Connect with us

अर्थ

बढ्यो अर्थतन्त्रको आकार, कुल गार्हस्थ उत्पादनको ९३.४५ प्रतिशत खर्च उपभोगमा

Published

on

राष्ट्रिय लेखा तथ्यांक

प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५१७ डलर, खर्चयोग्य आय १ हजार ९४० डलर

मुलुकको अर्थतन्त्र बढोत्तरी हुँदै गएको राष्ट्रिय तथ्यांक कार्यालयको जनाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले हिजो जारी गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार अर्थतन्त्र सुधार हुँदैछ । तथापि केही क्षेत्रमा चुनौती कायमै छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता ढुण्डिराज लामिछानेद्धारा जारी तथ्यांक अनुसार अर्थतन्त्रको गति सुधारतर्फको बाटोमा देखिएको छ । कोभिड महामारीपछि पहिलो पटक यस्तो सुधार देखिएको हो ।

राष्ट्रिय लेखा तथ्यांकअनुसार मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी( ६१ खर्ब ७ अर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । यो गत वर्ष ५७ खर्ब ९ अर्ब रुपियाँ रहेको थियो । यस आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । अघिल्लो वर्ष यो १ हजार ४६७ डलर रहेको थियो । प्रतिव्यक्ति खर्च योग्य आय पनि बढेर १ हजार ९४० डलरमा पुग्ने अनुमान छ । तथापि मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

जो चालू आर्थिक वर्षका लागि सरकारले तय गरेको आर्थिक वृद्धिदरको लक्ष्यभन्दा कम हो । चालू आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको छ। कार्यालयका अनुसार उपभोक्ता मूल्यमा ४.६१ प्रतिशतको वृद्धिदर भएको छ । आधारभूत मूल्यमा भने ३.९९ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

राष्ट्रिय लेखा अनुसार रोचक के भने जीडीपीको ९३.४५ प्रतिशत उपभोग खर्चमै जानेछ । यसमध्ये ९० प्रतिशत निजी, ८ प्रतिशत सरकारी र २ प्रतिशत गैरनाफामूलक संस्थाका तर्फबाट खर्च हुने गरेको छ । निजी उपभोग खर्चमा ४९ प्रतिशत खाद्यान्न, ३३ प्रतिशत सेवा र १८ प्रतिशत अन्य वस्तु उपभोग हुने अनुमान छ ।

चालू आवमा जीडीपीको २५.८९ प्रतिशत रेमिट्यान्स प्राप्त हुने अनुमान छ, जुन अघिल्लो वर्षको २५.३२ प्रतिशतभन्दा माथि हो । चालू आर्थिक वर्ष २०८१/८२ को प्रारम्भिक अनुमानअनुसार, नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी( मा सबैभन्दा ठूलो योगदान कृषि, वन तथा मत्स्य क्षेत्रले दिएको छ । जीडीपीमा यस क्षेत्रको योगदान २५.१६ प्रतिशत रहेको छ भने वार्षिक वृद्धिदर ३.२८ प्रतिशत रहने अनुमान छ ।

धान, तेलहन, दलहन, तरकारी र पशुपन्छीजन्य उत्पादनमा वृद्धि भएकोले कृषि क्षेत्रमा केही सुधार देखिएको भए पनि फलफूल तथा हिउँदे बालीमा खासै वृद्धि नहुनुले समग्र वृद्धिमा ठूलो उछाल नआएको बताइएको छ।

त्यस्तै, खानी तथा उत्खनन् क्षेत्रले ०.४६ प्रतिशत योगदान दिँदै अघिल्लो वर्षको तुलनामा १.९९ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । खानी क्षेत्रको रोयल्टी संकलनमा सुधार देखिएको छ भने निर्माण क्षेत्रमा पुनः सक्रियता देखिन थालेको छ ।

दुई वर्ष निरन्तर ऋणात्मक वृद्धिदर भोगेको उद्योग क्षेत्रले यस वर्ष ४.९८ प्रतिशत योगदान दिंदै ३.७८ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ। वनस्पति तेल, प्लाइउड, प्लास्टिक पाइप, सिमेन्ट र साबुनको उत्पादनमा उल्लेखनीय वृद्धि भएकाले उद्योग क्षेत्रमा सुधार आएको देखिएको हो।

विद्युत तथा ग्यास क्षेत्रले यस वर्ष उल्लेखनीय १३.८२ प्रतिशत वृद्धिदर प्राप्त गर्ने अनुमान गरिएको छ । कुल जीडीपीमा यसको योगदान १.७३ प्रतिशत रहेको छ। जलविद्युत उत्पादनको क्षमता तथा उपभोगमा विस्तारले यो सम्भव भएको हो ।पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा पुनः उत्पादन क्षेत्रमा सामान्य सुधार देखिएको छ। यस क्षेत्रको योगदान ०.४२ प्रतिशत रहे पनि वृद्धिदर २.०९ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

