Connect with us

अर्थ

तातोपानी नाकाको रौनक फेरि फर्कदै

Published

on

नेपाल र चीन जोड्ने रसुवागढी नाकाको संरचना बाढीले ध्वस्त भएपछि त्यसको विकल्प फेरि सिन्धुपाल्चोकको तातोपानी नाका बन्ने भएको छ । तथापि तातोपानी नाकाको पूर्वाधार पनि सद्दे छैन । २०७२ को भूकम्पले जर्जर बनेको पूर्वाधार तयार पारेर २०८० भदौदेखि पुनः सञ्चालनमा आएको नाका जोड्ने सडक सामान्य पानी पर्दा पनि बिग्रने गरेको छ ।

हिजो २४ असार मङ्गलबार आएको ल्हेन्देखोलाको बाढीका कारण रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल भत्काएपछि आयात/निर्यात ठप्प भएको छ । बाढीका कारण रसुवा नाका बन्द हुँदा यसको विकल्पका रूपमा तातोपानी नाकालाई हेर्न थालिएको छ ।

यसअघि तातोपानी नाकाकै विकल्प रसुवागढीलाई मानिएको थियो र त्यहाँ पूर्वाधार निर्माणको काम भइरहेको थियो । पूर्वाधार निर्माण पूरा नहुँदै बाढीले ठुलो क्षति पुर्याएको छ । भन्सार कार्यालयमा समेत ठुलो क्षति पुग्दा आयातनिर्यात ठप्प भएको बताइएको छ ।

चीनबाट आएका ४० देखि ४५ कन्टेनर सामानमा क्षति भएको राष्ट्रिय व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले १५ वटा कन्टेनर बगाएको र बाँकी डुबेको जानकारी दिए । उनले बाढीका कारण तिजलक्षित ल्याइएका सामान ठुलो परिमाणमा नष्ट भएको जानकारी दिए ।

विशेष गरी लत्ताकपडा, रेडिमेड, जुत्ताचप्पल, हाइड्रोपावरका सामान, विद्युतीय गाडी नष्ट भएको बताए । केरुङमा रहेका दुईदेखि तीन सय कन्टेनर सामान सुरक्षित रहेकाले जति सक्दो तातोपानी नाकामार्फत फर्काउन उहाँले चीन सरकारलाई आग्रह गरे ।

केरुङमा आएका सामान फर्काएर तातोपानी नाकाबाट तीनरचार दिन लगाएर ल्याउन नेपाल सकिने सुनाए । तातोपानी भन्सार कार्यालयका प्रमुख राजेन्द्र चुडालका अनुसार अहिले पनि चीनतर्फको २० मिटर सडक भत्किएर अवरुद्ध छ । तथापि ठुलो क्षति नभएका कारण रसुवागढीको विकल्प तातोपानी बन्ने सम्भावना छ ।

भन्सार अधिकृत चुडालका अनुसार आयातकर्ताले भन्सार विभागमा निवेदन दिएर नाका परिवर्तन गर्न सक्छन् । त्यस्ता आयातकर्ता थोरै रहेका र उनीहरूको सामग्री र लगानी सबै रसुवागढीमा क्षति भएको खण्डमा आयातनिर्यात व्यापारमा समस्या पर्न सक्छ ।

सुक्खा बन्दरगाहमा ठुलो क्षति

बाढीका कारण रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहमा ठुलो क्षति पुगेको छ । बाढीले बन्दरगाहको ६० प्रतिशत क्षति भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले निर्माणाधीन बन्दरगाहको भौतिक पूर्वाधारसहित कामदारको पनि क्षति भएको जानकारी दिए ।

यो बन्दरगाहको निर्माण सम्पन्न हुन १९ प्रतिशत मात्रै बाँकी रहेको अवस्थामा बाढीले सम्पूर्ण भौतिक पूर्वाधारमा क्षति पु¥याउँदै बगाएको छ । बाढीले बन्दरगाहको रिटेनिङ वालतर्फ चार सय मिटर बाढीले बगाएको छ भने बेचिङ प्लान्ट सबै बगेको छ ।

लिटिगेसन सेड, वेयरहाउस, इन्सपेक्सन सेड, ट्वाइलेट ब्लक, वेयरहाउसको फाउन्डेसन, इन्ट्री रोडतर्फको रिटेनिङ वाल, पार्किङ यार्ड फेसिलिटीलगायत सम्पूर्ण रूपमा क्षतिग्रस्त भएको समितिले जनाएको छ ।

रसुवा भन्सार कार्यालयका अनुसार चालु आवको ११ महिनामा रसुवा नाकाबाट ७४ अर्ब २० करोड रुपियाँ बराबरको सामान आयात भएको र तीन अर्ब सात करोड रुपियाँको सामान निर्यात भएको छ । ११ महिनामा ३० अर्ब पाँच करोड रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । नेपाल र चीनसँगको व्यापार १३ प्रतिशत रहेको छ ।

रसुवा नाकाबाट चाउचाउ, हस्तकलाका सामान, तयारी कपडा, नेपाली कागज, मूर्ति निर्यात हुने गरेका छन् । लत्ताकपडा, विद्युतीय सामान, हाइड्रोपावरका सामान आयात हुने गरेको छ ।
लक्ष्मी सापकोटा/ गोरखापत्र

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.