इसराइलले लेबननमा अहिलेसम्मकै भीषण हमला गरेको छ। गएराति लेबननको राजधानी बेरूतमा पूर्वचेतावनीबेगर नै इसराइलले भीषण हमला गरेको हो।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आक्रमणमा २५० जना भन्दा बढीको मृत्यु भएको र ११ सयभन्दा बढी घाइते भएको समाचार लेखेको छ। हिजबुल्लाहले गएरातिको आक्रमण फेब्रुअरीमा युद्ध सुरू भएयताकै सबैभन्दा घातक दिन भनेको छ।
अमेरिकी समाचार संस्था एशोसिएट प्रेसले पनि घटनामा कम्तिमा १८२ जनाको मृत्यु भएको उल्लेख गरेको छ। लेबननमा यो हमला अमेरिका र इरानबीच युद्धविराम भएको केही घन्टामै भएको हो। दक्षिणी लेबनन, बेरूत र बेका भ्यालीमा १० मिनेटभित्रै १०० वटाभन्दा बढी ठाउँमा आक्रमण भएको थियो।
राजधानीका विभिन्न भागबाट कालो धुवाँ आकाशतर्फ उडिँरहेको देखिएको थियो भने एम्बुलेन्सहरू आक्रमण भएठाउँमा दौडिँदै गरेको दृश्यरहरू देखिएको भनेर एपीले उद्धृत गरेको छ। प्रत्यक्षदर्शी र पत्रकाहरूहरूले केन्द्रीय कोर्निच अल माजरा क्षेत्रमा सवारीसाधन र सडकमा जलेका शवहरू देखिएको बताएका छन्। उद्धारकर्मीहरूले भग्नावशेष हटाउँदै जीवितको खोजी गरेका छन्।
इसराइलले युद्धविराममा हिजबुल्लाह नसमेटिने बताउँदै आएको छ। यद्यपि बुधबार बिहान भएको युद्धविराममा लेबनन लगायत सबै पक्ष समेटिने भनेर मध्यस्थता गरिरहेको पाकिस्तानले बताएको थियो। इसराइलले इरानमा ट्रम्पले गरेको युद्धविरामलाई समर्थन गरे पनि लेबनन त्यसमा नपर्ने बताएको थियो। इरानको युद्धविराम प्रस्तावका १० बुँदामा इरान समर्थित समूह देशमा पनि युद्धविराम हुने प्रस्ताव उल्लेख छ।
इरानको यस प्रस्तावमा ट्रम्पले ती सर्तहरू छलफलयोग्य भएकाले युद्धविराममा सहमत भएको बताएका थिए। तर, हिजो बुधबार नै पिबिएस न्यूजआवरसँगको कुराकानीमा भने ट्रम्पले लेबनन सम्झौतामा नपरेको बताए थिए ।
इसराइलले लेबननमा भीषण हमला गरेपछि इरानले फेरि हर्मुज जलघाँटीमा पुनः आवागमन बन्द गर्ने घोषणा गरेको एपीले लेखेको छ।
एजेन्सीहरु