्वरूपको लिङ्ग टीकाभैरवको मन्दिरपछाडि देख्न सकिन्छ । यसलाई शैव धर्मसँग सम्बद्ध गरी बुझ्न सक्छौँ । हिमवत्खण्ड अध्याय १०१, मूल पृष्ठ २१८ मा चम्पकेश्वरदेखि तीन हजार धनु ९१२ हजार हात अर्थात् डेढ कोस० पश्चिममा रामेश्वर महालिङ्ग रहेको भनी यसरी उल्लेख गरिएको छ, “धनुषां त्रिसहस्रे च विदूरे सांप्रतं व्दिज । रामेश्वरो महालिङ्गो रामतीर्थेन वै समम् ।।५१।। यत्र विराजते नित्यं वहुपुण्यफलप्रदः ।।५२।।” हिमवत्खण्डको यो अध्यायलाई हेर्दा रामेश्वर ज्योतिर्लिङ्गलाई धेरै पुण्यको फल दिने महालिङ्गका रूपमा लिइएको छ । अंशुवर्माको हाँडीगाउँको संवत् ३२ को शिलालेखमा रामेश्वरलाई तीन पुराण, एक पण ९पुराण चाँदीको मुद्रा हुन्छ भने पण तामाको मुद्रा हुन्छ० राजाले आर्थिक सहयोग गरेको उल्लेख छ (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, सं. २०३०, पृष्ठ ३२०) ।
यसरी लिच्छविकालमा रामेश्वर ज्योतिर्लिङ्गको पूजापाठ राज्यकोषको रकमबाट हुने गरेको प्रस्ट छ ।राजा कार्तवीर्यले आफ्ना बाबुलाई मारेका कारण विरक्त अवस्थामा तीर्थयात्रा गर्दै प्रभावती तीरमा पुगेर नुहाई शत्रु नाशको सङ्कल्प मन्त्र जप गर्न थाले । केही महिनापछि माघ महिना कृष्ण चतुर्दशीको रातमा यो शिवलिङ्ग उत्पन्न भएको मानिन्छ । त्यो शिवलिङ्गमा परशुरामले विधिपूर्वक पूजा गरेपछि ब्रह्म मुहूर्तमा भैरव जस्तो डरलाग्दो महादेव प्रकट भई उनै महादेव लिङ्गमा अन्तध्र्यान हुनुभयो । परशुरामले शृङ्गार गरी पूजा गरेका कारण डरलाग्दो भैरव पनि शान्त र सुन्दर हुन गएको धार्मिक कथन छ ।
यही महादेवको दक्षिण मुखलाई टीकाभैरव भन्ने गरिन्छ । स्थानीय बोलीचालीमा यसलाई ‘ट्याङ्गा द्यः’ भन्ने गरिन्छ । चापागाउँ बस्ने बालिचाकी छोरी बालकुमारीसँग टीकाभैरवको माया बसी उनै भैरवले छोरी लगेकाले ज्वाइँका रूपमा वर्षको एकपल्ट वैशाख कृष्णपक्ष चतुर्दशीका दिन टीकाभैरवलाई पूजा गर्ने र जाँडसहितको घ्याम्पोमा भैरवको मुकुण्डो राखी बनाइएको खट स्थानीय व्यक्तिले बोकेर बाजागाजासहित जात्रा गर्ने परम्परा छ । छोरीज्वाइँको सम्झनाका रूपमा पहिलेदेखि चापागाउँमा यिनै भैरवको जात्रा मनाइँदै आएको छ ।
भगवान् श्रीकृष्णका छोरा प्रद्युम्नले बागमतीलाई थुनेर बस्ने कच्छपासुरलाई बध गरी नदी खुलाएको र उनैकी बहिनी प्रभावतीलाई विवाह गरेको कुरा भाषा वंशावलीमा उल्लेख छ । श्रीकृष्णबाट वरदान पाई प्रभावतीले दाजु कच्छपासुरलाई नदी बनेर पवित्र पारेको कथा उक्त वंशावलीमा पढ्न पाइन्छ । द्वापरयुगदेखि सम्बन्ध रहिआएको प्रभावती तीर्थ धार्मिक स्थल हुन् । यसै तीर्थको समीपमा रामेश्वर ज्योतिर्लिङ्ग रहेको छ, जसलाई रामेश्वरधाम भन्ने गरिन्छ । यस ठाउँबाट प्रभावती नदी उत्तर भएर बग्ने गरेकाले यस ठाउँलाई उत्तरवाहिणी पनि भन्ने गरिन्छ । यस नदीमा स्नान गरेर पितृ तर्पण गरेमा पितृ मोक्ष प्राप्त हुने तथा रामेश्वर र टीकाभैरवको पूजा, दर्शन गरेमा पाप नाश हुने र मागेको पूरा हुने विश्वास गरिन्छ ।
चम्पकेश्वर
