आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सोमबार साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । निर्वाचन आयोगका अनुसार, तीन पार्टीले हिजो आइतबार र छ पार्टीले आज सोमबार समानुपातिकको बन्दसूची बुझाएका हुन्। हिजो नेपाल मजदूर किसान पार्टी (नेमकिपा), नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमोर्चाले बन्दसूची बुझाएका थिए।
नेमकिपा र जनमोर्चाले सबै ११० सीटका लागि उम्मेदवारको सूची बुझाएको थियो। लोकतान्त्रिक पार्टीले भने १२ जनाको नाम बुझाएको थियो।
सोमबार बिहानै जनप्रिय लोकतान्त्रिक पार्टीले १२ जनाको नाम दिएको थियो। त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र गतिशील लोकतान्त्रिक पार्टीले ११ जना उम्मेदवारको नाम बुझाएको हो।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीले १०१ जनाको नाम बुझाएको निर्वाचन आयोगले जनाएको छ। यसैगरी, समावेशी समाजवादी पार्टीले ३१ र समावेशी समाजवादी पार्टी नेपालले १२ जना उम्मेदवारको सूची बुझाएको छ।
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूची बुझाउने म्याद सोमबारसम्म तोकेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्यनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलले आजै समानुपातिक उम्मेदवारको सूची बुझाउँदै छन्।