थाइल्यान्डका प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले आज निलम्बन गरेको छ। अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको अभिव्यक्तिलाई लिएर छानबिन सुरु गर्दै निलम्बन गरेको हो। गाइ संसदका ३६ जना सिनेटरहरूले पेटोङटार्नलाई निलम्बनको माग गर्दै निवेदन दिएपछि त्यसको सुनुवाइ गर्दै संवैधानिक अदालतले पदबाट निलम्बनको आदेश गरेको हो।
३८ वर्षीया पेटोङटार्न झण्डै एक वर्ष अघि प्रधामन्त्री निर्वाचित भएकी थिइन । उनका बुवा थाक्सिन सिनावात्रा पनि थाइल्याण्डका पूर्वप्रधानमन्त्री हुन् । तर, उनलाई पनि शाही मानहानीको आरोपमा बर्खास्ती गरेर मुद्दा चलाइएको थियो । कम्बोडियासँग थाइल्याण्डको सीमा विवाद छ । त्यही विवादका क्रममा प्रधानमन्त्री पेटोङटार्नले मन्त्रिपरिषद्को नैतिकता उल्लङ्घन गरेको आरोपमा निलम्बन गरिएको हो ।
कम्बोडियासँग लामो समयदेखि चलिरहेको विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो। पेटोङटार्नको खुलासा भएको रेकर्डिङ अनुसार उनले कम्बोडियाका पूर्वनेता हुन सेनलाई तनावबारे छलफल गर्न फोन गरेकी थिइन । जहाँ उनले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरिन् र एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरिन्। त्यही फोनवार्ताले उनलाई निलम्बनको अवस्थामा पुर्याएको छ ।
थाइ संसदका रूढीवादी सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाएका छन् सा साथै ‘स्पष्ट इमानदारी’ र ‘नैतिक मापदण्डहरू’ आवश्यक पर्ने संवैधानिक प्रावधानहरू उल्लङ्घन गरेको आरोप समेत लगाइएको छ ।
‘संवैधानिक अदालतले ७–२ को बहुमतले प्रतिवादीलाई जुलाई १ देखि संवैधानिक अदालतले आफ्नो निर्णय नगरेसम्म प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गर्छ’, एक विज्ञप्तिमा उल्लेख छ ।