छिमेकी भारतको रोयल च्यालेन्जर्स बैंगलोरको विजयी परेडका क्रममा चिन्नास्वामी स्टेडियम नजिकै भागदौड मच्चिएको छ। उक्त भागदौड दुर्घटनामा परिणत हुदाँ ११ जनाको मृत्यु भएको भारतस्थित एनडिटिभीले जनाएको छ । उसका अनुसार ५० भन्दा बढी गम्भीर घाइते भएका छन् । यो दुर्घटना बेंगलुरुको चिन्नास्वामी स्टेडियमको मुख्य गेट नजिक भएको हो।
हजारौँ मानिसको उपस्थितिबीच भीड एक्कासी भागदौडमा परिणत भएको बताइएको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक छ । रोयल च्यालेन्जर्स बैंगलोरका हजारौँ फ्यानहरू एकाएक स्टेडियममा प्रवेश गर्न खोज्दा भागदौड मच्चिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमा उपस्थित प्रहरीले घाइतेहरूलाई एम्बुलेन्समा नजिकैका विभिन्न अस्पतालमा पुर्याएको थियो ।
भागदौडका कारण धेरै आरसीबी फ्यान स्टेडियम बाहिर बेहोस भएका थिए । सबै घाइतेहरूलाई अस्पताल पुर्याउन कैयौं एम्बुलेन्स खटाइएको थियो । घटनास्थलमा उपस्थित मानिसहरूले पनि एक अर्कालाई सहयोग गरेका थिए भने कतिपयले घाइतेलाई सीपीआर दिएको पनि देखियो ।
कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाका राजनीतिक सचिव नासिर अहमदका अनुसार भीड अचानक नियन्त्रण बाहिर गएपछि स्थिति सम्हाल्न गार्हो भएको थियो । ‘परिस्थितिलाई सम्हाल्ने प्रयास गरिरहेका छौं, तैनाथ सुरक्षाकर्मीको संख्या बढाइएको छ । उत्सव व्यवस्था गर्न समय नपाउँदा यो दुर्घटना हुन पुगेको छ,’ सञ्चार मध्यमहरुले उनको भनाइ उदृत गरेका छन् ।
कर्नाटक राज्य क्रिकेट संघले रोयल च्यालेन्जर्स बैंगलोरलाई आइपीएल २०२५ मा ऐतिहासिक जित हासिल गरेपछि एक अभिनन्दन समारोह आयोजना गरेको थियो, जसमा हजारौँ रोयल च्यालेन्जर्स बैंगलोर प्रशंसकहरू सहभागी भएका थिए।