रामेश्वर र तिलेश्वर, सरस्वतीकुण्डबिचको दुरीमा मूल सडकको किनारामा चम्पकेश्वर ज्योतिर्लिङ्ग रहेको छ । लिङ्ग हल्का उत्तरतिर ढल्केको अवस्थामा छ । मन्दिर सामान्य रूपमा निर्माण गरिएको छ । यहाँ ऐतिहासिक तथा पुरातात्त्विक अवस्था झल्कने कुनै अभिलेख रहेको देखिँदैन । मन्दिरवरिपरि मानिसको बाक्लो बस्ती छ । मन्दिरको दक्षिणतर्फ केही पर पूर्वतर्फको तिलेश्वर हुँदै आएको सरस्वती नदी अविरल बग्ने गरेको छ ।
हिमवत्खण्डमा चम्पकेश्वरको बारेमा उल्लेख गरिएको छ । ‘भूयो गच्छ विरूपाक्ष यत्रासौ चम्पकेश्वर स् । धनुषां व्दिशते दूरे अतो दिशि च वारुणे ।।७२।।’ अर्थात् तिलेश्वरदेखि दुई सय धनु ९आठ सय हात० पश्चिममा चम्पकेश्वर ज्योतिर्लिङ्ग रहेको कुरा हिमवत्खण्ड अध्याय १००, मूल पृष्ठ २१६ मा उल्लेख गरेको छ । मनु नाम गरेको ब्राह्मणले चाँपको पूmल चढाई प्रार्थना गरेका कारण त्यस ठाउँमा चम्पकेश्वर ज्योतिर्लिङ्ग उत्पन्न भएको धार्मिक मान्यता छ । ‘नेमुनिना मुने साध्र्द ययौ यत्र स्थितो हरः । व्दिशते सत्यसौ दूरे धनुषां दिशि पश्चिमे ।।३।। सरस्वत्यां मुदा स्नात्वा चम्पकेशमपूपुजत्।।।।।४।।’ अर्थात् नेमुनिसँग विरुपाक्ष गएको र सरस्वतीकुण्डमा खुसी भईकन नुहाएर चम्पकेश्वरको पूजा गरेको कुरा हिमवत्खण्ड अध्याय १०१, मूल पृष्ठ २१६ मा उल्लेख गरिएको छ ।
हिमवत्खण्डमा सरस्वतीकुण्डसँग जोडेर चम्पकेश्वरको बारेमा पनि चर्चा गरिएको छ । अनध्यायको दिन पढ्नाले पढेजति जम्मै बिर्सन पुगेका एक जना ब्राह्मण प्रारब्धको भोगले गर्दा यस जन्ममा पनि विद्याविहीन भएर रहेका थिए । पछि उनी चम्पकेश्वरनिरको सरस्वतीकुण्डमा गए र त्यहाँको जल पिएपछि पूर्वजन्ममा पढेको सबै विद्या उनले सम्झे भन्ने कथा हिमवत्खण्ड अध्याय १०१, मूल पृष्ठ २१७ मा उल्लेख छ । त्यसरी नै चम्पकेश्वरनिरको सरस्वतीकुण्डको जल छोएपछि एक जना व्याधालाई दिव्यज्ञान र दिव्यदृष्टि मिल्यो भन्ने कथा पनि हिमवत्खण्डको यसै अध्यायमा उल्लेख छ । सरस्वती तीर्थसँगै रहेको चम्पकेश्वर ज्योतिर्लिङ्गको महिमाका बारेमा प्रचारप्रसार नहुँदा ओझेलमा पर्ने गरेको छ ।
अन्त्यमा तिलेश्वर महादेव र शिवदुती योगिनी, चम्पकेश्वर महादेव र वाराही योगिनी तथा रामेश्वर महादेव र कौशिकी योगिनी शिव र शक्ति हुन् । यिनको श्रावणी पर्वमा दर्शन, पूजा गर्नाले कल्याण हुने कुरा हिमवत्खण्डमा उल्लेख छ । हिमवत्खण्डका अनुसार चौसट्ठी लिङ्ग र चौसट्ठी योगिनीको दर्शन विरुपाक्ष र गुरु नेमुनीले गरेका थिए । यिनै नेमुनीले विरुपाक्षलाई तिलेश्वर, चम्पकेश्वर, रामेश्वरलगायत चौसट्ठी लिङ्गको दर्शन गर्न बाटो पहिल्याइदिएका थिए । नेमुनी ऋषिको सल्लाहले कुष्ठरोगी विरुपाक्षलाई मातृगमनको घोर पाप नाश भएको र नेपालमण्डलमा रहेका चौसट्ठी ज्योतिर्लिङ्ग र योगिनी शक्तिको दर्शन, पूजा गर्नाले दिव्यज्ञान प्राप्त भएको कुरा धर्मशास्त्रमा उल्लेख हुनुले यी ज्योतिर्लिङ्गको महिमा अझ बढ्न गएको छ । त्यसैले साउन र माघमा यी शिवलिङ्गको दर्शन र पूजापाठ गर्नाले पाप नाश भई पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।
राजाराम श्रेष्ठ/गोरखापत्र