राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सूचीका लागि निर्वाचित हुनेहरुको नाम र मतपरिणाम सार्वजिक गरेको छ । जसअनुसार समानुपातिकका ६ वटा क्लस्टरहरूमा खस आर्यतर्फ रमेस प्रसाईं आदिवासी जनजातितर्फ उत्तम बहादुर गुरुङ, मधेशी तर्फ पुनम कुमारी अग्रवाल, दलितबाट विजय जैरु, मुस्लिमबाट समिना मिया, थारुबाट प्रेमलाल चौधरी सर्वाधिक मतका साथ पहिलो नम्बरमा परेका छन्।
रास्वपाको प्रारम्भिक मत परिणाममा समानुपातिकबाट गायक रमेश प्रसाईंले १८ हजार २२३ सर्वाधिक मत प्राप्त गरेका छन्। प्रसाईंले खस आर्य तर्फबाट समानुपातिकमा उम्मेद्वारी दिएका थिए। खस आर्यतर्फको महिलामा रञ्जु दर्शना १३ हजार ५५१ मत प्राप्त गरेर पहिलो भएकी छन् ।
आदिवासी जनजाति तर्फबाट समानुपातिकमा उत्तम बहादुर गुरुङ पहिलो नम्बरमा परेका छन्। रास्वपाको प्रारम्भिक निर्वाचनको मतपरिणाममा गुरुङले १६ हजार१२ मत प्राप्त गरेका हुन्। त्यसैगरी मधेशी तर्फबाट पुनम कुमारी अग्रवालले १५ हजार ७४५ मत प्राप्त गरेकी छन्। दलित तर्फबाट विजय जैरुले १३ हजार १४३ मत प्राप्त गरेका छन्।
समिना मियाले मुस्लिम क्लस्टरबाट रास्वपाको प्रारम्भिक निर्वाचनमा १५ हजार ९६७ मत प्राप्त गरेकि छन्। थारु क्लस्टरबाट प्रेमलाल चौधरीले १७ हजार ४२५ मत प्राप्त गरेर पहिलो नम्बरमा रहेका छन्।