ऋणात्मक वृद्धिदर भोग्दै आएको निर्माण क्षेत्र पनि सुधारतर्फ उन्मुख भएको छ। यस क्षेत्रको योगदान ५.२४ प्रतिशत छ भने वृद्धिदर २.२१ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान छ। निर्माण सामग्रीको आयात तथा निर्माणजन्य वस्तु उत्पादनमा बढोत्तरीले यसको भूमिका बढेको देखिन्छ।

थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत क्षेत्रमा पनि सुधार छ । यस क्षेत्रको योगदान १४.५५ प्रतिशत रहेको छ भने वृद्धिदर ३.३० प्रतिशत अनुमान गरिएको छ। अघिल्ला वर्षहरूमा यो क्षेत्र ऋणात्मक वृद्धिदरमा रहेको थियो।

यातायात तथा भण्डारण क्षेत्रमा सवारी साधन आयात र पर्यटकको आगमनमा वृद्धि भएसँगै ९.४५ प्रतिशतको उल्लेखनीय वृद्धिदर हासिल हुने अनुमान गरिएको छ । आवास तथा भोजन सेवा, सूचना तथा सञ्चार, वित्तीय तथा बीमा, घरजग्गा कारोबार, पेशागत सेवा, प्रशासनिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य, र अन्य सेवाका क्षेत्रहरूमा पनि आंशिक सुधार देखिएको छ। विशेषगरी सूचना तथा सञ्चार क्षेत्रमा ४.८१ प्रतिशत र वित्तीय तथा बीमा क्षेत्रमा ६.२९ प्रतिशतको वृद्धिदर रहने अनुमान छ ।

– प्रति व्यक्ति कुल राष्ट्रिय आयः १ हजार ५१७ अमेरिकी डलर

– उपभोग खर्चः जीडीपीको ९३.४५ प्रतिशत

– कुल राष्ट्रिय बचतः जीडीपीको ३६.२४ प्रतिशत

– कुल स्थायी पूँजी निर्माणः जीडीपीको २४.०७ प्रतिशत

– रेमिट्यान्सको योगदानः जीडीपीको २५.८९ प्रतिशत

– जीडीपीको आकारः ६१ खर्ब ७ अर्ब

– आर्थिक वृद्धि दरः आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ताको मूल्यमा ४.६१ प्रतिशत

– कृषि क्षेत्रको योगदानः जीडीपीमा २५.१६ प्रतिशत, वृद्धि दर ३.२८ प्रतिशत

– गैर–कृषि क्षेत्रको वृद्धिः ४.२८ प्रतिशत

– सेवा क्षेत्रको योगदानः ६२ प्रतिशत, ४.२१ प्रतिशत वृद्धि दर

– द्वितीय क्षेत्र (उद्योग÷निर्माण)ः १२.४ प्रतिशत, ४.६५ प्रतिशत वृद्धिदर

– विद्युत तथा ग्यासः १३.८२ प्रतिशत वृद्धिदर, योगदान १.७३ प्रतिशत

– यातायात तथा भण्डारणः ९.४५ प्रतिशत वृद्धिदर, ७.२० प्रतिशत योगदान

– थोक तथा खुद्रा व्यापारः १४.५५ प्रतिशत योगदान, वृद्धिदर ३.३० प्रतिशत

– वित्तीय तथा बीमा क्षेत्रः ६.६५ प्रतिशत योगदान, वृद्धिदर ६.२९ प्रतिशत

– घरेलु तथा आवास सेवाः ८.२९ प्रतिशत योगदान, वृद्धिदर २.७२ प्रतिशत

– उद्योग क्षेत्रः ४।९८ प्रतिशत योगदान, ३.७८ प्रतिशत

– निर्माण क्षेत्रः ५.२४ प्रतिशत योगदान, वृद्धिदर २.२१ प्रतिशत

– खानी तथा उत्खनन्ः ०.४६ प्रतिशत योगदान, वृद्धिदर १.९९ प्रतिशत

– पानी आपूर्ति÷फोहोर व्यवस्थापनः ०.४२ प्रतिशत योगदान, वृद्धिदर २.०९ प्रतिशत

– स्वास्थ्य तथा सामाजिक सेवाः १.९१ प्रतिशत योगदान, वृद्धिदर ४.७७ प्रतिशत

– शिक्षा क्षेत्रः ७.८७ प्रतिशत योगदान, वृद्धिदर १.९८ प्रतिशत

– सूचना तथा सञ्चारः १.९४ प्रतिशत योगदान, वृद्धिदर ४.८१ प्रतिशत

– आवास तथा भोजन सेवाः २.४६ प्रतिशत योगदान, वृद्धिदर ५ प्रतिशत

– प्रशासनिक तथा सहायक सेवाः ०.७२ प्रतिशत योगदानस वृद्धिदर ३.९७ प्रतिशत

– पेशागत÷वैज्ञानिक सेवाः ०.९७ प्रतिशत योगदान वृद्धिदर ३.९८ प्रतिशत

– सार्वजनिक प्रशासन तथा रक्षाः ८.७२ प्रतिशत योगदान, वृद्धिदर २.२४ प्रतिशत

– अन्य सेवा क्रियाकलापः ०.७१ प्रतिशत योगदान, वृद्धिदर ३.९२ प्रतिशत

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.