संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गोरखा क्षेत्र नं. एकबाट संघीय संसदमा निर्वाचित नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाइँविरुद्ध पार्टीको अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन् । संघीय संसदमा बाजुराबाट निर्वाचित पाण्डे नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सहमहामन्त्री जितेका नेता हुन् ।
आफ्नै पार्टीका सांसद बजगाईंविरुद्ध मन्त्री पाण्डेले अनुशासन समिति र संसदीय दलमा आज उजुरी दर्ता गराएका छन् । सांसद बजगाईँले आफूमाथि अमर्यादित, गैरकानूनी र अनर्गल आरोप लगाएकोले उनलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग दाबीसहित पाण्डेले पार्टी अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् ।
पाण्डेले उजुरीमा उल्लेख गरेका छन्, ‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी लगाएका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ ।’
सांसद बजगाईंले रुपन्देहीको टाइगरटप्स होटललाई क्यासिनो इजाजत दिँदा मन्त्री पाण्डेले आर्थिक लेनदेन गरी भ्रष्टाचार गरेको भन्दै अस्ति कात्तिक २७ गते मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए । मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लगाएको भन्दै कानुनी बाटो अख्तियार गर्ने चेतावनी दिएपछि सांसद बजगाईंले ती पोष्ट हटाएका थिए । बजगाईँ आफैं पनि विवादित पात्र हुन् ।