Connect with us

अन्तर्राष्ट्रिय

मस्को कार बम विस्फोटमा रुसी जनरलको मृत्यु

Published

on

रुसको राजधानी मस्कोमा कार बम विस्फोट हुँदा रुसी सेनाका एक जनरलको मृत्यु भएको छ । रुसी अनुसन्धानकर्ताहरूले यो विस्फोटको सम्बन्ध ‘युक्रेनी स्पेसल फोर्सेस’सँग छ वा छैन भन्ने विषयमा अनुसन्धान गरिरहेका बताएका छन् । मृत्यु भएका सैन्य अधिकारीको नाम लेफ्टिनेन्ट जनरल फेनिल सार्भारोभ रहेको बताइएको छ । उनी रसियन जनरल स्टाफको प्रशिक्षण विभागका प्रमुख थिए ।

सोमबार बिहान भएको विस्फोटभन्दा केही घण्टा अघिमात्र मियामीमा रुसी र युक्रेनी प्रतिनिधिहरूबीच युद्ध अन्त्य गर्ने विषयमा वार्ता भएको थियो । घटना हुँदा सार्भारोभ ‘किआ एसयूभी’ चलाइरहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । बिहानको समयमा उनी एक पार्किङ क्षेत्रबाट निस्किएलगत्तै कारमुनि राखिएको बम विस्फोट भयो । एएफपीका अनुसार बम उनीहरूको कारमुनि नै राखिएको थियो ।

रुसको ‘स्टेट इनभेस्टिगेटिभ कमिटी’ले सम्बन्धित विस्फोटको एक भिडियो जारी गरेको छ, जसमा क्षतिग्रस्त कार देखिएको छ । ड्राइभर सिटमा रगत देखिन्छ र कारको एक ढोका उछिट्टिएरको छ । एएफपीले घटनास्थलमा पुगेका आफ्ना पत्रकारहरूलाई उद्धृत गर्दै विस्फोटको कारण कारको फ्रेम मोडिएको बताएको छ ।

अनुसन्धान समितिकी एक प्रवक्ताले भनिन्, “हत्या सम्बन्धी विभिन्न विवरणहरूको अनुसन्धान भइरहेको छ । यसमध्ये एक पक्ष अपराधको आयोजना गर्न युक्रेनी गुप्तचर सेवाहरूको सम्भावित भूमिका पनि हो ।” युक्रेनले अहिलेसम्म यसबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन ।

रोयटर्सका अनुसार, करिब चार वर्षदेखि जारी युद्धका क्रममा युक्रेन युद्धसँग सम्बन्धित धेरै रुसी सैन्य व्यक्तित्वहरू तथा उच्च–प्रोफाइल समर्थकहरूको हत्या भइसकेको छ । एएफपीले यो पछिल्लो आक्रमण विगतमा भएका सैन्य अधिकारीहरू र युद्ध समर्थक व्यक्तिहरूको हत्यासँग मिल्दोजुल्दो भएको बताएको छ ।

विस्फोट आवासीय क्षेत्रमा भएको थियो । यहाँका एक बासिन्दाले एएफपीलाई भने, “हामीले यसको कुनै अपेक्षा नै गरेका थिएनौँ । हामी सुरक्षित छौँ भन्ने सोचेका थियौँ, तर अचानक हाम्रै नजिकै यस्तो घटना भयो ।”

अर्की एक बासिन्दाले भनिन्, “यो युद्धको मूल्य हो ।”
डीडब्ल्यू/बाहखरी

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.