रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भारत भ्रमणका लागि आज मस्कोबाट प्रस्थान गरेका छन् । उनको यो भ्रमण सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछिको पहिलो भारत यात्रा हो । पुटिनले यसअघि सन् २०२१ डिसेम्बरमा भारतको अन्तिम आधिकारिक भ्रमण गरेका थिए । यस पटकको भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भएको हो । रुसी सञ्चारमाध्यमका अनुसार पुटिनसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक, सांस्कृतिक तथा मानवीय विषयमा सहयोग अभिवृद्धिका लागि विस्तृत छलफल गर्ने छ ।
वर्तमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा पनि मुख्य एजेन्डामा समेटिने छन् । तास समाचार एजेन्सीका अनुसार भ्रमणका क्रममा १० वटा अन्तरसरकारी दस्तावेज र १५ भन्दा बढी द्विपक्षीय सम्झौता तथा दुई देशका व्यापारिक तथा गैर(व्यावसायिक निकायबिचका ज्ञापन पत्र हस्ताक्षरका लागि तयारी अवस्थामा छन् ।
राष्ट्रपति पुटिन आज साँझ २३ औँ भारत(रुस वार्षिक शिखर सम्मेलनमा सहभागी हुन नयाँदिल्ली आइपुग्ने कार्यक्रम छ । प्रधानमन्त्री मोदीले उनको सम्मानमा निजी रात्रि भोजको आयोजना गर्ने तयारी गरेका छन् । डिसेम्बर ५ अर्थात् शुक्रबार राष्ट्रपति पुटिनले राष्ट्रपति भवनमा औपचारिक स्वागत तथा त्रिसेवा गार्ड अफ अनर प्राप्त गर्नेछन् । त्यसपछि उनले राजघाट पुगेर महात्मा गान्धीको स्मारकमा श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।
दुवै देशका नेता हैदराबाद हाउसमा सीमित स्वरूपमा द्विपक्षीय वार्ता गर्दै त्यसपछि आ-आफ्ना प्रतिनिधिमण्डलसहित व्यापक छलफलमा सहभागी हुनेछन् । अपेक्षा गरिएअनुसार व्यापार, अर्थतन्त्र, कृषि तथा शिक्षा क्षेत्रमा सहकार्यका विषयलाई प्राथमिकता दिइने छ । भारतको विदेश मन्त्रालयले पुटिनको भ्रमणले द्विपक्षीय सम्बन्धको प्रगतिमा समग्र समीक्षा गर्ने, ‘विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’सुदृढ पार्ने तथा आपसी हितका क्षेत्रीय/वैश्विक विषयमा विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने जनाएको छ ।
पुटिनको भ्रमणअघि रुसका प्रथम उपप्रधानमन्त्री तथा भारत(रुस अन्तरसरकारी आयोगका सह(अध्यक्ष डेनिस मान्टुरोभले यस यात्रालाई दुई देशबिचको दीर्घकालीन रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउने महत्त्वपूर्ण कदमका रूपमा वर्णन गर्दै उच्चस्तरीय वार्षिक शिखर सम्मेलनको परम्परामा पुनरागमन भएको बताएका थिए ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भ्रमणका क्रममा अतिरिक्त एस(४०० लामो दूरीको एन्टी(एयरक्राफ्ट मिसाइल सिस्टमको बिक्रीसम्बन्धी प्रस्ताव एजेन्डामा हुन सक्ने बताएका छन् । उनी भन्छन्,, “रुसी हतियार भारतीय सेनाको करिब ३६ प्रतिशत हिस्सा छन् र यो सहकार्य अझ विस्तार हुने अपेक्षा गरिएको छ ।” रुसले भारतलाई पाँचौ पुस्ताको अत्याधुनिक स्टिल्थ लडाकू विमान एसयु(५७ प्रदान गर्ने सम्भावनाबारे पनि छलफल गर्ने आशा व्यक्त गरेको छ ।
पेसकोभका शब्दमा, “एसयु(५७ विश्वकै उत्कृष्ट विमान मध्ये एक हो र यसको विषयमा छलफल हुन सक्ने छ ।” पेसकोभले रणनीतिक क्षेत्रको सहकार्यबारे ब्रह्मोस मिसाइल परियोजनालाई उदाहरण दिँदै हतियार उत्पादन मात्र नभई उच्च प्रविधिको आदानप्रदान नै दुई देशबिचको सहकार्यको आधार भएको बताए ।
उनका अनुसार भारत(रुसबिच आणविक उर्जा क्षेत्रमा पनि नयाँ सम्झौता हुन सक्ने छ । दुवै नेताले अन्तिम पटक यस वर्ष सेप्टेम्बर १ मा चीनको तियानजिनमा आयोजित एससिओ शिखर सम्मेलनको साइडलाइनमा भेट गरेका थिए । यस पटकको भ्रमणले सन् २००० मा स्थापना भएको रणनीतिक साझेदारीको २५ औँ वार्षिकोत्सवलाई पनि चिह्नित गर्दछ ।
सन् २०१० मा पुटिनको भारत भ्रमणकै क्रममा यो साझेदारी ‘विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’का रूपमा उकासिएको थियो । हाल दुवै देशले सन् २०३० सम्म द्विपक्षीय व्यापार एक खर्ब डलरसम्म पुर्याउने लक्ष्य राखेका छन् । सन् २०२४/२५ मा भारत(रुस व्यापार ६८ अर्ब ७० करोड डलर पुगेको छ ।
पुटिनसँग रक्षामन्त्री आन्द्रे बेलोसोभसहित उच्चस्तरीय प्रतिनिधिमण्डल आएको छ । प्रतिनिधिमण्डलमा सङ्घीय भन्सार सेवा, रोसफिनमोनिटरिङ, सैन्य–प्राविधिक सहयोग सेवा, रोस्कोसमोस, रोसाटम, भिइबीडटआरएफ लगायतका प्रमुख संस्थानका प्रमुखको उपस्थितिसमेत रहने छ । व्यापारिक समुदायबाट रोजनेफ्ट, सबबैंक, रुसल, भिटिबी बैँक, ट्रान्सम्यासहोल्डिङ तथा अन्य ठुला कम्पनी प्रतिनिधि सहभागी हुने छन् ।
एजेन्सीहरुको सहयोगमा