Connect with us

राजनीति

संयुक्त सदनमा भोलि शुक्रबार राष्ट्रपतिको सम्बोधन, त्यसै दिन उपसभामुखको पनि चयन

Published

on

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम चैत २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई सम्बोधन गर्ने तय भएको छ । राष्ट्रपतिले सम्बोधन गर्ने तय भएकाले बैठकमा सबै सदस्यको उपस्थितिका लागि आह्वान गरिएको छ,’ राष्ट्रपति कार्यालयको विज्ञप्तिमा छ ।

उपसभामुखको निर्वाचनका लागि आज उम्मेदवारी
उपसभामुखको निर्वाचन भोलि २७ चैतमा हुने भएको छ । प्रतिनिधिसभाको हिजो बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी गराएका हुन् । निर्वाचन कार्यक्रमअनुसार बिहीबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ७ मा सभामुख र उपसभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ । जसअनुसार सभामुख चयन भएसँगै उपसभामुखको निर्वाचन हुन लागेको हो । उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्थाअनुसार सभामुख अर्यालले उपसभामुखको निर्वाचनको मिति तोकेका हुन् ।

सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने संवैधानिक प्रावधान छ । तर, प्रतिनिधिसभामा एउटै दलको मात्रै प्रतिनिधित्व भएको वा एकभन्दा बढी दल भए पनि एकल उम्मेदवारी परेको अवस्थामा सभामुख र उपसभामुख दुवै एउटै दलको पनि हुन सक्दछ ।

प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् । प्रतिनिधिसभामा रास्वपा दुईतिहाइनजिक छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाको मात्रै १८२ सांसद छन् । नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच सांसद छन् ।

संसदीय अंकगणितअनुसार उपसभामुखमा रास्वपाले जुन दलको उम्मेदवारलाई समर्थन गर्छ उसैले जित्ने सम्भावना छ । उपसभामुखमा राप्रपा, श्रम संस्कृति पार्टी र नेकपाले उम्मेदवारी दिने तयारी गरेका छन् । रास्वपाले जसलाई सहयोग गर्‍यो उसैले जित्ने अवस्थाका कारण कांग्रेस र एमालेले उम्मेदवारीप्रति रुचि राखेका छैनन् । एमाले सांसद गुरु बरालले आफ्नो पार्टीले उपसभामुखमा उम्मेदवारी नदिने बताए ।
नयाँ पत्रिका

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.